सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कर्णालीको स्रोत, साधनको प्रयोग कसरी गर्ने भन्नेबारे सरकार अग्रसर भइरहेको छ : मुख्यमन्त्री शर्मा

सोमबार, ०१ साउन २०८०, १४ : २७
सोमबार, ०१ साउन २०८०

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको स्रोत, साधनको उचित प्रयोग कसरी गर्ने भन्नेबारे सरकार अग्रसर भइरहेको बताएका छन् । कर्णालीको स्रोत, साधनको प्रयोगबारे खाका तयार गर्ने काम भइरहेको उनले बताए ।

सोमबार पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित 'छिन्चु मेहलकुना औद्योगिक करिडोरको सम्भाव्यता अध्ययन' सम्बन्धित बृहत् छलफल कार्यक्रममा मुख्यमन्त्री शर्माले कर्णाली औद्योगिक विकासतर्फ लम्किन नसकेको बताए।

शर्माले कर्णाली घट्ट, जाँतो, कुटो, कोदालोको युगभन्दा माथि उठ्न नसकेको बताए ।

'हामी सामन्तवादी राज्य व्यवस्थाबाट यहाँसम्म आएको धेरै समय भएको छैन,' उनले भने,'तर पनि समृद्धिको युगमा जसरी प्रवेश हुनुपर्थ्यो त्यो हुन् सकिरहेको छैन ।'

कर्णाली कसरी निर्माण गर्न सकिन्छ भनेर अध्ययन,‌ अनुसन्धान गरेर साधन, स्रोतहरुको एक साथ परिचालन गर्नुपर्ने उनको भनाइ छ ।आर्थिक समृद्धिमा कसरी जान सकिन्छ भन्ने तर्फ सबैको ध्यान जानुपर्ने उनले बताए ।

'एउटा व्यक्तिले मात्र सोचेर‌ हुने हैन, सबै एकजुट भएर कर्णालीलाई आर्थिक समृद्धिको युगमा लैजान पहल गर्नुपर्छ,' मुख्यमन्त्री शर्माले भने,'व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन । बदल्नका लागि हामी आर्थिक‌ सम्पन्नताको पाटालाई बलियो बनाएर लैजानुपर्ने हुन्छ।'

मुख्यमन्त्री शर्माले आर्थिक‌ सम्पन्नता र सामाजिक न्यायका माध्यमबाट मात्र सुखको दुनियाँमा प्रवेश गर्न सकिने बताए।

मुख्यमन्त्री शर्माले राज्य बढी प्रक्रियाको घुमघुमाउमा व्यतीत भएको र जनतामुखी हुन् नसकेको टिप्पणी गरे । फाइलहरु एक टेबुलबाट अर्को टेबुलमा घुम्दाघुम्दै समय खेर जाने भइरहेकाले यस्तो खालको पक्रियालाई बदल्न आवश्यक रहेको उनको भनाइ छ।

मुख्यमन्त्री शर्माले कर्णालीमा तत्काल काठको उद्योग खोल्नेतर्फ सरकार अग्रसर भएको बताए । रेसाधार उद्योग पनि कर्णालीमा आवश्यक रहेको उनले बताए । सरकारले अब यतातर्फ अग्रसर हुने र रोजगारीका अवसरहरू सिर्जना गर्ने तर्फ सरकार लागिपर्ने उनले बताए।

'हामीलाई बजेटको समस्या हुँदैन, प्रक्रिया अघि बढेको खण्डमा बजेटको समस्या हुँदैन,' शर्माले भने,'जग्गा प्राप्ति लगायतका कुराहरूमा केन्द्र र स्थानीय सरकारले सहयोग गर्नुपर्छ ।'

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप