मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश सरकार

सत्ता गठबन्धनलाई कोशीमा साथ दिन राप्रपाले खोज्यो प्याकेजमा सहमति

आइतबार, १४ साउन २०८०, १३ : १५
आइतबार, १४ साउन २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई साथ दिन प्याकेजमा सहमति खोजेका छ । कोशी प्रदेशमा सरकार निर्माणको किङमेकरको भूमिकामा रहेको राप्रपाले प्याकेजमा सहमति नभए सत्ता गठबन्धनलाई कोशीमा मात्र साथ दिन नसक्ने बताएको हो । 

शनिबार साँझ कांग्रेस र माओवादीका नेताहरूसँगकाे संवादमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता सहकार्यमा जोडिनुपरे केन्द्रदेखि नै कुरा टुंगिनुपर्ने सर्त अगाडि सारेका छन् । बैठकमा सहभागी कांग्रेसका एक नेताले रातोपाटीलाई भने, ‘कोशी प्रदेशमा राप्रपाको समर्थन लिने कोसिस भइरहेको छ । हिजो साँझ राप्रपाका अध्यक्षजीसँग छलफल गर्‍यौँ । छलफल सकारात्मक नै रह्यो ।’ ती नेताका अनुसार अध्यक्ष लिङ्देनले केन्द्रदेखि राप्रपाको प्रतिनिधित्व भएका सबै प्रदेशमा गठबन्धनले सत्ता सहकार्यको वातावरण बनाए मात्र कोशी प्रदेशमा समर्थन गर्न सकिने बताएका थिए ।

राप्रपा अध्यक्ष लिङ्देनले पनि उक्त विषयमाथि छलफल भएको स्वीकार गरे । ‘अहिले धेरै प्रगति केही भएको छैन । हिजो साँझ सामान्य छलफल भएको छ । हामी संवादमै छौँ । छलफल विभिन्न आयाममा भएका छन्,’ लिङ्देनले रातोपाटीलाई भने, ‘लामो कुराकानी गर्दा केन्द्रदेखि प्रदेशसम्मै सहकार्यको कुरा आउने नै भयो । तर त्यो हाम्रो माग र एजेण्डाका रूपमा होइन । कोशी प्रदेशमा मात्र सत्ता सहकार्य गर्ने कुरा अस्वाभाविक देखिन्छ भन्ने कुरा भएको हो ।’ 

यद्यपि उनले पार्टी अहिले सैद्धान्तिक रूपमै सरकारका लागि इच्छुक नरहेको बताए । ‘कोशी प्रदेशमा कांग्रेस र एमालेले मिल्ने वा अरू विकल्प तय गरेर सरकार बनाए हुन्थ्यो भनेर हामीले भनिरहेका छौँ,’ लिङ्देनल भन्छन् ।

कांग्रेस र माओवादीका नेताहरू भने कोशी प्रदेशमा राप्रपाले समर्थन गरेपछि केन्द्रसम्मकै सत्ता सहकार्यको ढोका खुल्ने बताउँछन् । कांग्रेसका ती नेताले भने, ‘राजेन्द्रजीको कुरामा हामी सकारात्मक नै छौँ । अहिले कोशी सरकार बनाऔँ । केन्द्रसम्मको सत्ता सहकार्यबारे पनि कुरा अगाडि बढौँला भनेर हिजो कुराकानी भएको छ । उहाँले ठोस जवाफ दिनुभएको छैन ।’

कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपाको समर्थन खोज्ने प्रयास विश्वासको मत लिने दिनसम्म जारी रहने उनको भनाइ छ । सर्वोच्च अदालतको आदेशबाट बिहीबार उद्धव थापा मुख्यमन्त्रीबाट पदमुक्त भएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मंगलबारसम्म सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । गत असार १७ मा सभामुख बाबुराम गौतमको समेत समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ  । सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४६ सांसद मात्र छन् । यता एमालेका ४० र राप्रपाका ६ प्रदेश गरी विपक्षमा पनि ४६ सांसद मात्र छन् । राप्रपाले साथ सत्ता गठबन्धनलाई सरकार बनाउन सहज बहुमत पुग्छ । राप्रपाको समर्थन लिने प्रयास सफल भएन सरकार निर्माणको विकल्पमा सभामुखको राजीनामाबारे पनि गठबन्धनभित्र छलफल भइरहेको छ ।

गौतमले सभामुखबाट राजीनामा दिएपछि गठबन्धनलाई सरकार बनाउन मार्ग प्रशस्त हुने कांग्रेस नेताहरूको जोड छ । माओवादीले भने सभामुखले राजीनामा दिँदैमा समस्या समाधान नहुने तर्क गरेको छ । सभामुखको राजीनामापछि नियुक्त हुने गठबन्धन दलका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाउने प्रदेशसभा बैठकको अध्यक्षता कसले गर्ने भन्ने प्रश्न छ । एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्न नआउने गठबन्धनमा भय छ ।

सभामुखको राजीनामा र उपसभामुख अनुपस्थित भएको अवस्थामा यसअघि प्रदेशसभाले गठन गरेको ४ सदस्यीय अध्यक्षमण्डलका सदस्यमध्येबाट एक जनाले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने हुन्छ  । जसमा कांग्रेस प्रदेश सांसद इस्राइल मन्सुरी, माओवादीकी गीता तिम्सिना, राप्रपाका अम्बरबहादुर विष्ट र एमालेकी मालतीकुमारी लिम्बू छन् ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभा बैठकको अध्यक्षता अध्यक्षमण्डलका सदस्यमध्येबाट वर्णानुक्रम वा ज्येष्ठताका आधारमा गर्ने अभ्यास छ ।

नेताहरूका अनुसार अध्यक्षमण्डलमा रहेका राप्रपाका विष्ट र एमालेकी लिम्बू पनि अनुपस्थित भइदिए कांग्रेसका मन्सुरी र माओवादीका तिम्सिनामध्ये एक प्रदेश सांसदले बैठकको अध्यक्षता गर्नुको विकल्प छैन ।

त्यस्तो अवस्थामा सभापतिले राजीनामा दिएर बन्ने गठबन्धनको सरकार एक महिनामै ढल्ने छ । त्यसपछि प्रदेशसभाको पहिलो दल एमालेले संविधानको धारा १६८ को (३) अनुसार नयाँ सरकार बनाउने छ । गठबन्धनबाट एक सांसदको मत पाउन नसके एमाले सरकारले पनि एक महिनामै ढल्ने छ । गठबन्धनलाई राप्रपा र एमालेलाई जसपाले साथ नदिने अवस्था बने कोशी प्रदेश मध्यावधिमा जानुपर्ने अवस्था आउने देखिन्छ ।

कांग्रेस सांसद भीम पराजुली भने सरकारले विश्वासको मत लिने दिनसम्म राप्रपा गठबन्धनको पक्षमा उभिने बताउँछन् । उनले भने, ‘अहिले सभामुखले राजीनामा दिएपछि सरकार बनाउन सकिन्छ । त्यो एक महिनामा राप्रपालाई गठबन्धनको पक्षमा उभ्याउने समय हुन्छ । राप्रपा पनि मध्यावधिको पक्षमा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप