शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
भेपमा सुन

सुब्बाको आरोप : जफत भएको भेप ल्याउनेलाई नै लिलाममा दिन मलाई प्रमुखबाट निर्देशन भयो

कार्यालय प्रमुखको बयान– मैले त्यसो भनेको छैन
आइतबार, ३१ असार २०८०, ११ : ४५
आइतबार, ३१ असार २०८०

काठमाडौँ । ‘भेप’ (इलेक्ट्रिक सिगरेट)मा लुकाएर तस्करी गरिएको सुन भन्सार कार्यालयकै नायब सुब्बाको मिलेमतोमा चोरी गरी बिक्री गरिएको प्रकरणमा नायब सुब्बाले कार्यालय प्रमुखमाथि नै गम्भीर आरोप लगाएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलले जफत गरिएको भेप र त्यसभित्र रहेको सुन भेप ल्याउने चिनियाँ ब्यापारीलाई दिन आफूलाई निर्देशन दिएको विवादास्पद बयान नायव सुब्बा रेवन्त खड्काले दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानका क्रममा लिएको बयानमा नायब सुब्बा खड्काले कार्यालय प्रमुख पोखरेलमाथि उक्त सामान चिनियाँ नागरिकलाई नै लिलाममा दिनेगरी व्यवस्था गर्न आफूलाई मौखिक निर्देशन आएको र सुन भएको उक्त भेप झिकेर अर्को भेप राखेको जानकारी गराएपछि पनि पहिलेकै भेप ल्याएर राख्न निर्देशन दिएको बयान दिएका छन् ।

भएको के थियो ?

मिति २०७९ पुष १० गते फ्लाई दुबईको उडान नम्बर FZ0587 बाट नेपाल आएका चिनियाँ यात्रु लि हानसोङले आफ्नो लगेजमा ठूलो परिमाणमा इलेक्ट्रिक सिगरेटभित्र लुकाएर सुनको तस्करी गरेका थिए । तर तत्कालीन समयमा सुन हो भन्ने थाहा नभएका कारण जफतमात्रै गरिएको उक्त भेपभित्र सुन रहेको थाहा भएपछि निर्मल विक, दिनेश बस्नेत, रेवन्त खड्का लगायतको व्यक्तिहरुको मिलेमतोमा ९ किलो सुन निकाली बेचबिखन भएको खुलासा भएको थियो ।

दिनेश बस्नेतले भन्सारका नायब सुब्बा रेवन्त खड्कासँग मिलेर सुन रहेको भेप निकाली त्यसको सट्टा सक्कली भेप राखिदिएका थिए । दिनेशले नै चोरी गरेको भेपबाट निकालिएको सुनको तौल करिब ९ किलो भएको भनिएको थियो र प्रतितोला ८० हजारमा विक्री गरिएको दाबी गरिएको छ ।

 

सोही प्रकरणमा प्रहरीले प्रतिवादी बनाएको नायब सुब्बा रेवन्त खड्काले दिएको बयानमा कार्यालय प्रमुखको मिलेमतोको आशंका हुने पोल गरेका छन् ।

नायब सुब्बा खड्काले गरेको बयानको केही अंश यस्तो छ–

‘...  २०७९ फागुन महिनाको दोस्रो हप्तातिर निज बब्लु कुमार गुप्ताले मलाई भेटी चिनियाँ नागरिकबाट जफत भई मुद्दा शाखामा दाखिला भई मुद्दा शाखाको गोदाममा रहेको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) भित्र सुन छ भन्ने सुनेको छु भनी मलाई जानकारी गराउँदा मलाई विश्वाश नलागी निज बब्लु कुमार गुप्तालाई मुद्दा शाखाको गोदाममा लगी सुटकेशबाट एक थान ईलेक्ट्रिक सिगरेट (भेप) झिकी निज बब्लु कुमार गुप्ताले मुखमा राखी सास तान्दा धुँवा नआएपछि उक्त ईलेक्ट्रिक सिगरेट (भेप) सक्कली नभई सो ईलेक्ट्रिक सिगरेट (भेप) भित्र अन्य केही बहुमुल्य बस्तु छ भन्ने कुरामा मसमेत विश्वस्त भएँ । उक्त गोदाममा सीसीटीभीबाट निगरानी हुने भएकाले उक्त कोठामा थप चेकजाँच गरिएन । सो को १÷२ दिनपछि हाल मसँगै पक्राउमा परी आएका दिनेश बस्नेतले मलाई भेटी उक्त ईलेक्ट्रिक सिगरेट (भेप) भित्र सुन रहेको र उक्त सुन बिक्रीको लागि आफूले भारतीय नागरिकसँग डिल गरिसकेको भनी बताई मलाई समेत सो सुन बिक्रीबाट प्राप्त रकममध्ये राम्रो रकम हिस्सा दिने भनी उक्त ईलेक्ट्रिक सिगरेट (भेप) उपलब्ध गराउन आग्रह गरेका थिए ।

तत्पश्चात सो को करिब ७–१० दिन पछि मुद्दा शाखामा रहेका लिलामी गर्नुपर्ने र नष्ट गर्नु पर्ने सामानहरुलाई छुट्याई उल्लेखित प्रयोजनका लागि स्थानान्तरण गर्ने क्रममा उक्त ईलेक्ट्रिक सिगरेट (भेप) सहितको सुटकेश मैले कोठा नं. १११ मा सारेँ । कोठा नं. १११ मा रहेका सामानमध्ये लिलामी गर्नु पर्ने र नष्ट गर्नु पर्ने सामानहरुलाई छुट्याउनका लागि मजदुरहरुलाई उक्त कोठामा लाने क्रममा निज दिनेश बस्नेतसमेत सँगै जाने गरेका थिए । मेरो सहमतिमा निजले पटक पटक गरी जफत भएको ईलेक्ट्रिक सिगरेट (भेप) कोठा नं. १११ बाट झिकी सो को ठाउँमा हाल बरामद भई आएको ईलेक्ट्रिक सिगरेट (भेप) राखिदिएका हुन् ।’

‘... त्रिवि भन्सार कार्यालयको यात्रु आगमन शाखाबाट जफत गरी मिति २०७९।१०।२९ गते मुद्दा शाखामा दाखिला भएको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) मेरो संलग्नतामा दिनेश बस्नेतले बाहिर लगी सो को सट्टामा हाल बरामद भई आएको ईलेक्ट्रिक सिगरेट (भेप) राखी साटफेर गरी राखेका हुन् । तत्पश्चात निज दिनेश बस्नेतले लगेको उक्त ईलेक्ट्रिक सिगरेट (भेप)बाट सुन झिकी निजले नै वेद प्रकाश अग्रवाललाई बेचेको र वेद प्रकाश अग्रवालले उक्त सुन अर्का प्रतिवादी भारतीय नागरिक साहेब राव मरगलेलाई बेचेका रहेछन् भन्ने कुरा हाल थाहा जानकारी पाएको हुँ । सो बाहेक उक्त सुन निकाल्ने र बिक्री वितरण गर्ने कार्यमा अन्य को कसको संलग्नता छ, निज दिनेश बस्नेत समेतलाई थाहा होला । उल्लेखित ईलेक्ट्रिक सिगरेट (भेप) सम्बन्धित यात्रु (चिनियाँ नागरिक) लाई नै लिलाम सकार गर्ने व्यवस्था मिलाउनु पर्छ भनी मलाई प्रमुख भन्सार प्रशासक अरुण पोखरेलबाट मौखिक निर्देशन भएको थियो । यसरी उक्त ईलेक्ट्रिक सिगरेट (भेप) लिलाम गर्ने निर्णय भए पश्चात म कार्यालयमा नरहेको अवस्थामा के कुन कर्मचारीले कोठा नं. १११ मा गई उक्त ईलेक्ट्रिक सिगरेट (भेप) को अवस्थाको बारेमा चेकजाँच गरेछन्, मलाई थाहा भएन । चेकजाँच गर्ने कर्मचारीले प्रमुख भन्सार प्रशासकलाई जफत भएको ईलेक्ट्रिक सिगरेट (भेप) गोदामबाट साटफेर गरी अर्को ईलेक्ट्रिक सिगरेट (भेप) राखिएको अवस्था छ भनी जानकारी गराएका रहेछन् ।

तत्पश्चात यसमा के कसो भएको हो भनी प्रमुख भन्सार प्रशासक र प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल समेतले मलाई सोध्दा मैले उक्त ईलेक्ट्रिक सिगरेट (भेप) दिनेश बस्नेत मार्फत साटफेर गरे बापत १ करोड आएको भनी जानकारी गराएको थिएँ । मैले निजहरुलाई यसरी जानकारी गराएपछि प्रमुख भन्सार प्रशासकले मलाई उक्त सामानहरु दुरुस्त हालतमा फिर्ता ल्याएर गोदाममा जम्मा गरिदिनुहोस् भन्नुभएको थियो ।’

भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्काको बयानले भेपको लिलामी प्रक्रियामा पछिल्लो समय प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको पनि चासो रहेको र संलग्नता थियो कि भन्ने संकेत गरेको छ । सुनको बारेमा जानकारी हुनुभन्दा पहिले नै चिनियाँ नागरिकलाई नै लिलाम सकार्न लगाउने भनी भन्नुको अर्थ त्यहाँ केही कैफियत छ भन्नेबारे प्रमुख भन्सार प्रशासक पोखरेल जानकार थिए भन्ने संकेत गर्छ ।

तर त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले भने आफूले सुब्बालाई त्यस्तो केही नभनेको बयान दिएका छन् । पोखरेलले सीआईबीमा दिएको बयानको केही अंश यस्तो छ ।

‘... म मिति २०७९।०५।२० गतेदेखि त्रिवि भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको पदमा कार्यरत रहेको छु । मिति २०७९।०९।१० गते फ्लाई दुबईको उडान नम्बर FZ0587 बाट नेपाल आएका चिनियाँ यात्रु लि हानसोङ LI HANSONG ले लिई आएको ब्यागेजमा अस्वाभाविक ठूलो परिमाणमा ईलेक्ट्रिक सिगरेट (भेप) रहेको देखिएकाले व्यापारिक प्रयोजनका लागि ल्याएको हुनसक्ने देखी उक्त दिन यात्रु जाँचपास तथा सहजीकरण शाखामा ड्युटीमा रहेका प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठले उक्त सामान सहितको ब्यागेज जफत गरेका रहेछन् । उक्त जफत भएको ईलेक्ट्रिक सिगरेट (भेप) आवश्यक कारवाहीको लागि मुद्दा तथा लिलामी शाखामा पठाउने क्रममा मिति २०७९।१०।२९ गते ड्युटीमा रहेका टाईपिष्ट नासु सरोज श्रेष्ठले सामानको फोटो खिची राखेका रहेछन् । विभिन्न यात्रुहरुबाट जफत गरिएको ईलेक्ट्रिक सिगरेट (भेप) सुर्तीजन्य पदार्थ भएकाले लिलाम वा नष्ट के गर्ने भन्ने सम्बन्धमा द्विविधा भई आन्तरिक छलफलमै रहेको थियो । विभिन्न यात्रुहरुबाट जफत भएका विभिन्न प्रकृतिका सामानहरु लिलाम वा नष्ट जे गरे पनि मूल्याङ्कन गरी लिलाम वा नष्ट गरिने भएकाले उल्लेखित चिनियाँ यात्रुबाट जफत भएको ईलेक्ट्रिक सिगरेट (भेप) सम्बन्धमा समेत मेरो संयोजकत्वमा मूल्याङ्कन समिति गठन भई मूल्याङ्कन भएको हो, लिलाम गर्ने निर्णय गरिएको होइन । मैले उल्लेखित ईलेक्ट्रिक सिगरेट (भेप) सम्बन्धित यात्रु (चिनियाँ नागरिक) लाई नै लिलाम सकार गर्ने व्यवस्था मिलाउनु पर्छ भनी रेवन्त खड्कालाई मौखिक निर्देशन गरेको पनि छैन, जफत मालवस्तु लिलाम गर्दा कानुनले निर्दिष्ट प्रक्रिया पूरा गरी लिलाम गरिने हुँदा मैले निर्देशन गरे बमोजिम कोही कसैले लिलाम सकार गर्न पाउने अवस्थासमेत नरहने भएकाले निजले किन आफ्नो बयानमा त्यस्तो व्यहोरा खुलाए, मलाई थाहा भएन । जफत भएको ईलेक्ट्रिक सिगरेट (भेप) गोदामबाट साटफेर गरी अर्को ईलेक्ट्रिक सिगरेट (भेप) राखिएको सम्बन्धमा मुद्दा शाखाबाट निरीक्षण भई मलाई थाहा जानकारी हुन आए पश्चात आन्तरिक छानबिन गरी प्राप्त छानबिन प्रतिवेदनका आधारमा जफत भएको ईलेक्ट्रिक सिगरेट (भेप) गोदामबाट साटफेर गरी अर्को ईलेक्ट्रिक सिगरेट (भेप) राखिएको यकिन हुन आएकोले सो सम्बन्धमा निज रेवन्त खड्कासँग सोधपुछ गर्दा निजले सामान यतै कतै परेको हुनसक्छ भनेकाले मैले निजलाई सामान दुरुस्त हालतमा गोदाममा दाखिला गर्नु भनी भनेको थिएँ । निज रेवन्त खड्कालाई पटक पटक सामानको सम्बन्धमा ताकेता गर्दा पनि निज कार्यालयमा उपस्थित नहुने, कार्यालयले पत्राचार गर्दा समेत पत्र बुझ्न नआउने गर्न थालेपछि निजलाई यथार्थ व्यहोरा नखुलाएमा प्रहरीको सहयोगमा फौजदारी कसुरमा मुद्दा दर्ता गर्ने भनी जानकारी गराउँदा निजले उक्त ईलेक्ट्रिक सिगरेट (भेप) मा सुन रहेकाले सम्पूर्ण ईलेक्ट्रिक सिगरेट (भेप) दिनेश बस्नेतलाई दिएको र निज दिनेश बस्नेतले बिक्री गरी ६ करोड रुपैयाँ प्राप्त गरी सकेको हुँदा अब उक्त ईलेक्ट्रिक सिगरेट (भेप) ल्याउन नसक्ने भनी म समक्ष मौखिक रुपमा कबुल गरेकाले प्रस्तुत वारदातका सम्बन्धमा बिस्तृत अनुसन्धान गर्नुपर्ने देखिएकोले मैले तत्कालै प्रमुख भन्सार प्रशासकको हैसियतले थप अनुसन्धान कारवाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार समेत गरेको हुँ ।’

प्रमुख भन्सार प्रशासक र नायब सुब्बा खड्काको बयान बाझिए पनि त्यसमा के कसो भएको हो भनेर केन्द्रीय अनुसन्धान ब्यूरोले थप अनुसन्धान भने गरेको देखिँदैन । नायब सुब्बाले पोल गरिसकेपछि लिलाम सकार्न लगाउने गरी तयारी गर्नु भनेको हो कि होइन भन्ने सम्बन्धमा ब्यूरोले थप छानबिन नगरी भन्सार अधिकृतको सामान्य बयानमात्रै लिएको देखिन्छ ।

मानव स्वास्थ्यलाई असर गर्ने मालवस्तु लिलाम नभई नष्ट गर्नुपर्ने भए पनि प्रमुख भन्सार अधिकृतले किन लिलामीको कुरा गरी ल्याउने व्यक्तिलाई नै दिन चाहेका थिए भन्ने सम्बन्धमा भने प्रहरीले कुनै खोजबिन गरेको देखिँदैन ।

यो प्रकरणमा प्रहरीले हालसम्म अनुसन्धान गरी वीरेन्द्रनगर नगरपालिका–५ स्थायी ठेगाना भई हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा कार्यरत नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ स्थायी ठेगाना भई मनहरा नगरपालिका–९, काठमाडौं बस्ने भन्सार कार्यालयको लिलाम सकार गर्ने लगायतका काम गर्ने ३२ वर्षीय दिनेश बस्नेत, धरान उपमहानगरपालिका–२, सुनसरीका वेद प्रकाश अग्रवाल, भारत महाराष्ट्रका ३९ वर्षीय साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ का ३२ वर्षीय अमृत कार्की, काठेकोला गाउँपालिका–३, बागलुङका २२ वर्षीय सेक्युरिटी गार्ड निर्मल कुमार विकलाई पक्राउ गरी मुद्दा चलाएको छ । त्यसैगरी फरार रहेकाहरु दिनेशका भाइ २९ वर्षीय दिपेश बस्नेत, दिनेश र दिपेशका भिनाजु ४२ वर्षीय गोपाल सुवेदी, र दिनेशका ससुरा बनेपा–१०, थापागाउँका ५५ वर्षीय रामकेशव थापाविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप