मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

देउवाले दलको उपनेता र कार्यसमिति चयन गर्न किन सकेनन् ?

शुक्रबार, ०१ भदौ २०८०, १९ : ४९
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ ।  नेपाली कांग्रेसमा संसदीय दलको उपनेता र कार्यसमिति ९ महिनादेखि चयन हुन सकेको छैन । गत पुस ६ मा संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवाले उपनेता र कार्यसमिति चयनको विषयलाई प्राथमिकता दिन नसकेका हुन् ।

देउवाले संसदीय दलको प्रमुख सचेतक र सचेतक मनोनीत गरे पनि उपनेता चयनमा उदासिनता देखाएको देखिन्छ । प्रमुख सचेतकको जिम्मेवारी सांसद रमेश लेखक र सचेतकमा सुशीला थिङ छिन् ।

उपनेतामा उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई मनोनीत गर्ने तयारी थियो । तर, अहिलेसम्म देउवाले उपनेता तोकेका छैनन् ।

पार्टी सभापति तथा संसदीय दलका नेता देउवाले संसदीय कार्यसमिति बनाइ उपसभापति, महामन्त्री, प्रमुख सचेतक र सचेतक राखेर बैठक गरिरहेको अवस्था छ । कांग्रेसमा संसदीय कार्यसमिति ३१ सदस्यीय हुने व्यवस्था छ ।

कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रियसभा सदस्यको दलको नेताका साथै निर्वाचित, मनोनीत र पदेन सदस्य गरी ३१ जना रहने छन् । कार्यसमितिमा सात वटा प्रदेशबाट सात जना निर्वाचित हुने व्यवस्था छ ।

सम्बन्धित प्रदेशका सबै प्रतिनिधिसभा सदस्यको मतदानबाट एक जना निर्वाचित हुने व्यवस्था छ । जसमा प्रदेश १ बाट शेखर कोइराला, मधेस प्रदेशबाट रमेश रिजाल, बागमती प्रदेशबाट प्रकाशमान सिंह, गण्डकीबाट शशांक कोइराला, लुम्बिनी प्रदेशबाट किशोरसिंह राठौर, कर्णाली हृदयराम थानी, सुदूरपश्चिम प्रदेशबाट एनपी साउद चुनिने सम्भावना छ ।

कार्यसमितिमा कम्तीमा पाँच जना महिला अनिवार्य हुने गरी क्लस्टर अनुसार जम्मा  ११ जना चयन हुने व्यवस्था छ । कांग्रेसका एक पदाधिकारीका अनुसार सर्वसम्मत हुँदा महिलामा अम्बिका बस्नेत, नागिना यादव, सरस्वती बजिमय, कल्पना चौधरी, जावेदा खातुन जागाको सम्भावना बढी छ ।

बाँकी ६ जनामध्ये एक जना खस–आर्यमा अर्जुननरसिंह केसी, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, नारायण खड्काको दाबी छ । कांग्रेस स्रोतका अनुसार आदिवासी जनजातितर्फ धनराज गुरुङ, मधेसीतर्फ विमलेन्द्र निधि, दलितर्फत जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डेको सम्भावना उच्च छ ।

यस्तै संसदीय दलका नेताले पाँच सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ । कार्यसमितिमा एक तिहाइ महिला सदस्यको सुनिश्चिताका लागि मनोनीत सदस्यमा महिला सांसद प्राथमिकतामा पर्ने देखिन्छ ।

देउवाले मनोनीत गर्दा ईश्वरी न्यौपाने, सरिता प्रसाईँ, आरजु राणा देउवा र लीलादेवी वोखिम समेटिने सम्भावना छ । ३१ सदस्यीय कार्यसमितिमा पाँच जना निर्वाचित, चार मनोनीत र एक पदेन (सचेतक) सदस्य गरी महिलाको एक तिहाइ पु‍¥याउने तयारी छ ।

देउवाले मनोनीत गर्ने एक सदस्यमा पुरुष सांसद समेट्ने छन् । खस आर्यमा छुट्नेमध्ये एक जना मनोनीत हुने मौका पाउन सक्छन् । कार्यसमितिमा मुख्य सचेतक, सचेतक, सरकारमा रहेको अवस्थामा पार्टीको सदस्य भए संसदीय मामिला हेर्न मन्त्री र पार्टीका महामन्त्री पदेन सदस्य हुन्छन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पदेन सदस्य रहने छन् ।

उनीहरू निर्वाचित सांसद पनि हुन् । ३१ सदस्यमा कार्यसमितिमा १९ जना निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ । सात प्रदेशबाट सात र ११ जना संसदीय दलका सदस्यबाट निर्वाचित हुन्छन् ।

पदेन सदस्य संसदको सदस्य हुँदामात्र मत दिन पाउने व्यवस्था छ । महामन्त्री सांसद नहुँदा पनि पदेन सदस्य रहन्छन् । तर मत हाल्न पाउँदैनन् । कांग्रेसको विधान अनुसार संसद् सदस्य नभएको व्यक्तिलाई कार्यसमितिमा मतदान गर्ने अधिकार हुने छैन । 

३१ सदस्यीय परिकल्पना गरिएको कार्यसमितिमा अहिले ३१ जनाको कार्यसमिति हुनेछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका कांग्रेस उपसभापति धनराज गुरुङ पनि संसदीय दल कार्यसमितिमा पदेन सदस्य छन् । आफ्नो पार्टीबाट संसदीय मामिला हेर्ने मन्त्री कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था छ ।

कार्यसमितिको बैठक संसद् चलेको अवस्थामा प्रत्येक पन्ध्र दिनमा कम्तीमा एक पटक बैठक बस्नुपर्ने व्यवस्था छ । कार्यसमिति बन्न नसकेकाले संसदीय दलका नेता देउवाले पदेन सदस्यसहितको बैठक राखेर निर्णय गर्दै आएको अवस्था छ ।

देउवाले पदेन सदस्य राखेर सभामुखको उम्मेदवार चयन गरेका थिए । उपसभामुखमा पनि उनले त्यही अभ्यास दोहो‍¥याए । बैठकमा पदेन सदस्य नरहेका उपसभापति पूर्णबहादुर खड्काको समेत उपस्थिति हुने गरेको थियो ।

निर्वाचन गर्दा शेखर कोइराला–गगन थापा समूहबाट कुनै पनि प्रदेशबाट कार्यसमितिमा निर्वाचित हुने सम्भावना न्यून छ । सातै प्रदेशमा प्रत्यक्ष र समानुपातिकमा संस्थापन पक्षकै बाहुल्यता देखिन्छ ।

नेता शेखर कोइरालाले सहमतिबाटै संसदीय कार्यसमिति बनाउन देउवालाई सुझाएका छन् । सहमतिबाट कार्यसमितिमा खस–आर्यमा एक जना मनोनीत गर्न देउवामाथि चुनौती छ ।

पार्टीका सिनियर नेता तथा सांसदहरु अर्जुननरसिंह केसी, प्रकाशशरण महत, ज्ञानेन्द्र कार्की, डा.नारायण खड्कामध्ये कसलाई रोज्ने भन्ने द्विविधा रहेको नेताहरु बताउँछन् । संघीय संसदको प्रतिनिधिसभामा कांग्रेसका ८८ राष्ट्रियसभामा १० जना सांसद छन् । कांग्रेस सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भए पनि उनलाई संसदीय दलमा सहभागी हुन भने रोकावट छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप