शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पौडेलको मध्यमार्गी प्रस्ताव : सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौँ

शुक्रबार, २६ साउन २०८०, १७ : ५४
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न प्रस्ताव गरेका छन् । 

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने बताएका हुन् । उनले प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेको र सत्तापक्ष सरकारी संयन्त्रबाट गर्न छानबिन गर्ने पक्षमा रहेको उल्लेख गर्दै मध्यम बिन्दुको रुपमा संसदीय समितिबाट छानबिन गर्न सकिने बताएका हुन् । 

संसदीय समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउनसक्ने उनको भनाइ छ । उनले संसदीय समितिले प्राविधिक रुपमा सिआइबि लगायतका सरकारी संयन्त्रहरुलाई पनि प्रयोग गर्नसक्ने बताए । 

उनले भने, ‘संसदका सबै दलहरु मिलेर समिति बनाउनुपर्ने आवश्यकता हो भने संसदीय समिति नै सबै दल मिलेको समिति हो । त्यसैले त्यही समितिले छानबिन गर्नसक्छ । त्यसले प्रधानमन्त्रीलाई बयानका लागि पनि बोलाउन सक्छ । गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउन सक्छ । सिआइबिले प्रधानमन्त्री, गृहमन्त्रीलाई बयान लिने आँट गर्न सक्दैन । त्यसैले संसदको समितिले नै निगरानी गर्नेगरी, छानविनको प्रक्रियालाई अगाडी लानेगरी प्राविधिक रुपमा सिआइबि लगायत सरकारी संरचनालाई नै प्रयोग गरेर छानबिन गर्ने स्थिति बनाउन सकिन्छ ।’

उनले संसद सधैँ अवरुद्ध गरेर गाईजात्रा देखाइएको टिप्पणी गरे ।  संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप