बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सर्वसाधारणको ६ करोड ७४ लाख निक्षेप तिर्न नसकेपछि सुन व्यवसायीद्वारा आत्मदाहको प्रयास

सोमबार, ०१ साउन २०८०, १८ : २२
सोमबार, ०१ साउन २०८०

विराटनगर । सुनसरी धरान उपमहानगरपालिकाका सुन व्यवसायी ५० वर्षीय योवन खड्गीले आत्मदाहको प्रयास गरेका छन् । उनले धरानस्थित भानुचौकमा सोमबार बिहान ११ बजेतिर आत्मदाहको प्रयास गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । 

विगत लामो समयदेखि सुन व्यवसायी रहेका उनले सहकारीले जस्तो सर्वसाधारणको पैसा बचत गर्न थालेका थिए । उनको सुन पसलमा हालसम्म ७२ जना सर्वसाधारणले ६ करोड ७४ लाख रुपैयाँ जम्मा गरेका थिए । सर्वसाधारणले बचत रकम माग्न थालेपछि उनी विदेश लागेका थिए । विदेशमा बसेर पनि सर्वसाधारणको निक्षेप फिर्ता गर्न नसकेर स्वदेश फर्किएका उनी मानसिक तनावमा थिए । 

‘आत्मदाहको प्रयास भएको देखियो । हुन्थ्यो हुन्थ्यो थाहा भएन,’ डिएसपी मल्लले भने, ‘सुन व्यवसायबाट आर्थिक कारोबार गरेका रहेछन् । उहाँले सहकारी जस्तो बचत तथा ऋणको कारोबार गर्न थालेको पाइयो । ७२ जना निक्षेपकर्ताले ६ करोड ७४ लाख निक्षेप रहेको प्रमाणित पनि भएको छ ।’

केही दिन अगाडि उनीसँगै उनको परिवार, जनप्रतिनिधि र प्रहरी तथा निक्षेपकर्ताबीच व्यापार व्यवसाय तथा घरजग्गा विक्री गरेर पैसा फिर्ता गर्ने सहमति भएको थियो । 

‘पसलको भ्यालुएसन गरेर विक्री वितरण गर्ने गरी सहमति भयो । त्यसअनुसारको कारोबार नभएपछि निक्षेपकर्ताले दबाब दिएका थिए,’ मल्लले भने, ‘उहाँले भने हामीसँग आफ्नै तनावको कारणले यसो गरेको भनेर बयान दिएका छन् ।’

प्रहरीका अनुसार वडा कार्यालयमा उनको नाममा दर्ता भएको जग्गा वा घरपरिवार एकाघरको सगोलबाट विक्री गरेर निक्षेप फिर्ता गर्ने सहमति भएको थियो । 

‘आफ्नोबाट नभए आमाकोबाट गर्ने । आमाकोबाट भए उनले आफ्नो जग्गा आमालाई दिने भएका थिए । तर, पारिवारिक सदस्यहरुले विवाद निकालेपछि उनलाई थप तनाव बढेको देखियो,’ मल्लले भने । खड्गी अहिले इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमै रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप