शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
संसद्‍मा अवरोध

संसद् खोल्न केपी ओलीको शर्त : प्रधानमन्त्रीको प्रेस सल्लाहकार हटाउनुपर्ने, श्रेष्ठले माफी माग्नुपर्ने !

तीन शीर्ष नेताको सहमतिमा कसरी भयो ‘गडबडी’ ?
आइतबार, २४ असार २०८०, १६ : १४
आइतबार, २४ असार २०८०

काठमाडौँ । अवरुद्ध सदन खुलाउनेबारे सिंहदरबारमा आइतबार भएको प्रमुख तीन दलका शीर्ष नेताबीचको सहमति एक घण्टा पनि टिकेन । आइतबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग गरेको छलफलमा एमालेले संसद्को अवरोध हटाउने र प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण दिने सहमति भएको थियो । 

सोही सहमति अनुसार आइतबार १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका थिए । तर सिंहदरबारमा करिब २ घण्टा भएको तीन शीर्ष नेताहरूको भेटवार्ता र छलफलको सहमतिबाट आधा घण्टा नबित्दै एमाले अध्यक्ष केपी शर्मा ओली ‘यूटर्न’ भएको माओवादी केन्द्रका नेताहरूको भनाइ छ । 

‘सिंहदरबारमा सहमति गरेर निस्केको आधा घण्टापछि ओलीले फोन गरेर ‘भएन’ है भन्नुभयो । भएन भनेपछि उहाँले संसद् अवरोध गर्ने नै देखियो, त्यसैले आइतबारको बैठक स्थगित भएको हो’, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रातोपाटीसँग भने । तर एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्डकै आग्रहमा आइतबारको बैठक सोमबारलाई सारेको दाबी गरे । ‘हामी त सहमतिअनुसार अघि बढ्न तयार थियौँ तर प्रधानमन्त्रीले नै सोमबारसम्म बैठक स्थगित गर्नु भनेर सभामुखलाई भन्नुभएछ’, प्रमुख सचेतक गिरीले रातोपाटीसँग भने । 

स्रोतका अनुसार सिंहदरबारबाट सहमति गरेर निस्केको आधा घण्टामै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई फोन गरेका थिए । ‘प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्रीका सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ट्वीटरमा लेखेको विषयमा अड्को थाप्नुभयो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने ‘यो त अति भयो ।’

प्रेस सल्लाहकार आचार्यले प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रेस विज्ञप्ति जारी गरेका थिए भने मन्त्री श्रेष्ठले मिटर ब्याज पीडितलाई राहत दिन ल्याएको अध्यादेश निष्क्रिय बनाउन एमालेले सदन अवरोध र प्रधानमन्त्रीको राजीनामा मागेको बताएका थिए । 

सोही विषयमा ओलीले आचार्यलाई हटाउन र श्रेष्ठलाई माफी मागे मात्रै सहमति कार्यान्वयन हुने अडान राखेका थिए । 

ओलीले अडान फेरेकै कारण आइतबार दिउँसो ३ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठक सोमबार ३ बस्ने गरी सरेको थियो । यसैबीच नेकपा एमालेका सचिव समेत रहेका योगेश भट्टराईले प्रतिनिधि सभा बैठक सारिएकोप्रति असहमति जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठक बस्दै नबसी सरेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत असन्तुष्टि जनाएका हुन् । 

उनले आफूहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ सुन्न संसद् भवन पुगेको भन्दै बैठक किन सारियो भनेर प्रश्न गरेका छन् । 

‘हामी त प्रधानमन्त्रीको जवाफ सुन्न संसद् भवन पुगेका मात्र थियौँ । प्रधानमन्त्रीकै अनुरोधमा आजको बैठक भोलि असार २५ गतेलाई सारिएको सूचना आयो । जवाफ तयार गर्नुअघि कतै सोध्नु पर्ने हो कि ? किन सारिएछ कोनि ?’, भट्टराईको प्रश्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप