शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
भेपमा सुन

‘भेप’ सुनकाण्डको नालीबेली : सुरक्षा गार्डले सुइँको पाए, अनि एजेन्टले सेटिङ मिलाए

शनिबार, ३० असार २०८०, १५ : ५८
शनिबार, ३० असार २०८०

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई २०८० वैशाख २६ गते एउटा पत्र पठायो । चलानी नम्बर १५२१ को पत्रमा उल्लेख थियो, ‘विमानस्थलमै कार्यरत नायब सुब्बा रेवन्त खड्का लगायत समूहले जफत गरेको ७३० थान ‘भेप’ (इलेक्ट्रिक सिगरेट) भन्सारकै गोदामबाट साटफेर गरिएको पाइएकाले सो कार्य किन भएको हो र सो कार्यमा अन्य को को व्यक्ति संलग्न छन् भन्ने अनुसन्धान गरी आवश्यक कारबाही गरियोस् ।’ 

भेप भनेर ल्याइएको सामानभित्र सुनको तस्करी भएको जानकारी आएको थियो, तर चेकजाँच गर्दा सुन भएको नक्कली भेप नभेटिई सक्कली भेप मात्रै फेला पर्‍यो । सिसिटिभी फुटेजको अध्ययनबाट गडबड भएको पत्ता लागेपछि भन्सार प्रमुख अरुण पोखरेलले उपर्युक्त पत्र पठाएका थिए । 

पत्र प्राप्त भएलगत्तै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले तत्कालै भन्सारका नायब सुब्बा रेवन्त खड्कालाई पक्राउ गरी सोधपुछ गर्‍यो । उनको बयान थियो — नक्कली भेपभित्र सुन रहेको थाहा पाएपछि हामीले उक्त भेप चोरी गरी सक्कली भेप ल्याएर राखिदियौँ र नक्कली भेपभित्र रहेको सुन निकालेर बिक्री गरिसक्यौँ ।’

त्यसपछि दुई महिना लगाएर सिआइबीले सुन तस्करी र चोरीमा संलग्नहरूको खोजी गरी उनीहरूलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । 

नक्कली भेपभित्र करिब नौ किलो सुन रहेको र ती सबै सुन बिक्री गरी विभिन्न व्यक्तिले बाँडीचुँडी खाएको, आफन्त तथा चिनजानका व्यक्तिको नाममा समेत सम्पत्ति लुकाएर राखेको अनुसन्धानका क्रममा पाइएको थियो । 

‘भेप’ सुनकाण्डको नालीबेली

फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट २०७९ पुस १० गते नेपाल आएका चिनियाँ यात्रु ली हानसोङको लगेज शंकास्पद भेटियो । एक्स–रेका क्रममा उक्त लगेजभित्र ‘भेप’ भनिएको सामानभित्र सुनजस्तै घनत्व बढी भएको धातु रहेको संकेत दिने कालो धब्बा देखिएको थियो । त्यसपछि थप अनुसन्धान गर्न लगेजमा आरसी अर्थात् रेड च्यानलको ट्याग लगाइयो । पुनः एक्स रे गर्दा समेत शंकास्पद देखिएपछि लगेज खोलेर हेरियो । लगेजमा ठूलो परिमाणमा भेप थियो । यत्तिका सामान एलसी नखोली लगेजमा किन ल्याएको भनी हानसोङलाई सोधियो । उनले ‘हाइड्रोपावरमा काम गर्ने चिनियाँ नागरिकका लागि ल्याइएको’ भन्ने जवाफ दिए । 

व्यापारिक प्रयोजनका लागि सामान ल्याइएको भन्दै भन्सारले उक्त सामानको थप अनुसन्धान नगरी भेप नै हो भनेर जफत गर्ने निर्णय गर्‍यो र त्यसको निस्सा यात्रुलाई दियो । लगेज खोलेर अनुगमन गरी यात्रुलाई नै दिने वा जफत गर्ने भन्ने अधिकार भन्सारलाई रहन्छ । अवैध सामान ल्याएको भए व्यक्ति समेतलाई नियन्त्रणमा लिनुपर्ने हुन्छ ।

जफत गरिएको उक्त सामानलाई डेढ महिनाभन्दा बढी विमानस्थलभित्रैको स्टोरमा राखी २०७९ माघ २९ गते मात्रै मुद्दा शाखामा दाखिला भयो । त्यति बेलासम्म उक्त सामानका बारेमा कुनै जानकारी थिएन ।

दुईवटा सुटकेसमा रहेका ७३ बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) रहेको मुचुल्का उठाइएको थियो । उक्त ‘भेप’को व्यवस्थापन गर्ने जिम्मा नायब सुब्बा सरोज श्रेष्ठले लिएका थिए । सामान थन्काउने समयमा सरोजले भन्सार कार्यालयमै कार्यरत निजी कम्पनीका सेक्युरिटी गार्ड निर्मल कुमार विकको सहयोग लिए । 

सामान थन्काउने क्रममा सेक्युरिटी गार्ड विकले एउटा भेप निकालेर धुवाँ तान्ने कोसिस गरे, तर धुवाँ नआएपछि भेपभित्र अरु केही हुनुपर्छ भनी त्यसलाई आफ्नो खल्तीमा हाले । घर गएर भेप खोली हेर्दा उनले पहेँलो धातु पाएका थिए । त्यो सुन हो कि होइन भन्ने विकलाई थाहा थिएन । त्यसपछि विकले साथी अविनाश राउतलाई सम्पर्क गरी यो मेरो गर्लफ्रेन्डले दिएको हो । सुन पनि हो कि होइन चेक गरेर सिक्री बनाउनुपर्‍यो भने । साथी अविनाशले चिनेको एक सुन पसलमा गई चेक गरी सुन नै रहेको पत्ता लागेपछि उक्त सुनबाट सिक्री बनाए । यसरी भेप भनी जफत गरिएको सामानभित्र सुन भएको पत्ता लागेको थियो । 

gold vape

सिसिटिभीको तार काटेर चोरी

जफत गरिएको सामान सुन भएको पत्ता लागे पनि सुरुमा त्यो कुरा सेक्युरिटी गार्ड विकलाई मात्रै थाहा थियो । त्यसपछि विकले गोदामको सिसिटिभी क्यामेराको बत्तीको लाइन काटेर र अन्धकार बनाएर ४० थान भेप चोरी गरे । यद्यपि प्रहरीले हालसम्म विकको साथबाट एउटा सिक्री मात्रै बरामद गरेको छ ।

विकले सिसिटिभीमा जाने लाइन काटिरहेको अवस्थामा एक कर्मचारीले देखेका थिए, ती कर्मचारीले यसबारे कार्यालयमा जानकारी गराए । त्यसपछि विकलाई सेक्युरिटी गार्डमा नियुक्त गरेको कम्पनीले जागिरबाट बर्खास्त गर्‍यो । जागिर गएपछि विक केही समय काठमाडौंमै बसे ।

एजेन्ट दिनेश बस्नेतको प्रवेश

जफत र पछि नष्ट गर्ने भनिएको सामानमा धेरै मात्रामा सुन रहेको जानकारी पाएका विकलाई छटपटी भइरह्यो । यसबारे उनले आफ्ना केही साथी र भन्सार एजेन्ट दिनेश बस्नेतलाई सुनाए । 

एजेन्ट बस्नेतले सो कुरा भन्सारकै गोदाम शाखा हेर्ने नायब सुब्बा रेवन्त खड्कालाई भने । २०७९ फागुन २० गते नासु रेवन्त खड्का र एजेन्ट बस्नेत सँगै गोदाममा गई उक्त भेप खोल्दा साँच्चिकै सुन रहेको थाहा भयो । नासु खड्काकै  सहयोगमा एजेन्ट बस्नेतले सक्कली भेप ल्याई सुन राखिएको भेपसँग साटफेर गरे ।

एजेन्ट दिनेश बस्नेतको बयान अनुसार, कुल नौ किलोग्राम बराबरको सुन भएको भेप लगी बिक्री गरिएको छ । दिनेशका भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीको सम्पर्कबाट बिक्रीका लागि उक्त सुन भएको भेप वेदप्रकाश अग्रवालको सम्पर्कमा पुगेको पाइएको छ । 

घडी पसलको आडमा सुनको तस्करी

दिनेशले भन्सारको गोदामबाट सुन चोरिसकेपछि भन्सार एजेन्टकै काम गर्ने आफ्ना सहोदर भाइ दिपेश बस्नेतलाई बिक्रीका लागि आग्रह गर्छन् । दिपेशले आफूहरुका भिनाजु गोपाल सुवेदीसँग सहयोग माग्छन् । 

पहिले भन्सार एजेन्ट भएकाले गोपाल सुवेदीले घडी व्यापारीको आडमा अवैध सुनको कारोबार गर्ने वेदप्रकाश अग्रवाललाई चिनेका थिए । सुवेदीले सुन बेच्न अग्रवालको सहारा लिए । अग्रवालले नै सुनको अवैध कारोबार गर्ने व्यक्तिहरूलाई चिनाउनुका साथै आफैँले पनि उक्त सुनको कारोबार गरेको पाइएको छ । 

दिनेशले पहिलोपटक करिब ८० ग्राम सुन वेदप्रकाश अग्रवाललाई दिएका थिए । त्यसबापत आफूले ६ लाख रुपैयाँ पाएको दिनेशले प्रहरीसमक्ष बयान दिएका छन् ।

त्यसपछि पटकपटक दिनेशका भाइ दिपेशमार्फत वेदप्रकाश र उनीमार्फत चिनजान भएका साहेब राव पाण्डुरङ मरगले, नन्द कुमार पाण्डुरङ मरगले लगायत भारतीय नागरिकलाई सुनको बिक्री गरेको पाइएको छ ।

९ किलो सुन ६ करोडमा बिक्री

सिआइबीले पक्राउ गरी अनुसन्धान गर्दा प्रतिवादी दिनेश बस्नेतले कुल नौ किलोग्राम सुन जम्मा ६ करोड रुपैयाँमा बिक्री गरेको बयान दिएका छन् । 

हाल प्रति १० ग्राम सुनको मूल्य ९६ हजार ४५० रुपैयाँ रहेको छ । यसलाई आधार मान्दा एक किलोग्राम सुनको मूल्य ९६ लाख ४५ हजार र नौ किलोग्राम सुनको मूल्य ८ करोड ६८ लाख रुपैयाँ पर्छ । 

तर तस्करीको सुन भन्दै मारवाडी व्यापारीले प्रतितोला करिब ८० हजारका दरले मात्रै खरिद गरी नौ किलोग्राम सुनको बिक्रीबापत मात्र ६ करोड रुपैयाँ दिएको दिनेशको बयान छ । 

ससुराको नाममा जग्गा, ८३ लाखको मोजमस्ती 

सुन चोरी गरी बिक्री गरेको रकमबाट दिनेशले आफ्ना ससुराको नाममा २ करोड ७५ लाख रुपैयाँमा भक्तपुरको मध्यपुर ठिमी १७ दिव्येश्वरी प्लानिङभित्रको जग्गा खरिद गरेको पाइएको छ । त्यसैगरी दिनेशले आफू संलग्न ‘डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालि’को नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा ८० लाख रुपैयाँ जम्मा गरेको पाइएको छ । 

भन्सार कार्यालयबाट लिलाम भएको कपडा लगायत सामान खरिद गर्न दिनेशले २० लाख खर्च गरेका छन् भने २५ लाख रुपैयाँले विभिन्न व्यक्तिको सापटी तथा ऋण तिरेका छन् । सुन बेचबिखनमा सघाउने आफ्ना भाइ दिपेशलाई उनले २० लाख रुपैयाँ दिएका छन् । यस्तै, जग्गा खरिद गर्न सघाउने दलाललाई ८ लाख रुपैयाँ दिएका छन् ।

यस्तै सुकुटे बीचमा गएर साथीहरुलाई चार लाख रुपैयाँको पार्टी दिएको दिनेशको बयान छ । दिनेशले प्राप्त गरेको भनिएको ६ करोड रुपैयाँमध्ये ८३ लाखको हिसाब भने अझै मिलेको छैन । उक्त रकम के कहाँ खर्च भयो थाहा नभएको, तर खानपान र मोजमस्तीमै सकिएको हुन सक्ने दिनेशले बयान दिएका छन् । 

नासु खड्का : ‘मैले पाएको ६५ लाख मात्रै हो’

सुन चोरी गरी बिक्री गरिएको रकमबाट भन्सारका नायब सुब्बा रेवन्त खड्कालाई आफूले ७५ लाख रुपैयाँ दिएको दिनेशको बयान छ । यो रकम दिन उनले दुई साथीको खाता प्रयोग गरिएको पाइएको छ । रेवन्तलाई भने नगदै दिएको उनको बयान छ ।

यता रेवन्तले सुन बिक्रीबापत आफूले ६५ लाख रुपैयाँ मात्रै पाएको बताएका छन् । भेपभित्र कति सुन थियो भन्ने आफूलाई थाहा नभएको र भेप लगी साटफेर गरिदिएबापत दिनेश खड्काले आफूलाई ६५ लाख रुपैयाँ दिएको उनको बयान छ । उनले आफ्ना लागि भनी आएको रकममध्ये ३० लाख रुपैयाँ साथी प्रेरणा थापाको बैंक खातामा र अर्को ३५ लाख रुपैयाँ साथीकी श्रीमती ललिता थापा राजभण्डारीको बैंक खातामा डिपोजिट गर्न लगाएको उनको भनाइ छ । त्यसबाहेक थप रकम आफूले नपाएको रेवन्तको बयानमा उल्लेख छ । 

मुद्दा

यस सुन चोरी र तस्करी प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

वीरेन्द्रनगर नगरपालिका ५ स्थायी ठेगाना भई हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरनमा नायब सुब्बा पदमा कार्यरत २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ स्थायी ठेगाना भई भन्सार कार्यालयको लिलाम सकार गर्ने लगायत काम गर्दै आएका ३२ वर्षीय दिनेश बस्नेत, धरान — २  सुनसरीका वेदप्रकाश अग्रवाल, भारत महाराष्ट्रका ३९ वर्षीय साहेब राव पाण्डुरङ मरगले, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका — ६ का ३२ वर्षीय अमृत कार्की, काठेकोला गाउँपालिका — ३, बागलुङका २२ वर्षीय सेक्युरिटी गार्ड निर्मलकुमार विकलाई पक्राउ गरी मुद्दा चलाइएको हो ।

दिनेशका भाइ २९ वर्षीय दिपेश बस्नेत, दिनेश र दिपेशका भिनाजु ४२ वर्षीय गोपाल सुवेदी र दिनेशका ससुरा बनेपा १० थापागाउँका ५५ वर्षीय रामकेशव थापा फरार छन् । उनीहरुविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

सिआइबीका डीएसपी दुर्गाप्रसाद दाहालको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा आपराधिक विश्वासघातको कसुरमा सरकारी कर्मचारी नायब सुब्बा रेवन्त खड्कालाई ५ वर्ष र अन्यको हकमा जनही तीन वर्ष र संगठित अपराधमा मूल मुद्दा आपराधिक विश्वासघातमा हुने सजायको आधा अर्थात् नायब सुब्बाको हकमा साढे २ वर्ष र अन्यको हकमा डेढ वर्ष कैद सजायको माग दाबी लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप