धितोपत्र बोर्डले अघि सारेको ‘हरित बण्ड’को कन्सेप्ट के हो ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हरित बन्डको अवधारणा अघि सारेको छ । दीगो आर्थिक विकासका लागि वातावरणीय तथा पर्यावरणीय सुरक्षा र प्रवर्द्धनका लागि लगानी गर्न सकिने गरी बोर्डले ग्रीन (हरित) बण्डको कन्सेप्ट अघि सारेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको बोर्डले हरित बण्ड लगायतका नवीन वित्तीय औजार निष्काशन गर्न सक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिने नीति अघि सारेको हो । यो नेपालका लागि नवीन कन्सेप्ट हो ।

हाल नेपालमा लगानीका अन्य क्षेत्रहरुमा बण्ड जारी गर्न सकिने कानुनी व्यवस्था भए पनि प्राकृतिक तथा वातावरणीय क्षेत्रमा काम गर्नेगरी लगानी गर्न सकिने कुनै व्यवस्था छैन । सोही अभावलाई ख्याल गर्दै नयाँ अवधारणा ल्याएको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले रातोपाटीलाई बताए ।
‘नेपालमा वातावरणीय तथा पर्यावरणीय क्षेत्रमा काम गर्न सकिने ठूलो सम्भावना छ । तर अहिलेसम्म पनि हामी यसतर्फ अग्रसर हुन सकेका छैनौँ । हाम्रो जस्तो प्राकृतिक स्रोत साधनले भरिपूर्ण मुलुकको पर्यावरणीय संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदाय समेत लगानी गर्न तयार छ । त्यसैले मुलुकको दीगो आर्थिक विकाससँगै पर्यावरणीय संरक्षणका लागि ग्रीन बण्डको अवधारणा अघि सारेका हौँ,’ हमालले भने ।
लामो गृहकार्य र गहन अध्ययनपछि मात्र धितोपत्र बोर्डले ग्रीन बण्डको अवधारणा अघि सारेको उनको दाबी छ । ‘विश्व बैंक र आईएफसी (इन्टरनेशनल फाइनान्स कर्पोरेसन) को हामीलाई दरिलो साथ र सहयोग छ । यी निकायहरुको पहलमै बोर्डले यो अवधारणा अघि सारेको हो । कानुनी तथा व्यावहारिक पक्षलाई सुधार गर्दै ग्रीन बण्डमा लगानीको वातावरण बनाइदिँदा आन्तरिकसँगै बाह्य लगानीले समेत अवसर पाउने देखिएकाले अघि बढेका हौँ,’ हमालले भने ।
केही समयदेखि ग्रीन बण्डको गृहकार्य थालनी गरेको बोर्डले आधिकारिकताका लागि अर्थ मन्त्रालयसँग स्वीकृति समेत माग गरेको छ । धितोपत्र बजार सुधारका लागि निर्देशिकामा समेट्नेगरी ४ महिनाअघि नै बोर्डले प्रस्तावित मस्यौदा मन्त्रालय पठाइसकेको अध्यक्ष हमालले जानकारी दिए ।
ग्रीन बण्ड नेपालका लागि नयाँ अवधारणा भए पनि विश्वका धेरै देशमा कार्यान्वयनमा छन् । बढ्दो जनसंख्या, औद्योगिकीकरणसँगै बढेको अव्यवस्थित सहरीकरण र प्रदुषणले पृथ्वीको आयु छोट्याउँदैछ । ग्लोबल वार्मिङ (जलवायु परिवर्तन) अहिले विश्वको साझा समस्या बनिरहेको छ । यस्तो समस्याका बाबजुद दीगो आर्थिक विकासका लागि पर्यावरणीय संरक्षणतर्फ लगानीको वातावरण बनाउनुपर्ने अध्यक्ष हमालको भनाइ छ ।
यस्तो क्षेत्रमा काम गर्न चाहनेहरुका लागि उचित वातावरण बनाइदिन ग्रीन बण्डको व्यवस्था गर्न लागिएको उनले बताए ।
हाल कतिपय युरोपियन मुलकहरु हरित बण्डमा लगानी गर्न सकिने व्यवस्था छ । छिमेकी मुलुक भारतले समेत छिट्टै हरित बण्डको व्यवस्था गर्दैछ । नेपालले पनि हरित बण्डको व्यवस्था गर्दै पर्यावरणीय संरक्षणका साथै लगानी र प्रतिफलको दीर्घकालीन सोच राखेर नयाँ अवधारणा ल्याएको उनले बताए ।
के हो हरित बण्ड ?
हरित बण्ड दीगो आर्थिक विकाससँगै वातावरणीय तथा पर्यावरणीय सुधार एवं संरक्षणका परियोजनाका लागि गरिने लगानी हो । यस्तो लगानीका लागि फण्डको व्यवस्था गर्न कम्पनीहरुले प्रोजेक्ट अघि सार्न सक्छन् । जसका लागि अन्य वित्तीय बण्ड जस्तै लगानीकर्ताहरुले लगानी गर्न सक्छन् ।
अध्यक्ष हमालले भने, ‘अन्य बण्डमा जस्तै लगानीकर्ताहरुले ग्रीन बण्डमा लगानी गर्न सक्छन् । प्रतिस्पर्धी बजारको मागका आधारमा बण्डको मूल्य घटबढ हुन्छ, कारोबार हुन्छ ।’
दीगो लगानीका र प्रतिफलका लागि ग्रीन बण्ड पनि उपयुक्त विकल्प बन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष हमालले बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण