शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा खानेपानीको हाहाकार : टोल टोलमा ट्याङ्करबाट पानी वितरण

बिहीबार, ११ साउन २०८०, २१ : ४९
बिहीबार, ११ साउन २०८०

वीरगञ्ज । खानेपानीको ठूलो समस्या भोग्दै आएका महानगरवासीलाई वीरगन्ज महानगरपालिकाले ट्याङ्करबाट टोलटोलमा पानी वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ । महानगरले ट्याङ्करबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्याङ्की नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो । 

महानगरले वडामा पानी वितरणका लागि समयतालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका प्रमुख राजेशमान सिंहले बताए । बिहान ५ः ०० देखि राति ८ः ०० बजेसम्म विभिन्न १९ वटा वडामा ट्याङ्करमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने महानगरप्रमुख सिंहको भनाइ छ ।

ट्याङ्करबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म सातवटा वडाको विभिन्न स्थानमा अस्थायी ट्याङ्की राखिएको महानगरपालिकाले जनाएको छ । यसका साथै खानेपानी संस्थानको पाइप लाइन विस्तार भएका ठाउँको सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ । 

खानेपानीको पाइप लाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिए । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगन्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । 

तत्कालै प्राकृतिकरूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्याङ्कीमार्फत अस्थायीरूपमा समस्या समाधानको प्रयास गरिरहेको छ ।

यता वीरगन्ज महानगरपालिकाभित्र खानेपानीको मुहान सुक्न थालेपछि नेपाल खानेपानी संस्थानबाट धारा जडान गराउने क्रम बढेको छ । चापाकललगायतका खानेपानीका मुहान सुक्न थालेपछि दैनिक ८०–९० जनासम्म खानेपानीको धारा लिन आउने गरेको नेपाल खानेपानी संस्थान वीरगन्जका प्रमुख ई नीरन महर्जनले जानकारी दिए ।

प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०–१२ घन्टा धारामा पानी पठाउँदै आएको छ । “पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले रुचि देखाएनन्”, प्रमुख ई महर्जन भन्नुहुन्छ, “तर अहिले चापाकललगायत खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढेको छ ।” धारा लिन आउनेलाई हामीले ग्राहक बनाएर धारा दिइरहेका छौँ”, उनको भनाइ छ ।

कुल एक लाख ४० हजार जनसङ्ख्या रहेको वीरगन्ज महानगरपालिकाभित्र खानेपानी संस्थानबाट आठ हजार एक सय ग्राहकले नियमित खानेपानीको उपभोग गर्दै आएका छन् । दैनिक ६०–६५ लाख लिटर खानेपानी उत्पादन गरी वीरगन्ज महानगर क्षेत्रभित्र वितरण गर्दै आएको खानेपानी संस्थानसँग २० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको प्रमुख ई महर्जन बताउँछन् ।

वीरगन्ज महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी महानगरका हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनासमेत अघि बढाएको उनको कथन छ । “हरेक वडामा सार्वजनिक धारा जडानका लागि महानगरपालिकासँग सम्झौता भएको छ”, प्रमुख महर्जनले भने, “यो सम्झौताअनुसार वडा–वडामा सार्वजनिक धारा जडानका लागि उपभोक्ता गठनलगायतको प्रक्रिया सुरु गरिसकेका छौँ । छिट्टै त्यो कार्य गर्छौँ र खानेपानी पुर्याउँछौँ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप