आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वविद्यालय सुधारका लागि अनेरास्ववियुले अघि सार्‍यो ‘बोर्ड अफ ट्रष्टी’ को अवधारणा

मङ्गलबार, १६ साउन २०८०, १६ : ३०
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । विश्वविद्यालयको सुधारका लागि भन्दै अनेरास्ववियुले ‘बोर्ड अफ ट्रष्टी’ को अवधारणा अघि सारेको छ । अनेरास्ववियुले विश्वविद्यालयमा हुने राजनीतिक भागबण्डा अन्त्य गर्न ट्रष्ट मार्फत सञ्चालन गर्नुपर्ने अवधारणा अघि सारेको हो ।

यसअघि शिक्षाविद्हरूले समेत विश्वविद्यालयमा हुने राजनीतिको अन्त्य नहुँदासम्म सुधार नआउने र त्यसका लागि ट्रष्ट मार्फत सञ्चालन गरिनुपर्ने माग राख्दै आएका छन् । कुनै राजनीतिक दलको विद्यार्थी संगठनले समेत त्यही अवधारणा अनुसार अगाडि बढ्नुपर्ने बताएको हो ।

अनेरास्ववियुले स्ववियु निर्वाचनको बेला आफ्नो घोषणापत्रमा नै उक्त अवधारणा अघि सारेको थियो । उपकुलपति, रजिष्ट्रार लगायतका सम्पूर्ण पदाधिकारीहरू त्यही ट्रष्ट मार्फत स्वतन्त्र रूपमा नियुक्ति गरिनुपर्ने अनेरास्ववियुले माग गरेको हो ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले विश्वविद्यालयमा राजनीतिको अन्त्य गर्नका लागि पदाधिकारीहरूको नियुक्ति स्वतन्त्र निकायबाट हुनुपर्ने बताए ।

अनेरास्ववियुले उच्च शिक्षामा बोर्ड अफ ट्रष्टीको अवधारणाको बहस सुरु गरेर शैक्षिक सुधारको अगुवाइ गरेको उनको भनाई छ ।

‘अनेरास्ववियुले स्ववियु निर्वाचनको घोषणापत्र बनाउँदा यो कुरा समेटेको थियो । विशेषगरी नेपालको विश्वविद्यालयस्तरको शैक्षिक सुधारको राजनीतिक मुक्त क्षेत्रको रूपमा परिणत गर्नुपर्छ । गैर राजनीतिक व्यक्तिहरू प्रतिस्पर्धाको आधारमा छानिनुपर्छ भन्ने हो,’ उपाध्यक्ष घर्तीले भने ।

जुन सरकारमा जान्छ त्यो निकटको भिसी, त्यही आधारमा क्याम्पस प्रमुखसम्म चुन्ने गरिएको र जसले गर्दा शिक्षण संस्थाहरूमा व्यापक राजनीति चुलिएको उनको भनाई छ । शैक्षिक संस्थाभन्दा पनि राजनीतिक गर्ने थलोको रूपमा परिणत भइरहेको बोर्ड अफ ट्रष्टी अनुसार चल्नुपर्छ भन्ने धारणा रहेको उनले बताए ।

भिसी खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्नका लागि सूचना खोलिदियो भने जोसुकैले पनि प्रतिस्पर्धा गर्न पाउने र योग्य तथा स्वतन्त्र व्यक्तिले विश्वविद्यालय चलाउन पाउने बताए ।

अनेरास्ववियुले यसअघि शिक्षण संस्थाहरूमा तालाबन्दी नगर्ने घोषणा गरेको छ । शैक्षिक सुधारका लागि विद्यार्थी संगठनहरू नै सक्रिय हुनुपर्ने भन्दै अनेरास्ववियुले शिक्षण संस्थामा तालाबन्दी नगर्ने घोषणा गरिएको उपाध्यक्ष घर्तीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप