शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माल्भिका भन्छिन्, ‘छोरा दुई वर्षको हुँदा घर छोडेँ, मान्छे हेर्दा टप तर मेरो जीवन कस्तो हुनुपर्ने, के भयो भन्दै रुन्थेँ’

मङ्गलबार, ०९ साउन २०८०, १४ : २३
मङ्गलबार, ०९ साउन २०८०

पूर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बा आफ्नो निजी जीवनलाई गोप्य नै राख्न रुचाउँछिन् तर एक अन्तरवार्तामा भने उनले धेरै कुरा गरेकी छिन् जसले उनको जीवनको भोगाइ छताछुल्ल पारेको छ । 

प्रियंका कार्कीको ‘फोर्थ ट्राइमेस्टर’ नामको अन्तरवार्तामा प्रियंका अतिथिको रूपमा पुगेकी थिइन् ।  उनले उक्त कार्यक्रममा आफ्नो वैवाहिक जीवन गर्भावस्था, बच्चा जन्मिनु अघिको जीवन, छोरा भइसकेपछि फेरिएको जीवनशैली, सम्बन्धविच्छेद र को–पेरेन्टिङ र जीवन भोगाइबारे खुलेर कुराकानी गरेकी छिन् । 

सोमबार सार्वजनिक भएको उक्त अन्तरवार्तामा गर्भवती भएपछि श्रीमान् रियाज श्रेष्ठसँगको सम्बन्ध थप बिग्रँदै गएको र उनीहरूको सम्बन्धलाई नसुल्झिएका मुद्दाहरूले घेरेको बताइन् ।  

उनले भनिन्, ‘ हाम्रो वैवाहिक जीवनमा नसुल्झिएका मुद्दाहरू धेरै थिए । म गर्भवती हुनुभन्दा केही अघि सम्म जीवन राम्रै चलिरहेको थियो । गर्भवती भएपछि सम्बन्ध झन् बिग्रिँदै गयो । संवादको कमी पनि थियो । उनले मलाई समर्थन गर्दैनथे भनेर म भन्दिनँ । उनी निकै राम्रो बुवा हुन् । तर पार्टनर र श्रीमानको रूपमा भने मैले धेरै साथ र सहयोग पाइनँ । ’

आफ्नो वैवाहिक जीवनमा सांस्कृतिक पाटो पनि जोडिएको उनले बताइन् । उनले आफूले  सोचेको कुराहरू गर्न नपाएको र गर्भावस्थामा आफूले यस्तो गर्छु वा बच्चा हुर्काउँछु भन्दा सुरुमा परिवारको दायरामा बस्दा उनलाई धेरै नै गाह्रो भएको बताइन् । 

गर्भावस्थाका बेला आफू धेरैजसो एक्लो हुने गरेको पनि उनले बताइन् । उनले भनिन्, ‘घरमा कुकुर हुन्थे । यिनीहरू त छन् नि भन्ने हुन्थ्यो । सुत्ने बेलामा बच्चाले धेरै किक गर्दथ्यो, यसले गर्दा मसँग कोही छ भन्ने आभास हुन्थ्यो । त्यसले मलाई सान्त्वना दिन्थ्यो ।’

उनले यसो भनिराख्दा कार्यक्रमलाई प्रस्तुत गरिरहेकी प्रियंका कार्कीले माल्भिका सुब्बालाई त त्यस्तो भयो भने यहाँ धेरै महिला यस्ता होलान् जसले यसबारे कुरा गर्न सक्दैनन् वा उनीहरूमाथि के भइरहेको छ भन्ने कुरा थाहा समेत पाउँदैनन्, अहिले पनि परिवार र समाजको धेरै हस्तक्षेप र दबाब छ, तपाईँले यसबारे कुरा गर्दा धेरै महिलालाई पाठ हुनसक्छ भन्दा माल्भिकाले भनिन् –

‘यसबारे कुरा गर्दा कसैले सिक्नुहुन्छ, सिक्नु हुन्नँ त मलाई थाहा छैन । मलाई यसबारे धेरै कुरा यस कारण पनि गर्न मन छैन किनभने म रियाजको परिवारलाई सम्मान गर्छु । उहाँहरूले मेरो छोरा हुर्काउन धेरै नै सहयोग गर्नुभयो । सुरुमा धेरै मुद्दाहरू थिए । सांस्कृतिक भिन्नता पनि थियो । निजी मतभेद पनि धेरै भए । सुरुका एक दुई वर्ष मैले धेरै नै सङ्घर्ष गर्नुपर्‍यो । जसले मेरो मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्‍यो । म पोस्ट पार्टम डिप्रेसनबाट पनि गुज्रिएँ । अनडाइग्नोस्ड भयो तर पछि नियालेर हेर्दा चाहिँ पोस्ट पार्टम डिप्रेसन भएको रहेछ भनेर थाहा पाएँ । त्यो बेला थेरापिस्टकोमा जाने भन्ने पनि नौलो कुरा थियो । ’

malvika

उनले घरमा गर्भवती भएको परिवारलाई भने आफूले एउटा कुरा आग्रह गर्न चाहेको बताइन् । उनले भनिन्, ‘कोही गर्भवती हुनुहुन्छ भने उहाँलाई आफ्नो तरिकाले बाँच्न दिनुपर्छ । बच्चालाई कसरी हुर्काउन चाहनुहुन्छ, त्यो गर्न दिनुपर्छ किनभने पहिलो अधिकार भनेको आमाको हो । दोस्रो भनेको बुवा । श्रीमान् श्रीमतीले आफ्नो गर्भावस्थाको समयमा जीवनलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ, त्यो गर्न दिनुपर्छ । हो, स्वास्थ्यलाई हानी गर्ने, उहाँहरूले कानुन विपरीत नै कुनै काम गरिरहनुभएको छ भने त्यहाँ रोकटोक लगाउन जरुरी हुन्छ । तर साधारण कुराहरूमा पनि हाम्रो संस्कृति यस्तो छ, यो गर्नै पर्छ, यो हुनै पर्छ भन्नु हुँदैन । किनभने यस्तो भएको खण्डमा मानसिक तनाव धेरै हुँदो रहेछ ।’

उनले आफ्नो जीवनमा पनि यस्तै भएको बताउँदै परिवारको दबाब बच्चा जन्मिएपछि पनि निरन्तर भइरहेकोले त्यसलाई सम्हाल्न नसकेको खुलासा गरिन् । उनका अनुसार उनले यसबारे कसैलाई भन्न सकिनन् । एक्लैले भार बोकेर बसिरहिन् । श्रीमान्को तर्फबाट पनि कुराकानी नहुने भएकोले यसबारे कुरा गर्न नसकिएको उनले बताइन् ।  

उनले आफ्नो छोराको न्वारनको दिनको घटना स्मरण गर्दै भनिन्, ‘बच्चाको न्वारन गर्ने बेलामा आफ्नै साधारण तरिकाले गर्न मन थियो । सुरुमा ‘तिम्रै तरिकाले गरौँ’ भने पनि   अन्तिममा उहाँहरूकै तरिकाले गराउनुभयो जुन मलाई एकदम जबरजस्ती जस्तो महसुस भएको थियो । त्यो बेलामा मलाई अरू आफन्तले विभिन्न नाम दिएर नानाथरीको गाली गर्नुभयो । यस्ता कुराहरूलाई सहन असाध्यै गाह्रो भयो । ’

छोरा ६ महिनाको हुँदा कपल्स काउन्सिलिङमा पनि गएको तर त्यसले केही काम नगरेको उनले बताइन् । उनी सम्बन्धविच्छेद हठातमा गर्न चाहँदैनथिन् त्यसैले चार वर्ष छुट्टाछुट्टै बसेर अघिल्लो वर्ष रियाजसँग सम्बन्धविच्छेद गरिन् । रियाजले बारम्बार सम्बन्धविच्छेदका लागि कर गरिराख्दा उनले आफ्नो, छोरा र रियाजका लागि समय लिएको बताइन् । 

बच्चा जन्मिएको पहिलो ६ महिनालाई उनले जीवनकै अँध्यारो पाटो बताइन् । ‘चार महिनासम्म मैले आफैँले बच्चा हेरेँ । १६ घण्टा नसुतीकन म दिनभरि एक्लै बच्चा हेर्थेँ । त्यति बेला मसँग भएको पैसा पनि सकियो । हस्पिटलको बिल, बच्चाको सबै कुरा लगभग ९० प्रतिशत खर्च म आफैँले गरिरहेको थिएँ । पैसा छैन, बच्चा हुर्किदैँछ । अब के गर्ने त ? म काममा फर्कनुपर्‍यो । ’

‘मैले छोरा सासू ससुरालाई छोडिदिएँ । अरूले त भन्लान् ‘अँ सासू ससुराले हेर्दिहाल्नु हुन्छ नि ।’ तर मलाई गाह्रो भयो । उहाँहरूलाई मैले नराम्रो भन्न खोजेको होइन । उहाँहरू मेरो बच्चाका लागि निकै राम्रो हजुरबुवा हजुरआमा हुनुहुन्छ । तर मलाई चाहिँ धेरै गाह्रो भएको थियो । ’

malvika1

श्रीमान्‌सँगको सम्बन्ध बिग्रँदै गए पनि छोरालाई उसको बाबा र परिवारबाट कहिले पनि छुट्टाउने आफ्नो सोच नभएको उनले बताइन् । यसबारे उनले भनिन्, ‘मैले धेरैको सुनेको छु कि आमाबुवाको सम्बन्ध बिग्रिँदा बच्चालाई बीचमा पारिन्छ । मेरो छोराले त्यस्तो अवस्थाको सामना गरोस् भन्ने म चाहँदैनथेँ । म आफैँ पनि हुर्किँदै गर्दा एक समयमा मलाई याद छ, सायद म रियो कै उमेरको थिएँ होला, जहाँ मेरी आमा र बाबाको सम्बन्ध राम्रो थिएन । उहाँहरू दिनदिनै झगडा गर्नुहुन्थ्यो, त्यो बेलामा म बुझ्ने भइसकेको थिएँ, मैले त्यस्तो देखेको भएर त्यसले मलाई लामो समयसम्म प्रभाव पार्‍यो ।’

तर बच्चाकै लागि भनेर आफू सम्बन्धमा बसिरहने भन्ने सोच भने कहिल्यै नआएको उनले बताइन् । उनले यसलाई गलत बताएकी छिन् । ‘बरु म निस्किएर मैले स्वस्थ तरिकाले उसको बुवासँग सम्बन्ध स्थापित गर्न सकेँ भने बच्चाले केही समयसम्म नबुझ्ला तर ठुलो भएपछि उसले पक्कै पनि बुझ्छ भन्ने लाग्छ ।’

को–परेन्टिङ गर्न सुरुमा धेरै गाह्रो भएको पनि उनले स्मरण गरिन् । उनले भनिन्, ‘सुरुमा त्यो तालिका बनाउन र कसरी जाने भन्ने कुरामा धेरै गाह्रो भयो किनभने मैले को पेरिन्टिङ गरिरहेको कोही पनि भेटेको थिइनँ । यस्तै, म यस्तो अवस्थामा थिएँ कि मैले आफ्नो कुरा कसैलाई पनि भन्न सक्दिनथेँ । एक सार्वजनिक व्यक्तित्व भएको नाताले । यो मेरो लागि खराब पक्ष नै भयो । मैले आफ्नै परिवारलाई पनि त्यो कुरा भन्न सक्दिनथेँ । मसँग असाध्यै नजिक एक दुई जनालाई मात्रै यसबारे थाहा थियो ।’

‘सुरुमा हामीलाई असाध्यै गाह्रो भयो किनभने ऊ आफ्नो बाजे बज्यैसँग निकै नजिक थियो । उहाँहरूले एकदमै माया गर्नुहुन्थ्यो, अहिले पनि गर्नुहुन्छ । त्यो बेलामा मैले कामका लागि छोडेर जान्थेँ । बाजे बज्यैसँग ऊ धेरै झ्याम्मिन्थ्यो । त्यो बेलामा उसले बाबालाई एकदम खोज्थ्यो । मसँग खासै नजिक थिएन किनभने म काममा जान्थेँ र म घर आउँदा ऊ सुतिसकेको हुन्थ्यो । ऊ सानो हुँदा छिट्टै सुत्थ्यो । ’

उनले थपिन्, ‘मलाई त्यो कुरालाई साह्रै तनाव दिन्थ्यो । त्यसपछि मैले बच्चा हुर्काउने आफ्नो शैली परिवर्तन गर्ने निर्णय गरेँ । म आफ्नो छोरासँग छुट्टै सम्बन्ध स्थापित गर्न चाहन्थेँ । मैले आफूलाई नयाँ रूप दिनुपर्दथ्यो । मेरो सोचाइमार्फत छोराको माया कसरी पाउन सक्छु, मैले उसलाई कसरी माया देखाउन सक्छु, मैले आफूले सक्दो गरिरहेको छु है भनेर उसलाई कसरी बुझाउन सक्छु भनेर आफ्नो शैली पनि फेर्नुपर्‍यो । यसका लागि म उसँगै खेल्न थालेँ, उसँग कुरा गर्न थालेँ, उसँगै क्रियाकलाप गर्न थालेँ, उसँग घुम्न जान थालेँ ।’

malvika2

को परेन्टिङका सुरुवाती वर्ष सङ्घर्षमय भए पनि पछि रियाजले पनि यसमा उनलाई साथ दिँदै गएको र बुझ्दै गएको बताइन् । ‘छोरा सात वर्षको पुगुन्जेलसम्म धेरै कुरा मिलिसकेको छ, हामीलाई धेरै सजिलो भइसकेको छ । तर यसको पहल मैले नै गरेको हुँ (मैले यसो भन्दा रियाजलाई केही आपत्ति छैन भन्ने मलाई लाग्छ ।) यसका लागि मैले धेरै सोच्नुपर्‍यो, काम गर्नुपर्‍यो ।’

रियाजको परिवारसँग आफ्नो मतभेद भए पनि छोरालाई भने रियाज र उनको परिवारबाट कहिल्यै पनि लिएर नजाने स्पष्ट पारेको बताइन् ।  ‘रियाजको परिवारलाई रियोलाई मैले तपाईँहरूबाट कहिले पनि लिएर जान्नँ । ऊ तपाईँहरूको जीवनमा शत प्रतिशत हुन्छ र मेरो पनि जीवनमा हुन्छ भनेर भनेको थिएँ । म काममा जाँदा, घुमिरहेका बेला तपाईँहरूले रियो हेर्दिनुहोस्, म त्यत्तिको विश्वासमा छु । त्यो घरबाट निस्किसकेपछि पनि मैले रियाजलाई पनि त्यही भन्थेँ ।’ 

उनले छोरा दुई वर्षको हुँदा रियाजको घर छोडेको बताइन् । उनले भनिन्, ‘मेरो विवाह बिग्रिसकेपछि, त्यो घर छोडेर जाँदा हाम्रो सम्बन्ध एकदम राम्रो थिएन, हामी एक–अर्कासँग बोल्न पनि सक्दैनथ्यौँ । हामी जहिले झगडा गर्दथ्यौँ । तर बाबु कोठामा हुँदैनथ्यो वा नजिक हुँदैनथ्यो । ऊ धेरै नै सानो थियो । छोरा दुई वर्षको हुँदा घर छोडेँ । मलाई धेरै गाह्रो भइसकेपछि म एक्लैले त्यो निर्णय लिएँ, मलाई मेरो परिवारको पनि समर्थन थिएन । अहिले उहाँहरूलाई ठिक छ । त्यो सपोर्ट सिस्टम लिन पनि मलाई अर्को तीन–चार वर्ष लाग्यो ।’

घर छोडेर जाँदा थुप्रै चुनौतीको सामना गरेको उनले बताइन् । ‘बच्चा लिएर म एक्लै घरबाट निस्किएको हुँ अञ्जना ठाउँमा आफ्नो ठाउँ बनाएँ । त्यो आफैँ पनि मेरा लागि चुनौती थियो । त्यति बेला कोभिड पनि भयो । मेरो मानसिक स्वास्थ्य झन् बिग्रिँदै गयो । मानसिक स्वास्थ्यको कुरामा के कुरामा मैले आफूलाई के भाग्यमानी ठान्छु भने ‘मेरो छोरा भएर म बाँचिरहेको छु जस्तो लाग्छ । ’ मैले के भन्न खोजेको, तिमीले बुझ्यौ । 

malvika5

उनले आफ्नो संवादलाई चेतावनीयुक्त भएको बताउँदै ‘जीवनमा त्यस्ता क्षण पनि थिएँ, जब म बाँच्न चाहँदैनथेँ । अब म एक्लै यस्तो गर्न सक्दिनँ भन्ने सोच पनि आउँथ्यो’ भनिन् । 

निजी जीवनमा यस्तो हलचल भइराख्दा आफूलाई भने कसैले पनि नबुझेको बताइन् । उनले भनिन्, ‘कसैले पनि मलाई बुझेनन् । मेरो परिवारले पनि बुझेन । धेरै साथीहरूले बुझेनन् । तर मिडिया व्यक्तित्व भएकोले सबैको अगाडि हाँस्नुपर्ने ‘स्वागत छ तपाईंहरुलाई शोमा’ भन्नुपर्ने । जिन्दगीको विडम्बना मैले त्यही बेलामा जीवनसाथी पनि गरिरहेको थिएँ ।’

घरबाट निस्किने आफ्नो ठुलो निर्णयमा आफूले काम गरेर जोगाएको पैसाले असाध्यै सहयोग गरेको पनि उनले बताइन् । ‘मैले जीवनमा केही गर्नु छ भनेर पैसा जोगाएर राखेको थिएँ । त्यसले मलाई निकै सहयोग गर्‍यो । म त्यति बेला जीवनको सबैभन्दा लो फेजमा पुगेको थिएँ । अवस्था त्यस्तो थियो कि जीवनमा कसैले पनि सहयोग गरिरहेको छैन । तीन चार जना साथीहरू मात्रै थिए । एक जनाले राइस कुकर किनेर ल्याइदियो (रुँदै भनिन् – भन्न पनि लाज लाग्छ छ्या) एक जनाले प्लेटहरू ल्याइदिए । मैले सेकेन्ड ह्यान्ड फर्निचर किन्नुपर्‍यो, किनभने म किन्न सक्ने अवस्थामा थिइनँ, ’ उनले भक्कानिएर रुँदै भनिन् ।  

त्यसपछि थपिन्, ‘विशेष सुविधा हुँदा पनि यस्तो भन्छ भनिरहनुभएको होला । मान्छे हेर्दा चाहिँ ‘टप’ तर त्यति बेला कस्तो कस्तो कुरामा सङ्घर्ष गर्नुपर्दथ्यो । मेरो छोरा कस्तो रुन्थ्यो । रियाजको घरबाट लिएर जाँदा । कहिलेकाहीँ जाममा पर्दा आधा घण्टासम्म पनि रोइरहेको हुन्थ्यो । मैले गलत गरेँ कि भन्ने सोच्थेँ । मैले के गरेँ जस्तो पनि लाग्थ्यो । मलाई एकदम गाह्रो भयो त्यो घरमा, रियाजसँग पनि सङ्घर्ष गरिरहेकी थिएँ । त्यसैले मैले आफूले आफैँलाई बुझाउँथे । राती बच्चा सुतिसकेपछि म सोच्थेँ र रुन्थेँ मेरो जीवन कस्तो हुनुपर्ने के भयो भनेर । ’

त्यसपछि उनले आँसु पुछ्दै भनिन्, ‘सरी मैले त्यही भएर यो विषयमा कुरा गर्न नचाहेको यही कारणले हो । ’

मान्छेले लेख्देला, केही भन्देला, थाहा पाउला भनेर आफू चार वर्षसम्म डरमा बसेको पनि बताइन् ।  

‘गत वर्षको विवादले गर्दा मैले मेरो निजी जीवनबारे सबैलाई भन्नुपर्‍यो । नभए म एकदम गोप्य खालको मान्छे । मैले मेरो निजी जीवनबारे कसैलाई पनि केही भनेकी थिइनँ । त्यो मेरो लागि असाध्यै गाह्रो कुरा थियो । ’

स्मरण रहोस्, सन् २०१४ मा भएको मिस ग्लोबल इन्टरनेशनल सौन्दर्य प्रतियोगिता सहभागी एक किशोरीले आफूमाथि जबर्जती करणी भएको बताएकी थिइन् । उनले यो मुद्दामा माल्भिका सुब्बालाई तानेकी थिइन् । माल्भिकाले सानो सहयोग नगर्दा आफूले दुःख पाएको भन्दै ती किशोरी उनीमाथि खनिएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप