आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

‘भेप’मा लुकाएर सुन तस्करी प्रकरण : अदालतमा मुद्दा दर्ता, भारतीय व्यापारी फरार

शुक्रबार, २९ असार २०८०, १५ : ०४
शुक्रबार, २९ असार २०८०

काठमाडौं । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर चिनियाँ नागरिकले चीनबाट करोडौंको सुन ल्याएर भारतीय व्यापारीले खरिद गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्यसबारे ‘संगठित तस्करी’ मुद्दामा अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो ।

‘भेप’मा लुकाएर सुन तस्करीमा संलग्नहरु विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणी न्यौपानेले रातोपाटीलाई बताए । न्यौपानेले भने, ‘मुद्दा दर्ता गरेका छौँ, बयान हुँदैछ ।’

तस्करीमा संलग्न आरोपमा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का, सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, साहेव राव मर्गले र अमृत कार्कीलाई पक्राउ गरेको छ । कास्की घर भएका निर्मल विक पनि सोही प्रकरणमा थुनामा छन् ।

भेपले भरिएको दुईवटा सुटकेशमा आएको सुनको परिमाण कति थियो भन्नेबारे यकिन हुन सकेको छैन । प्रहरीले एक सय ग्रामभन्दा थोरै बढीमात्र सुन बरामद गरेको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘तस्करी भएको सुन नै फेला परेन ।’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गोदामबाट बाहिरिएको सुन भारतको महाराष्ट्रका व्यापारी नन्दुकुमार राण्डुराम मर्गलेले खरिद गरेको अनुसन्धानबाट थाहा भएको छ । नन्दुकुमारले न्यूरोडस्थित वटुमा सुन जाँच्ने अफिस ‘टन्च हाउस’ सञ्चालन गरेका छन् ।

विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का र सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेतले भन्सारको गोदामबाट चोरेर सो सुन नन्दुकुमारलाई बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । स्टोरको साँचो रेवन्त खड्कासँग थियो । दिनेश बस्नेत भन्सार ‘एजेन्ट’ हुन् ।

नन्दुकुमारले दिनेश बस्नेतसँग ९ करोडमा सुन खरिद गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । थुनामा रहेका साहेव राव मर्गले नन्दुकुमारका भाइ हुन् । प्रहरीले अनुसन्धान थालेपछि नन्दुकुमार फरार भएका छन् । सुन किनेपछि उनी भारत गएको आशंका प्रहरीको छ ।

सुन बेचेर आएको ६ करोड रकम दिनेशले मात्रै लिएको अनुसन्धानबाट थाहा भएको छ । सो रकमबाट उनले काठमाडौं र भक्तपुरमा जग्गा किनेको भेटिएको छ ।

‘एजेन्ट’ले जग्गा किने, सुरक्षा गार्डले ‘सिक्री’

तस्करीको सुन ‘सेटिङ’मा विमानस्थलबाट पास गराउन मुख्य भूमिका दिनेश बस्नेत र नायव सुब्बा रेवन्त खड्काको खेलेको भेटिएको छ ।

बस्नेतले काठमाडौंको पेप्सीकोलामा ६ आना जग्गा खरिद गरेको भेटिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ मा २ करोड ५० लाख मूल्य पर्ने जग्गा उनले आफ्ना ससुराको नाममा खरिद गरिदिएको अनुसन्धानबाट खुलेको छ ।

सुन बेचेर आएको १ करोड नगद ‘खानपिन’मा खर्च गरेको बस्नेतले प्रहरीलाई बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘बस्नेतले १ करोड रकम फजुल खर्च गरेको देखिन्छ, त्यसबारे उनी हाँस्छन् मात्र, बोल्दैनन् ।’

नासु रेवन्त खड्काको साथबाट प्रहरीले ७० लाखभन्दा धेरै रकम बरामद गरेको छ । खड्काले प्रेमिकाको नाममा ‘फिक्स्ड डिपोजिट’ गरिदिएको भेटिएको छ ।

तस्करीमा संलग्न आरोपमा सीआईबीको अनुसन्धान दायरामा आएका पोखराका निर्मल विक विमानस्थलका सुरक्षा गार्ड हुन् । विकले गोदाममा राखेको सुटकेशबाट ‘भेप’ चोरेको अनुसन्धानबाट थाहा भएको छ । सुटकेशमा ४ वटा खाली बट्टा भेटिएको थियो । सुन लुकाएको ४० थान ‘भेप’ चोरेर विकले बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

‘निर्मलले झण्डै आधा किलो सुन चोरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘चोरीको सुनबाट उनले कोटेश्वरमा गएर १ तोलाको सिक्री बनाएको पुष्टि भएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप