शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

किसान, स्याल र भेडाहरू

शनिबार, ३० असार २०८०, १० : ५९
शनिबार, ३० असार २०८०

यो असार १५
मनसुन हराए पनि
किसानहरू शरीर निचोरेर
पसिनाले माटो सिँचाइ गरिरहेछन्
र, भरोसाको बीज रोपेर
आशाको सपना बुनिरहेछन् ।

यता स्याल–हुइयाँहरू भने
सिमसिम पानीमा
जन्ती लिएर बरियात हिँडिरहेछन् ।
र, सँगै–सँगै
मानवाकृति जस्तै लाग्ने
किसान हुलियाजस्तै देखिने
केही थान भेडाहरू पनि
¥याल चुहाउँदै
हात–हातमा फूलको माला बोकेर
आश्वासनका भोज खान हिँडेका छन् ।

यो असार १५
मुठी रोपेर मानो फलाउने सङ्कल्प बोकेर
किसानहरू गरा–गरामा कोदाली चलाइरहेछन्
हलो जोतिरहेछन्
र, असारे गाउँदै छुपु–छुपु धान रोपिरहेछन् ।
यता स्याल–हुइयाँहरू
तारे होटलमा बसेर
दही–चिउरा चपाइरहेछन् ।

सँगै फूलमाला बोकेर 
गएका बिचरा भेडा बथानहरू
टुलु–टुलु हेर्दै,
घुटु–घुटु थुक निलिरहेछन् ।
यो असार १५
किसानलाई खेत–खेतमा 
सिँचाई गर्न पानी चाहिएको छ
बीउ र मल चाहिएको छ
र, उनीहरूलाई एउटै चिन्ता छ

पसिनाले मात्र कसरी जीवन फल्छ ?
यता स्याल–हुइयाँहरू
अभाव सिर्जना गरेर
कालोबजारी गरिरहेछन्
र, कालोबजारीको झूट पखाल्न
अहिले स्यालहरू गाउँ छिरेका छन्
अनि, गमलामा धान रोपेर
फेरि पनि भ्रमका आश्वासन बाँडिरहेछन् ।
सँगै सम्मुखमा बसेका
उही बिचरा भेडाहरू
आश्वासनका रसास्वादनमा 
ताली पड्काइरहेछन् ।

दाङदेउखुरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

छविलाल कोपिला
छविलाल कोपिला
लेखकबाट थप