मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

गृहमन्त्री श्रेष्ठसँग किन आक्रोशित छन् एमाले अध्यक्ष ओली ?

मङ्गलबार, ०९ साउन २०८०, १६ : ००
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । ‘क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री चाहिँ काँक्राको बियाँ अर्काको गालामा लगेर टाँस्छन् । यो अत्यन्तै अनैतिक र गैरजिम्मेवार क्रियाकलाप हो । गृहमन्त्री भएर त्यस्ता गैरजिम्मेवार कुरा गर्दै हिँड्ने ?’ एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो पटक गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि गरेको प्रश्न हो यो ।

सरकारले तस्करीको झण्डै एक क्विन्टल सुन बरामद गरेर अनुसन्धान गरिरहेका बेला सामान्य पार्टी कार्यकर्ताले जस्तै अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीमाथि नै प्रश्न गरेका हुन् ।

‘गृहमन्त्रीले बताउनुपर्‍यो उहाँको संलग्नता छ/छैन एक क्विन्टल सुन भन्सार पास भएको प्रकरणमा ? सानोतिनो संलग्नताबाट त भएको छैन होला यो ? उहाँको चाहिँ संलग्नता छ कि छैन ? छैन भने क–कसको संलग्नता छ, को छ यसमा ?’, सोमबार कम्बोडियाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै पूर्व प्रधानमन्त्री समेत रहेका ओली गृहमन्त्रीमाथि खनिएका हुन् । यसबारे गृहमन्त्रीसँग जवाफ नै माग्ने ओलीको भनाइ छ । सम्भवतः एमाले सांसदहरूले बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा गृहमन्त्री श्रेष्ठको भूमिका र तस्करीको सुनबारे जवाफ माग्नेछन् ।

साउन २ गते मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत हङकङबाट काठमाडौँ ल्याएको करिब एक क्विन्टल सुन विमानस्थलमा भन्सार जाँच  भएर बाहिरिइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । अहिलेसम्मकै ठुलो परिणामको सुन तस्करी भएको भनिएको यो प्रकरणको अनुसन्धान जरासम्मै पुगेर गर्ने भन्दै कुनै ‘टार’ वा ‘कोट’को भए पनि नछाड्ने गृहमन्त्री श्रेष्ठले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

गृहमन्त्री श्रेष्ठको यही अभिव्यक्तिलाई लिएर ओली उनीसँग आक्रोशित बन्दै निशाना साँध्न पुगेका हुन् । त्यतिमात्रै होइन ओलीले मन्त्री श्रेष्ठको उक्त अभिव्यक्ति ‘अनैतिक’ र ‘गैरजिम्मेवार’ भएको टिप्पणी समेत गरेका छन् । ओलीले यस्तो टिप्पणी गर्नुअघि गृहमन्त्री श्रेष्ठले सोमबार भ्रष्टाचार नियन्त्रण र सुन तस्करी प्रकरणबारे धनी र गरिब वा नेता र जनतालाई फरक–फरक कानुन नलाग्ने भन्दै आफू कानुन अनुसार अघि बढ्ने र दोषीलाई नछाड्ने निर्दोषलाई नफसाउने प्रतिबद्धता जनाएका थिए ।

‘धनीलाई एउटा, गरिबलाई अर्को, विपन्नलाई एउटा सम्पन्नलाई अर्को कानुन म मान्दिनँ । सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन, राजनीतिक नेताहरूलाई एउटा कानुन अनि राजनीतिमा नरहेकालाई अर्को कानुन हुनै सक्दैन । कानुन सबैका लागि समान हुन्छ,’ गृहमन्त्री श्रेष्ठ कठोर रूपमा प्रस्तुत भएका थिए ।

श्रेष्ठसँग किन आक्रोशित छन् ओली ?

गत आम निर्वाचनमा कुनै दलको बहुमत नआएपछि एमाले– माओवादी गठबन्धन बनाएर पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । प्रचण्डलाई कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सहकार्य गर्न राजी बनाउने भूमिका निर्वाहका लागि उनै नारायाणकाजी श्रेष्ठसहित नेता वर्षमान पुनले भूमिका खेलेका थिए । जानकार स्रोतका अनुसार त्यसबेला एमालेसहितको गठबन्धनको सरकारमा श्रेष्ठलाई गृहमन्त्री बनाउने सहमति पनि नेताहरुबीच भएको थियो । तर उक्त सहमतिविपरित ओलीले रास्वपा सभापति रवि लामिछानेलाई बढी नै च्यापेर गृहमन्त्री बनाएपछि नारायणकाजी भौतिक मन्त्रीमा सीमित बने । त्यही बेलादेखि ओली र श्रेष्ठबीचको सम्बन्धमा दरार पैदा हुन पुग्यो ।

रवि लामिछानेलाई गृहमन्त्री दिएर आफूलाई भौतिक मन्त्री बन्न बाध्य बनाइएका श्रेष्ठ वरीयतामा पनि अर्थमन्त्री रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलभन्दा पछि परेपछि असन्तुष्टि जनाउँदै केही दिन मन्त्रालय नै गएनन् ।

प्रकारान्तरमा श्रेष्ठको समेत प्रयासमा बनेको एमालेसहितको पुस १० को गठबन्धन टिकेन । बरु राष्ट्रपति निर्वाचनमा समीकरण बदलिएपछि एमाले सरकारबाटै बाहिरिन पुग्यो । कांग्रेससहितको सात दलीय गठबन्धन बनेपछि श्रेष्ठले आफू निकटस्थहरूसँग भनेका थिए– ‘ओली कहिल्यै सुध्रँदैनन्, सम्झाउन खोज्यो सम्झिँदैनन् ! खाली हेप्ने, पेल्ने । ठुलो अवसर गुम्यो ।’

एमालेपछि रास्वपा र राप्रपा समेत सरकारबाट बाहिरिएपछि नारायणकाजी श्रेष्ठ गृहमन्त्री बने । उनी गृहमन्त्री बनेसँगै ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणदेखि सय केजी तस्करीको सुन प्रकरणजस्ता ठुलठुला भ्रष्टाचारमाथि अनुसन्धान सुरु भए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री समेत रहेका एमाले नेता टोपबहादुर रायमाझीदेखि पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित बहालवाला नेपाल सरकारका सचिव पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा व्यवसायी मीन बहादुर गुरुङसहित दर्जन बढी पक्राउ परेका छन् । 

त्यतिमात्रै होइन पशुपतिको जलहरी प्रकरणमा पनि सरकारले छानबिनमा अग्रसरता देखायो । १०८ केजी सुनको जलहरी प्रकरणमा सुनको साटो पित्तलको जलप लगाएको भनेर आवाज उठेपछि पशुपतिबाट सुन निकालेर जाँच्ने काम समेत भयो । तत्कालीन नेकपाकालको सरकारमा ओली प्रधानमन्त्री भएका बेला पशुपतिमा सुनको जलहरी लगाइएको थियो ।

...अनि सुरु भयो ओलीको आक्रोश !

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव समेत रहेका नेता टोपबहादुर रायमाझीमाथि पक्राउ पुर्जी जारी गरेकोमा ओलीलाई चित्त बुझ्ने कुरै थिएन । पछि भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सघाउने बताए पनि सुरुवाती चरणमा ओली आफ्नो पार्टीका सांसद समेत रहेका रायमाझीको बचाउमा उत्रेका थिए । अदालतले पक्राउ पुर्जी जारी गरेर रायमाझीलाई प्रहरीले खोजेपनि उनी एकाएक गायब बनेका थिए । 

त्यसबेला ओलीले भनेका थिए –‘एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको ‘रहस्यपूर्ण छ’ ओलीले सरकार र गृहमन्त्रीमाथि आक्रोश पोख्दै भनेका थिए, ‘अहिलेको सिटिङ एमपी कहीँ भागेर जाने होइन ।’

असार तेस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक अभिव्यक्तिलाई लिएर एमालेले सदन अवरुद्ध गरेपछि त्यसबेला पनि ओलीले सिंगो सरकारसहित गृहमन्त्री श्रेष्ठलाई निशानामा पारेका थिए । श्रेष्ठले मिटर ब्याजीसम्बन्धी विधेयकलाई लिएर सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई लिएर एमालेले गृहमन्त्रीले माफी माग्नुपर्ने शर्त राख्दै अवरुद्ध संसद् चल्नै नदिने अडान राखेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप