आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
विद्युत् आयात

किन बढ्यो बिजुलीको आयात ?

आयात बढ्दा विद्युत् प्राधिकरणको नाफा खुम्चियो
शनिबार, ०२ भदौ २०८०, १७ : २९
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । नेपालबाट बिक्री भएको बिजुलीभन्दा भारतबाट धेरै आयात हुँदा विद्युत् प्राधिकरणको नाफामा व्यापक गिरावट आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणको नाफामा १ अर्ब ४ करोड रुपैयाँको गिरावट आएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन, गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपैयाँमा सीमित बनेको हो । यो प्राधिकरणको नाफामा अघिल्लो वर्षको तुलनामा ७.७६ प्रतिशतको गिरावट हो । 

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालबाट बिक्री भएको बिजुलीको तुलनामा भारतबाट धेरै आयात हुँदा नाफामा ७ प्रतिशतको गिरावट आएको बताए । आर्थिक वर्ष २०७९/८० मा नेपालबाट भारततर्फ १ अर्ब ३४ करोड युनिट बिजुली निर्यात भएको थियो ।

सोही अवधिमा नेपालतर्फ भारतबाट १ अर्ब ८३ करोड युनिट बिजुली आयात गरिएको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । यो निर्यातको तुलनामा ४९ करोड युनिट धेरै हो । गत वर्ष भारतबाट हुने बिजुली आयातमा १८.७९ प्रतिशतको वृद्धि भएको थियो । भारतबाट हुने आयातको परिमाण बढ्दा प्राधिकरणको नाफा अर्ब रुपैयाँभन्दा बढीले खुम्चिएको घिसिङ स्विकार्छन् ।

यस्तै, पूर्व प्रबन्ध निर्देशक मुकेश काफ्ले भारतबाट बिजुली आयातको दर बढ्दा प्राधिकरणको नाफामा गिरावट आएको बताउँछन् । माइक्रोब्लगिङ सञ्जाल एक्समार्फत उनले भारतबाट बिजुली आयात ह्वात्तै बढेको बताएका हुन् । यस्तै, प्राधिकरणको प्रक्षेपित नाफामा उच्च गिरावट आएको र विद्युत् चुहावटबाट हुने नोक्सानी समेत बढेको उल्लेख गरेका छन् । यसबाट प्राधिकरणको सबै सूचकाङ्कहरू ओरालोतर्फ लागेको काफ्लेको भनाई छ । यद्यपि, प्राधिकरणको रिपोर्टले विद्युत् चुहावटको सूचकाङ्क भने झनै सुध्रिएको देखाएको छ ।

किन बढ्यो आयात ?

२०७९ साल चैतमा रातोपाटीसँगको अन्तरवार्तामा प्रबन्ध निर्देशक घिसिङले नेपालले भारतबाट किन्ने बिजुलीभन्दा बेच्ने बिजुली धेरै हुने बताएका थिए । त्यसक्रममा उनले भनेका थिए, ‘चालू वर्षदेखि भारतसँगको बिजुली व्यापारमा नेपाल नाफामा जाँदै छ ।’ नेपालमा बिजुली उत्पादनको स्थिति र भारतसँग बिजुली बेच्ने सम्झौता हेर्दा घिसिङ गरेको प्रक्षेपण मेल खाने स्थितिमा नै देखिन्थ्यो । तर, घिसिङको प्रक्षेपणभन्दा बाहिर गएर निर्यातको तुलनामा आयात धेरै भयो ।

र यही विषयलाई प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणको नाफा घट्नुको मुख्य कारण देखायो । खास गरी, विद्युत् प्राधिकरणले एउटा आर्थिक वर्षमा दुई पटक भारततर्फ बिजुली बेच्छ । भारतमा बिजुली बेच्न साउनदेखि असोज–कात्तिकसम्म पहिलो चरण र जेठदेखि असार मसान्त अर्को चरण हुन्छ । यसबाहेकको समयमा नेपालले नै भारतबाट बिजुली किन्नुपर्छ । नेपालमा जलाशययुक्त आयोजना नहुँदा र नदी प्रवाहमा आधारित आयोजना भएकाले सुख्खायाममा बिजुलीमा भारतकै भर पर्नुपर्छ ।

गत आर्थिक वर्ष अत्यधिक खडेरी पर्दा र हिउँ नपर्दा नदीनाला सुकेर सुख्खायाममा प्राधिकरणले गरेको प्रक्षेपणभन्दा न्यून बिजुली उत्पादन भएको घिसिङ बताउँछन् । तत्कालीन समयमा प्राधिकरणमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘यस वर्ष धेरै नै खडेरी पर्‍यो । फलस्वरुपः नदीनाला सुके र हिउँ समेत परेन ।’ कात्तिकसम्म आन्तरिक उत्पादनले धान्ने र पुस, माघ, फागुन र चैत भारतबाट बिजुली किन्नुपर्ने प्राधिकरणको आङ्कलन हुन्छ । वैशाखदेखि आयात घट्दै आन्तरिक उत्पादन बढ्ने प्राधिकरणको प्रक्षेपण हुन्छ । तर, यसपटक जेठसम्म पानी नपर्दा उत्पादन घटेपछि भारतबाट धेरै बिजुली ल्याउनुपरेको प्राधिकरण बताउँछ । जसलाई, गत आर्थिक वर्षको नाफा खुम्चिनुको मुख्य कारण बताइएको छ ।

घट्यो विद्युत् चुहावट

यस्तै, गत आर्थिक वर्षमा प्राधिकरणले विद्युत् चुहावटलाई घटाएको छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा विद्युत् चुहावट १३.४६ प्रतिशत रहेको देखाएको छ । जुन, आर्थिक वर्ष २०७८/७९ भन्दा ३.९२ प्रतिशतले घटेको हो । उक्त अवधिमा विद्युत् चुहावट दर १७.३८ प्रतिशत कायम थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप