सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक  : स्वास्थ्य मन्त्री बस्नेत

बिहीबार, ०४ साउन २०८०, १४ : ३२
बिहीबार, ०४ साउन २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक रहेको बताएका छन् ।  

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई बेलायतबाट भिडियो सन्देश मार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिशत परिवारमा मोबाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्याउन दत्त चित्त भएर लाग्नु पर्ने बताए ।

५५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहुँच पुगेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री बस्नेतले सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहुँच नपुगन्जेलसम्म जनताले छिटो छरितो सेवा पाउन नसक्ने बताए ।

सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न पनि आवश्यक भएकाले स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई पनि अगाडि बढाउने मन्त्री बस्नेतले बताए । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीका जनस्वास्थ्य सल्लाहकार विश्वरुप खड्काले सूचना प्रविधिको प्रयोग एकद्वार प्रणाली मार्फत हुनुपर्नेमा जोड दिँदै एकद्वार प्रणाली पूर्णरुपमा लागू नभएकाले मन्त्रालयका महाशाखा पिच्छे फरक फरक तथ्यांक आउने समस्या रहेको बताए । सल्लाहकार खड्काले सूचना प्रविधिको प्रयोगले जनतालाई दुःख दिने कामभन्दा कसरी सहज र सरल रुपमा स्वास्थ्य सेवा दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन सुझाव दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले टेलिमेडिसिनदेखि पेपरलेस सेवा दिनका लागि स्वास्थ्यमा सूचना प्रविधिको विकास र विस्तार आवश्यक रहेको बताए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानु पर्ने आवश्यक रहेको बताए । कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गर्न सकिने दाबी गरे । उनले स्वास्थ्य मन्त्रालयले यस विषयमा आवश्यक पहल गरिरहेकोमा खुसी समेत व्यक्त गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले स्वास्थ्य सेवा छिटो र छरितो रुपमा प्रवाह गर्न सूचना प्रविधिले ठूलो भूमिका खेल्ने भएकाले एक दिन मात्र नभएर वर्षै भरि डिजिटल स्वास्थ्य दिवस मनाउनु पर्ने आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप