आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
भेपमा सुन

चोरमाथि चकार : आफ्नै भाइ र भिनाजुले ३ करोड छ्याकन हाने

छ्याकनबाट साला–भेनाले किने तीन करोडको जग्गा
शनिबार, ३० असार २०८०, १७ : १२
शनिबार, ३० असार २०८०

काठमाडौँ । कमिसनको अर्थ लाग्ने गरी चलनचल्तीमा एउटा शब्द छ, ‘छ्याकन’ । कमिसन खुलेआम लिने–दिने गरिन्छ भने झुक्याएर लिने कमिसनलाई ‘छ्याकन’ भनिन्छ । अझ स्पष्ट भनौँ, काम गरेबापत तेस्रो व्यक्तिसँग खुलेआम कमिसन मागिन्छ भने आफन्तसँग ‘छ्याकन’ हानिन्छ ।   

चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएको सुन भन्सार कार्यालयकै नायब सुब्बाको मिलेमतोमा चोरी गरी बिक्री गराउने दिनेश बस्नेतमाथि पनि उनकै भाइ (दिपेश बस्नेत) र भिनाजु (गोपाल सुवेदी)ले ठूलो रकम ‘छ्याकन’ हानेको पाइएको छ । 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार, दिनेशले आफ्ना भाइ दिपेश र भिनाजु गोपाललाई चोरीको सुन बेच्न पठाएका थिए । सुन बेच्ने क्रममा भाइ र भिनाजुले सुनको तौल तथा मूल्यमा हेराफेरी गरी करिब तीन करोड रुपैयाँ ‘छ्याकन’ हानेको तथ्य खुलेको हो ।

२०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप)भित्र ठूलो मात्रामा सुन लुकाएर ल्याएका थिए । व्यापारिक प्रयोजनका लागि अवैध ढंगले ल्याएको भनी ‘भेप’ जफत गरियो । पछि विमानस्थलका सुरक्षा गार्ड निर्मल विकले भेपभित्र सुन रहेको थाहा पाएपछि सुन चोरीमा दिनेश बस्नेत, भन्सारका नायब सुब्बा रेवन्त खड्का लगायत जोडिएका थिए । दिनेशले नासु रेवन्तको सहयोगमा सुन रहेको भेप निकाली सक्कली भेप राख्न सफल भएका थिए । तत्काल खुल्न आए अनुसार सो समूहले भेपबाट करिब ९ किलो सुन निकाली प्रतितोला ८० हजार रुपैयाँमा सुन तस्करीमा संलग्न गिरोहलाई बिक्री गरेको थियो ।

सुन तस्करी र चोरीको नालीबेली बुझ्न यो स्टोरी पढ्नुहोस्

सुन चोरीमा दिनेशको प्रत्यक्ष संलग्नता भए पनि सुन बिक्रीमा उनको प्रत्यक्ष संलग्नता छैन । भन्सार एजेन्ट रहेका दिनेशका भिनाजुले चिनेका सुन तस्कर वेदप्रकाश अग्रवालमार्फत करिब ९ किलो सुन बिक्री गरेपछि त्यसबाट आएको रकम भने दिनेशका भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीले ल्याएर दिनेशलाई दिने गरेका थिए । दिपेश र गोपालले सुन बिक्रीबाट आएको रकममा पनि चोरमाथि चकार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

दिपेश र गोपालले सुन बिक्रीबाट कुल ६ करोड रकम आएको भनी दिनेशलाई बुझाएका थिए, तर उनीहरुले ९ करोडमा सुन बिक्री गरी ३ करोड रुपैयाँको जग्गा किनेको पाइएको छ । 

सिआइबीले तयार पारी सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार, दिनेशको भाइका साथी अमृत कार्कीको नाममा भक्तपुरमा ६ आना जग्गा प्रतिआना ५० लाख ५ हजारका दरले किनेको पाइएको हो ।

प्रहरी नियन्त्रणमा रहेका अमृत कार्कीले आफ्नो नाममा रहेको ६ आना जग्गा आफ्नो नभएर साथी दिपेश र उनका भिनाजु गोपालको रहेको तर दाजुभाइको अंश विवादका कारण आफ्नो नाममा राख्ने भनेकाले राखिदिएको बयान दिएका छन् । 

रातोपाटीलाई प्राप्त अमृतको बयानमा जग्गा आफ्नो नभएको र पहिले आफूसमेत सञ्चालक रहेको ट्राभल्स पनि हाल सञ्चालनमा नरहेको बयान दिएका छन् । जग्गा जफत प्रयोजनका लागि प्रहरीले प्रतिवादी बनाएका अमृत कार्कीको बयान यस्तो छ ः

‘प्रतिवादी दिनेश बस्नेत र म सँगै पढ्दादेखिका साथी हौँ । दिनेश बस्नेत निजको भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भन्सार एजेन्टको प्रतिनिधि भई अन्य देशबाट पैठारी भएका मालवस्तु भन्सारबाट छुटाउने काम गर्दै आएका थिए । निज दिनेश बस्नेत, रोजन राउत र म समेतको संयुक्त लगानीमा डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालि कम्पनी पार्टनरसिपमा सञ्चालन गर्दै आइरहेकामा कोभिड संकटपछि उक्त कम्पनी बन्द अवस्थामा रहेको छ । गोपाल सुवेदी दिनेश बस्नेतको भिनाजु भएको हुँदा गोपाल सुवेदीलाई मैले पनि भिनाजु भन्ने गरेको थिए । २०७९ चैत ७ गतेतिर साथी दिनेश बस्नेतले मेरो नाममा पहिले नै घर–जग्गा भएको र हामी दाजुभाइबीच अंशबन्डा समेत नभएको हुँदा पछि अंशबन्डा गर्दा समस्या हुने हुँदा हाल तिम्रो नाममा जग्गा खरिद गर्नुपर्ने भयो भनेपछि मैले चिनजानको साथी भएको नाताले निजलाई विश्वास गरी हुन्छ भनेको र सोको एक हप्तापछि निज दिनेश बस्नेतको भिनाजु गोपाल सुवेदीले मलाई जग्गा पास गर्नुपर्ने छ भनी मालपोत कार्यालय भक्तपुरमा बोलाएपछि म मालपोत कार्यालय भक्तपुरमा जाँदा भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिकास्थित कित्ता नम्बर २५३ को १९०.७४ वर्गमिटर क्षेत्रफल भएको जग्गाको धनी मलाई कायम राखी जग्गा पास सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका रहेछन् । त्यसपछि मैले उक्त कागजातहरूमा सहीछाप गरी दिएपश्चात् जग्गा मेरो नाममा पास भएको हो । त्रिभुवन विमानस्थल यात्रु आगमन शाखाबाट जफत गरी मिति २०७९।१०।२९ गते मुद्दा शाखामा दाखिला भएको २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गरी सोमा रहेको भनिएको सुन सोही कार्यालयका नासु पदमा कार्यरत रेवन्त खड्का, दिनेश बस्नेत, दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदी समेतको मिलेमतोमा त्रिवि भन्सार कार्यालय, कार्गो भवनको कोठा नं. १११ बाट झिकी ल्याई विशालबजारस्थित चस्मा पसल सञ्चालन गर्ने वेद प्रकाश अग्रवाल र पशुपति सुनचाँदी पसल सञ्चालक साहेवराव पाण्डुरङ मरगलेलाई बिक्री गरी आर्जन गरेको रकम प्रयोग गरी निज दिनेश बस्नेत र गोपाल सुवेदीले मेरो नाममा जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिकास्थित कित्ता नम्बर २५३ को १९०.७४ वर्गमिटर क्षेत्रफल भएको जग्गा खरिद गर्न प्रयोग भएको रहेछ भन्ने निजहरू पक्राउ परेपछि जानकारी पाएको हुँ । जग्गा पास गर्ने क्रममा गोपाल सुवेदीले २–३ महिनाका लागि मात्र जग्गा तिम्रो नाममा राख्ने हो त्यसपछि उक्त जग्गा बिक्री गर्ने हो भनी बताएका थिए । जग्गा पास गर्ने क्रममा जग्गा धनीलाई प्रति आना ५० लाख ५ हजारको दरले ६ आनाको ३ करोड ३० हजार रकम भुक्तान गरी खरिद गरिएको रहेछ । उक्त रकम मध्ये म समेतको संयुक्त लगानीमा रहेको डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालि कम्पनीको ग्लोबल आइएमई बैंकको खाताबाट ३० लाख रुपैयाँको चेक काटी बैनाबापत भुक्तानी दिएका रहेछन् भन्ने हाल आएर थाहा पाएँ । बाँकी रकम के कुन माध्यमबाट भुक्तानी गरेका हुन मलाई थाहा छैन । म निजहरूको कुरामा विश्वासमा परी निजहरूले खरिद गरेको उक्त जग्गा मेरो नाममा पास गरिएको हो । दिनेश बस्नेत, दिपेश बस्नेत र गोपाल सुवेदीले सुनियोजित ढङ्गले मलाई विश्वासघात गरी, झुटो बोली, विश्वासमा पारी मेरो नाममा जग्गा खरिद गरि दिएको हुँदा उल्लिखित कसूरमा मेरो संलग्नता छैन ।’

यसरी दिनेश बस्नेतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट चोरी गरी बिक्री गरेको सुनको परिमाण र मूल्यमा समेत दिनेशका भाइ दिपेश र भिनाजु गोपालले ‘छ्याकन’ खाएर करिब ३ करोड रुपैयाँ घोटाला गरी सोही रकमबाट भक्तपुरमा दिनेश र दिपेशका संयुक्त साथी अमृत कार्कीको नाममा ६ आना जग्गा किनेको पाइएको हो । 

दिनेशले आफ्नो बयानका क्रममा पनि पहिले आफूले नै दिनेशलाई जग्गा उसको नाममा राख्नुप¥यो भनी फोन गरेको तर पछि ससुराको नाममा जग्गा किनेको बयान दिएका छन् । तर पछि भाइ र भिनाजु भएर सुन बिक्रीकै रकमबाट ३ करोड ३० हजार रुपैयाँमा ६ आना जग्गा किनेको पाइएको दिनेशको ततिम्बा बयानमा उल्लेख छ । 

दिनेशको बयान 

‘...मेरो नाममा रहेको हाल म बसोबास गर्दै आइरहेको घर जग्गा मेरो नाममा रहेको हुँदा सुन बिक्रीबाट प्राप्त भएको रकम व्यवस्थापन गर्नका लागि सुरुमा मैले अमृत कार्कीलाई फोन सम्पर्क गरी तिम्रो नाममा जग्गा खरिद गर्नुपर्ने छ भनेको थिएँ, तर पछि मैले मेरो ससुराबुवा राम केशव थापाको नाममा मध्यपुर ठिमी नगरपालिकामा अन्दाजी चार आना जग्गा खरिद गरिसकेको हुँदा निजलाई मैले पुनः जग्गा खरिदका लागि फोन सम्पर्क गरेको थिइनँ । अमृत कार्कीको नाममा पास गरिएको भनिएको जग्गा सम्बन्धमा मलाई केही थाहा थिएन । हाल आएर मेरो भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदीको मिलेमतोमा अमृत कार्कीको नाममा जिल्ला भक्तपुर स्थित ६ आना जग्गा खरिद गरी जग्गा पास गरी दिएका रहेछन् भनी थाहा पाएँ । प्रतिआना ५० लाख ५ हजार रुपैयाँका दरले जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिकास्थित कित्ता नम्बर २५३, १९०.७४ वर्गमिटर (६ आना) क्षेत्रफल भएको जग्गा खरिद गरी अमृत कार्कीको नाममा जग्गा पास गरिदिएका रहेछन् भनी हाल आएर थाहा पाएँ । मैले सुन बिक्री गरेपश्चात् प्राप्त भएको रकम म समेतको संयुक्त लगानीमा खोलिएको डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालि कम्पनीको ग्लोबल आइएमई बैंकको खातामा रकम जम्मा गरेको थिएँ । मेरो भिनाजु गोपाल सुवेदीले मलाई फोन सम्पर्क गरी तिमीसँग के–कति रकम छ भनी सोधेपछि मैले हाल ३० लाख मात्र छ भनेकामा सोही तीस लाख वीरबहादुर भण्डारीको नाममा चेक काटी दिनु भनेपछि निजकै नाममा चेक काटी भिनाजु गोपाल सुवेदीलाई दिएको हुँ । निज गोपाल सुवेदीले उक्त रकम जिल्ला भक्तपुरस्थित अमृत कार्कीका नाममा जग्गा खरिद गर्नका लागि प्रयोग गरेका रहेछन् भनी हाल आएर थाहा पाए । बाँकी रकम के–कसरी, कुन माध्यमबाट जग्गा धनीलाई भुक्तानी दिएका हुन् मलाई थाहा छैन । अमृत कार्कीलाई गोपाल सुवेदीले फोन सम्पर्क गरी जग्गा पास गर्नका लागि मालपोत कार्यालय भक्तपुरमा बोलाई सहीछाप गर्न लगाई निजको नाममा जग्गा पास गरिएको हुँदा जग्गा खरिदसम्बन्धी सम्पूर्ण प्रक्रिया गर्ने मेरो भाइ दिपेश बस्नेत र भिनाजु गोपाल सुवेदी नै हुनुपर्छ ।’

यसरी दिनेशले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट चोरी गरी भाइ दिपेश र भिनाजु गोपालमार्फत बिक्री गरेको सुनको परिमाण र मूल्यमा फरक पारिएको प्रहरीको दाबी छ । हाल दिपेश र गोपाल फरार रहेकाले प्रहरीले उनीहरूसँग बयान लिन पाएको छैन । दिनेशले चोरी गरेको सुन बिक्रीबाट प्राप्त रकममा भाइ र भिनाजुले छ्याकन हानेर करिब ३ करोड रुपैयाँ लिएको प्रहरीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप