बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल आउने बित्तिकै ओलीले उठाए गृहमन्त्रीमाथि प्रश्न

सुन तस्करको पूरा अनुसन्धान नभएसम्म छोड्दैनौँ : ओली
मङ्गलबार, ०९ साउन २०८०, ०९ : ५०
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार भएको उल्लेख गरे । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए । 

उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गरे । उनले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिए । उनले कसैले गृहमन्त्रीको जबाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रालय मुद्दा हाल्न जानु कति न्यायसङ्गत हुन्छ भन्दै प्रश्न गरे । 

एक सञ्चारमाध्यमले  सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति ओलीले आपत्ति जनाए  । उनले नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति आपत्ति जनाए । सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरू मोड्ने काम गरिरहेको बताए । 

उनले अनियमितता गर्नेहरूलाई अब छुट नहुने बताए । अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्याइकन एमालेले नछोड्ने बताए । उनले सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेहरूलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।

गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति सङ्केत गर्दै कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई अनुसन्धान गर्न पूर्ण अधिकार रहेको तर प्रमाण बिना गैरजिम्मेवारी अभिव्यक्ति दिँदै हिँड्न नहुने बताए । अध्यक्ष ओलीले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै आशङ्का  व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप