सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशको खडेरी निराकरण गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मुख्यमन्त्री यादव

शुक्रबार, १९ साउन २०८०, २१ : ०४
शुक्रबार, १९ साउन २०८०

जनकपुरधाम । मधेस प्रदेशमा देखिएको सुख्खाको समस्याबारे सरोकारवालाबीच छलफल भएको छ । 

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका प्रमुख जिल्ला अधिकारी, सिँचाइ, खानेपानी, कृषि मन्त्रालयका  पदाधिकारीहरूसँग प्रदेशको खडेरी एवं पिउने पानीको समस्या र समाधानबारे छलफल गरेका हुन् । 

छलफलमा प्रमुख जिल्ला अधिकारीहरूले यस पटक ५० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको र रोपाइँ भएका ठाउँमा समेत सुक्न लागेको भन्दै संघीय सरकारसँग   समन्वय गर्न सुझाव दिएका छन् ।  

प्रमुख जिल्ला अधिकारीहरूले चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन गर्न आवश्यक रहेको बताएका थिए । उनीहरुले हिउँदे बालीको लागि जोड दिनुपर्ने समेत सुझाव  दिए । 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) जनक भट्टराईले आफूहरु विपद्को तयारीमा जुटेपनि यसपटक सुख्खा र पिउने पानीको समस्या आएको बताए । उनले यसको निराकरण नगरेमा भयावह समस्या आउनसक्ने बताए ।  

ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका निमित्त सचिव अरुणलाल कर्णले सरदर २५ देखि ३० प्रतिशत ट्युबवेल सुकेको जानकारी दिए । उनले यसको निराकरणका लागि दीर्घकालीन तथा अल्पकालीन उपायहरूबारे जानकारी गराएका थिए ।  

ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले सुनकोसी कमला मरिन डाइभर्सन परियोजना  राम्रो विकल्प हुने बताए । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेलगायतको धारणा सुनिसकेपछि मुख्यमन्त्री यादवले  खडेरीको समस्या निराकरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप