आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
भेपमा सुन

सुन तस्करसँग पूर्वसभामुख महरा बाउछोराको कनेक्सन

राहुल महराले चाहेका थिए लिलामी सकार्न
शनिबार, ३० असार २०८०, १८ : १०
शनिबार, ३० असार २०८०

काठमाडौँ । भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको समेत कनेक्सन देखिएको छ । सुन तस्कर चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा राहुलको बारम्बार सम्पर्क रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध देखिएको र  जफत भएको भेप लिलामीमा राहुलले चासो देखाएको समेत पाइएको छ ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र ठूलो मात्रामा सुन लुकाएर ल्याएका थिए । व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भनी ‘भेप’ जफत गरियो । पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए । दिनेशले नासु रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए । तत्काल खुल्न आए अनुसार सो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको थियो ।

नेता महराका छोरा राहुलले विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतलाई सम्पर्क गरी लिलामीको प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै लिलामको प्रक्रियाबारे बुझेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई राहुलले मोबाइलमा फोन गरी लिलामी प्रक्रियाबारे चासो राखेका थिए । रातोपाटीलाई प्राप्त श्रेष्ठको बयानमा भनिएको छ :

‘...मिति २०७९।०९।१० गते बिहान ०७ः१० बजेदेखि अपराह्न १२ः०० बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको यात्रु शाखाको प्रमुखको हैसियतमा ड्युटीमा खटिएको थिएँ । उक्त मितिमा चिनियाँ यात्रु ली हानसोङले लिई आएको लगेजमा ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेट (भेप) रहेको भनी मलाई ड्युटीमा खटिएका नासु सुवर्णाप्रभा केसीले जानकारी गराएकी हुन् । अर्थ मन्त्रालयको मिति २०७७।०२।१५ को सूचनाको दफा ७ बमोजिम व्यापारिक प्रयोजनका लागि ल्याएका मालवस्तु यात्रु शाखाबाट जाँचपास गर्न नमिल्ने हुँदा जफत गर्नुपर्ने व्यवस्था रहेको र निज चिनियाँ यात्रुले एकै किसिमको मालवस्तु ठूलो परिमाणमा ल्याएको सम्बन्धमा तत्काल हेर्दा व्यापारिक प्रयोजनका लागि ल्याएको देखिएकाले जफतको निर्णय गरी रजिस्टरमा व्यहोरा चढाई एक प्रति जफतको निस्सा सम्बन्धित यात्रुलाई दिई उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत गरिएको हो । उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत गर्ने क्रममा निज यात्रुको सुटकेस खोली परिमाण यकिन गर्ने कामसम्म भएको हो, सोबाहेक उक्त इलेक्ट्रिक सिगरेट (भेप) खोली, फुटाई अन्य परीक्षण गर्ने काम भएन । यसरी थप परीक्षण नगरिएकाले उक्त इलेक्ट्रिक सिगरेट (भेप) भित्र केही अवैध मालवस्तु थियो, थिएन तत्काल थाहा हुन सकेन । मिति २०७९।०९।१० गतेदेखि मिति २०७९।१०।२९ गतेसम्म उक्त जफत गरिएको इलेक्ट्रिक सिगरेट (भेप) प्रमुख भन्सार अधिकृतको कार्यकक्षअगाडि राखिएको थियो । यसरी उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत गरी प्रमुख भन्सार अधिकृतको कार्यकक्षअगाडि राखेको २–३ दिनपछि भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेले यात्रु शाखामा आई मलाई भेटी उक्त मालवस्तु तोकिएको राजस्व बुझी जाँचपास गरिदिनुपर्‍यो भनी अनुरोध गरेका थिए, निजलाई मैले जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ । सोको भोलिपल्ट आफूलाई श्याम सुन्दर साह भनी चिनाउने व्यक्ति समेत यात्रुशाखामा आई मलाई भेटी उक्त इलेक्ट्रिक सिगरेट (भेप) जलविद्युत् आयोजनामा काम गर्ने चिनियाँ कामदारको उपभोगको लागि ल्याएको हुँदा राजस्व दाखिला गरी जाँचपास गरिदिनुपर्‍यो भनी अनुरोध गरेकामा मैले निजलाई समेत जफत भएको मालवस्तु जाँचपास हुन सक्दैन भनी पठाएको थिएँ । तत्पश्चात् निज यात्रु शाखाबाट बाहिर निस्की गएकोमा केही समयपश्चात् ९८५१००८xxx नम्बरबाट मेरो मोबाइलमा समेत फोन गरी सोही कुरा दोहोर्‍याएकोमा मैले निजलाई जफत भएको मालवस्तु जाँचपास नहुने भनेको थिएँ । सोही विषयमा आफूलाई राहुल महरा भनी चिनाउने व्यक्तिले ९८५११११xxx नम्बरबाट मेरो ९८५७०३५xxx नम्बरको मोबाइलमा फोन गरी जफत भएको उक्त इलेक्ट्रिक सिगरेट (भेप) को लिलामी प्रक्रिया के हो ? कसरी हुन्छ भनी सोधपुछ गरेकोमा मैले निजलाई जफत भएको मालवस्तु मुद्दा तथा लिलामी शाखामा पठाइने र नियमानुसार लिलाम हुने वस्तु भए बोलकबोल सूचना प्रकाशित भई लिलाम गरिन्छ, लिलाम नगरी नष्ट गर्ने चिजवस्तु भए नियमानुसार नष्ट गर्ने गरिन्छ, सो सम्बन्धमा सम्बन्धित शाखामै बुझ्दा उचित हुन्छ भनी जानकारी गराएको थिएँ ।’

यसरी चिनियाँ नागरिक ली हानसोङले भेप भनी तस्करी गरी ल्याएको सुन छुटाउन नेता महराका छोरा राहुलले चासो दिएकामा प्रहरीले उनीहरूको ‘कनेक्सन’ खोजेको छ । सिआइबीको अनुसन्धानमा नेता महरा र उनका छोरा राहुलको चिनियाँ सुन तस्करसँग सम्पर्क रहेको देखिएको छ । 

काठमाडौं जिल्ला अदालतमा पेस भएको गोप्य मिसिलमा सुन ल्याउने तस्करको समूहसँग महरा र राहुलको बारम्बार सम्पर्क भएको कल डिटेल्स रिपोर्ट (सिडिआर) पेस गरिएको छ । तस्करीको सुन ल्याउने समूहमा रहेका लुई नाम गरेका एक चिनियाँ नागरिक रहेको र उनीसँग महराको बारम्बार प्रत्यक्ष सम्पर्क भएको पाइएको छ । लुईले तस्करीका लागि दाओजिन वाङ भन्ने व्यक्तिलाई परिचालन गर्ने गरेको र वाङले नेता महरा तथा उनका छोरा राहुललाई बारम्बार सम्पर्क गर्ने गरेको देखिएको छ । राहुलले लुईका सवारी चालक लोकेन्द्र पौडेल, तस्कर वाङ र अशिन नाम गरेका व्यक्तिसँग बारम्बार कुरा गरेको पाइएको छ । 

सुन तस्कर दाओजिन वाङले लुई, लुईका चालक लोकेन्द्र पौडेल, श्याम साह र भन्सार एजेण्ट खुवा प्रसाद न्यौपाने लगायतलाई समेत बारम्बार सम्पर्क गरेको भेटिएको पाइएको छ । 

सुन तस्करहरूसँग महरा बाबुछोराको प्रत्यक्ष सम्पर्क देखिए पनि सुन तस्करीमा उनीहरूको संलग्नता छ कि छैन भनी प्रहरीले त्यति खोजबिन गरेको देखिँदैन । राहुल आफैँले भन्सार अधिकृतलाई सम्पर्क गरी लिलाम प्रक्रियाबारे चासो राखेका छन्, तर उनी सुन तस्करीमै संलग्न हुन् कि होइनन् भनी प्रहरीले खोजबिन गरेको छैन । प्रहरीले यस प्रकरणमा राहुलसँग बयान समेत लिएको देखिँदैन । 

सिआइबीले अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतमा पेस भएको गोप्य मिसिलमा महरा बाबुछोराको कनेक्सन देखिएपछि रातोपाटीले सम्पर्क गर्दा राहुलले चिनियाँ नागरिक वाङसँग आफ्नो चिनजान रहेको स्वीकार गरे । 

वाङलाई कसरी चिन्नुहुन्छ भन्ने रातोपाटीको प्रश्नमा उनले करिब १० वर्ष पहिलेदेखि नै वाङलाई चिनेको र उनी व्यापारी रहेको बताए । वाङले के कस्तो व्यापार गर्छन् र आफूसँग वाङको के कस्तो सम्बन्ध हो भन्ने प्रश्नमा राहुल त्यति धेरै खुल्न चाहेनन् । राहुलले सुन तस्करीबारे आफूलाई आफूलाई थाहा नभएको पनि बताए । 

भन्सार अधिकृतलाई फोन गरी जफत भएको भेपका बारेमा सोधपुछ गरेको सम्बन्धमा प्रश्न गर्दा उनले त्यस बारेमा पनि सामान्य जानकारी मात्रै लिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप