शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
मौद्रिक नीति

ठुला ऋणीहरूको सुपरिवेक्षणका लागि राष्ट्र बैंकले छुट्टै नीति बनाउने

आइतबार, ०७ साउन २०८०, १४ : १४
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । केन्द्रीय बैंकले ठूला ऋणीहरुको सुपरिवेक्षणका लागि छुट्टै नीति बनाउने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई माग र आवश्यकताका आधारमा परिमार्जन गर्दै ठूला ऋणीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मागदर्शन जारी गर्ने जनाएको हो । 

‘वित्तीय स्रोतको सदुपयोगिता अभिवृद्धि गरी वित्तीय स्थायित्व प्रवद्र्धन गर्ने मुख्य उद्देश्य हासिल गर्न चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन जारी भई कार्यान्वयनमा आएको छ । ठूला ऋणीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने क्रममा रहेको छ । एकल ग्राहक कर्जा सुविधासम्बन्धी व्यवस्थामा परिमार्जन गरी कर्जा अधिकेन्द्रीकरण घटाउने र साना तथा मझौला
उत्पादनशील व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ’ बैंकद्वारा जारी मौद्रिक नीतिमा भनिएको छ । 

त्यसैगरी, बैंकिङ्ग क्षेत्रको सम्पत्तिको गुणस्तर मूल्याङ्कन गर्ने, कर्जा जोखिम न्यूनीकरण गर्ने, सुपरिवेक्षकीय क्षमता अभिवृद्धि गर्न सुपरिवेक्षकीय सूचना प्रणालीको विकास र प्रयोग गर्ने, समष्टिगत आर्थिक उत्तारचढावका कारण वित्तीय क्षेत्रमा आउन सक्ने दबाब आकलन गर्न म्याक्रो स्टाटिक टेस्टिङ फ्रेमवर्क तयार गरी लागू गरिने समेत केन्द्रीय बैंकले जनाएको छ । 
 वित्तीय क्षेत्रसँग सम्बन्धित ऐन कानुनहरुको समसामयिक पुनरावलोकन गर्ने लगायतका कार्यहरु जारी राखिने समेत बैंकले जनाएको छ । 

उल्लेखित सुधारका कार्यबाट वित्तीय स्थायित्व प्रवर्द्धन भई दिगो आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । नेपालको बजारलाई अन्तर्राष्ट्रिय बजारसँग एकीकृत गरी बजार पहुँच अभिवृद्धि गर्न बाह्य क्षेत्रतर्फको चालूखाता पूर्ण परिवत्र्य बनाई सकिएको छ भने पुँजी खातालाई पनि आवश्यकता अनुसार खुकुलो बनाउँदै लगिने बैंकले जनाएको छ । हाल विदेशी विनिमय सञ्चितिको उत्पादनमूलक उपयोग अभिवृद्धि गर्न मौद्रिक तथा वित्तीय क्षेत्रको नीतिसँग सामञ्जस्य हुने गरी विदेशी विनिमय नीति तर्जुमा गरी कार्यान्वयन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप