प्ले–अफ चरणमा पुग्न हतारिएको गुजरात र अगाडि बढ्न संघर्षरत दिल्ली भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आइतबार दुईवटा खेल हुनेछन् । दोस्रो खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सको सामना गर्नेछ । खेल दिल्लीस्थित अरुण जेटली स्टेडियममा नेपाली समय अनुसार, १९ः४५ बजे सुरु हुनेछ ।
जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ६० औँ खेल हो । यो सिजन दिल्ली र गुजरात दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । अघिल्लो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको थियो ।
गुजरात र दिल्ली दुबै प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न सँघर्षरत छन् । दिल्लीको तुलनामा गुजरातको अगाडि बढ्ने सम्भावना बढी देखिन्छ । दिल्ली र गुजरात दुबै टोलीले आफ्नो १२औँ खेल खेल्न लागेका हुन् ।
दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, दिल्लीले हालसम्म उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।
दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो ।
गुजरात टाइटन्सले भने हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो ।
००
प्ले–अफ चरणमा पुग्न आतुर गुजरात
गुजरात टाइटन्सले जारी सिजनको आईपीएलमा निरन्तर अब्बल प्रदर्शन गर्दै आएको छ । हालसम्म ११ खेल खेलेको गुजरात १६ अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । गुजरातले आठ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ ।
अब एक खेलमा जित हात पारे गुजरातको प्ले–अफ चरणको यात्रा लगभग पक्का हुनेछ । गुजरातले जारी आईपीएलमा तीन खेल खेल्न बाँकी छ । अब गुजरातले दिल्लीका अतिरिक्त लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्ससँग खेल्न बाँकी छ ।
त्यसमध्ये चेन्नई उपाधि होडबाट बाहिरिइसकेको टोली हो । लखनउको प्रदर्शन पनि सन्तोषजनक देखिएको छैन । त्यसैले गुजरात जारी सिजनको आईपीएको प्ले–अफ चरणमा पुग्ने सम्भावना बलियो देखिएको छ ।
००
आश मरेको छैन दिल्लीको
जारी सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सको प्रदर्शन भने मिश्रित देखिएको छ । दिल्लीको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ । तर, यसका लागि दिल्ली क्यापिटल्सले निकै ठुलो सँघर्ष गर्नुपर्ने स्थित देखिन्छ ।
हालसम्म ११ खेल खेलेको दिल्ली १३ अंकसहित तालिकाको पाँचौँ स्थानमा आसिन छ । दिल्लीले ६ खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ ।
दिल्लीको एक खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको छ । दिल्लीले अब तीन खेल खेल्न बाँकी छ । दिल्लीले अब गुजरातका अतिरिक्त मुम्बई इन्डियन्स र पञ्जाब किङ्ससँग खेल्नेछ । तर, मुम्बई र पञ्जाबको पनि प्ले–अफ चरणमा पुग्ने सम्भावना कायमै छ ।
दिल्लीका लागि खेल्न बाँकी तीनवटै प्रतिद्वन्द्वी निकै बलिया छन् । त्यसैले दिल्लीसँग प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न कम्तिमा दुई खेल जित्नुको विकल्प छैन । दिल्लीले दुई खेल जितेरमात्र पनि पुग्दैन । त्यसपछि पनि दिल्लीले अगाडि बढ्न अन्य टोलीको नतिजामा भर पर्नुपर्ने देखिन्छ । तीनवटै खेलमा विजयी भएमा भने दिल्लीको प्ले–अफ चरण यात्रा सहज बन्नेछ ।
००
हेड टु हेडमा उस्तै अवस्था
आईपीएलको इतिहासमा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच हालसम्म ६ खेल खेलिएको छ । तथ्याङ्कले दुबै टोलीको अवस्था उस्तै देखाउँछ । दिल्लीले तीन खेलमा गुजरातलाई हराएको छ । गुजरातले पनि तीन खेलमा दिल्लीलाई पराजित गरेको छ ।
दिल्लीस्थित अरुण जेटली स्टेडियममा हालसम्म यी दुई टोलीबिच दुईपटक भिडन्त भएको छ । त्यसमा पनि यी दुबै टोलीले एक–एक खेलमा एक–अर्कालाई पराजयको स्वाद चखाएका छन् । त्यसैले पनि आइतबारको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
००
दिल्लीको सर्वाधिक रन केएल राहुलको नाममा
जारी सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । विकेटकिपर ब्याट्समयन केएल राहुलले हालसम्म १० खेलमा कुल तीन सय ८१ रन बनाएका छन् ।
यस क्रममा उनले तीनवटा अर्धशतक बनाएका छन् । उनले बनाएको उच्च स्कोर भने अविजित ९३ रन हो । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर मिचेल स्टार्क हुन् । उनले ११ खेलमा १४ विकेट लिएका छन् । तर, स्टार्क स्वदेश फर्किसकेका छन् ।
त्यसैले उनले आईपीएलको बाँकी खेल खेल्ने छैनन् । दिल्लीका लागि दोस्रो सर्वाधिक विकेट लिने बलर भने कुलदीप यादव हुन् । उनले दिल्लीका लागि हालसम्म ११ खेल खेल्दै १२ विकेट लिएका छन् ।
००
लयमा छन् गुजरातका प्रसिद्ध र साई
आईपीएलको जारी सिजनमा गुजरात टाइटन्सका प्रसिद्ध कृष्णा र साई सुदर्शन लयमा छन् । प्रसिद्धले बलिङ र साईले ब्याटिङमा अब्बल प्रदर्शन गर्दै आएका छन् । जारी सिजनको आईपीएलमा सर्वाधिक विकेट लिने बलरको सूचिमा प्रसिद्ध पहिलो स्थानमा आसिन छन् ।
तीव्रगतिका बलर प्रसिद्धले ११ खेलमा २० विकेट लिइसकेका छन् । अर्कोतिर, साई सुदर्शन यो सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा आसिन छन् । उनले ११ खेलमा पाँच सय नौ रन बनाएका छन् । उनले पाँच अर्धशतक पनि बनाएका छन् ।
यसैगरी, गुजरातका लागि शुभमन गिलले पनि ११ खेलमा कुल पाँच सय आठ रन बनाएका छन् । यस क्रममा उनले पाँचवटा अर्धशतक प्रहार गरेका छन् । गुजरातका लागि तेस्रो सर्वाधिक रन बनाउने खेलाडी जस बटलर हुन् । उनले ११ खेलमा पाँच सय रन बनाएका छन् ।
००
सधैं ब्याट्सम्यानलाई साथ दिने पिच
दिल्लीस्थित अरुण जेटली स्टेडियमको पिचले सधैं ब्याट्सम्यानलाई साथ दिँदै आएको छ । त्यसैले यो स्टेडियममा औसतमा दुई सयको हाराहारी रन बन्ने गरेको छ । पछिल्ला केही खेलको अवस्थालाई हेर्दा पहिले ब्याटिङ गर्ने टोलीले बढी खेल जितेको देखिन्छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९३ खेल खेलिएको छ । त्यसमध्ये ४५ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ४७ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
एक खेल भने अनिर्णित रुपमा सकिएको छ । यो स्टेडियममा बनेको सबैभन्दा ठुलो स्कोर सात विकेट गुमाएर दुई सय ६६ रन हो । यो स्कोर अघिल्लो सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले दिल्लीविरुद्ध बनाएको थियो ।
००
वर्षाले खेल बिथोल्ने सम्भावना कम
दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबिच खेल हुने दिन आइतबार दिल्लीमा वर्षाको सम्भावना अत्यन्तै कम रहेको बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार दिल्लीमा वर्षाको सम्भावना केवल एक प्रतिशत रहेको छ । तापक्रम ३० देखि ४२ डिग्री सेल्सियको बिचमा रहने अनुमान गरिएको छ ।
००
सम्भावित टोली
दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), फाफ डु प्लेसिस, अभिषेक पोरेल, केएल राहुल (विकेटकिपर), समिर रिजवी, ट्रिस्टन स्टब्स, माधव तिवारी, दुष्मथा चामिरा, कुलदीप यादव, टी. नटराजन, मुस्तफिजुर रहमान र आशुतोष शर्मा ।
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), साई सुदर्शन, जस बटलर (विकेटकिपर), शाहरुख खान, अरसद खान, राहुल तेवातिया, साई किशोर, राशिद खान, मोहम्मद सिराज, जेराल्ड कोएट्जी, प्रसिद्ध कृष्णा र शेरफन रदरफोर्ड ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह