म्याग्दीमा बाढीबाट करिब एक अर्बको क्षति
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा आएको बाढीले पुर्याएको क्षतिको विवरण १० दिनपछि आज सार्वजनिक गरिएको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षा निकाय, प्रशासन र रेडक्रसको सहयोगमा सङ्कलन गरेको विवरणअनुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्याएको जनाएको छ । भौतिक संरचना, स्थानीयवासी, भाडामा व्यवसाय गरी बस्ने व्यक्ति, मजदुर, कार्यालय र सङ्घ/संस्थाको समूहमा क्षतिको विवरण तयार पारिएको गाउँपालिका अध्यक्ष रिनजिन गुरुङले जानकारी दिए ।
“नगद, सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख २५ हजार बराबरको क्षति भएको छ”, उनले भने, “सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत १४ वटा भौतिक पूर्वाधारतर्फ रु २१ करोड दुई लाख बराबरको क्षति भएको छ ।”
उक्त क्षतिमध्ये व्यक्तिका ५० घरमा रु ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको गाउँपालिकाले जनाएको छ । बाइस वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक रुपमा क्षति भएको छ । नौ वटा गोठमा पूर्ण र १५ वटा गोठमा आंशिक क्षति हुँदा २४ वटा गाई र एक वटा घोडा मरेका छन् ।
उन्नाइस वटा दुई पाङ्ग्रे र तीन वटा चार पाङ्ग्रे सवारीसाधन क्षति भएको छ । उन्नाइस जना भाडामा बस्ने सर्वसाधारण तथा व्यवसायीको रु तीन करोड नौ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । बाह्र वटा सरकारी तथा सामुदायिक संरचनामा रु चार करोड ८० लाख ६० हजार क्षति भएको गाउँपालिकाले जनाएको छ ।
अठार जना कृषकको ४५ रोपनीभन्दा बढी जग्गा बाढीले पुरेको छ । दुई सय ७४ स्याउका बोट बाढीले नष्ट गरेको छ । साउन २८ गते साँझ ८ बजे कागखोलाको सहायक तिरिखोला थुनिएर आएको बाढी कागबेनीको बस्तीमा पसेको थियो । कागबेनीमा रहेका नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु बैंकको शाखा रहेको घरमा बाढी पन्छाउने क्रममा सुरक्षाकर्मीलाई आइतबार लकरमा राखेको रु एक करोड ६५ लाख सुरक्षित भेटाएर सम्बन्धित बैंकलाई बुझाएका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।
माथिल्लो क्षेत्रका बासिन्दाले सूचना दिएपछि भागेर ज्यान बचाएका कागबेनीका बासिन्दाले ठूलो भौतिक क्षति ब्यहोर्नुपरेको छ । कागबेनीको बस्तीभित्र पसेको बाढी पन्छाउने, उपल्लो मुस्ताङ जोड्ने सडक मर्मत, खानेपानी, विद्युत् आपूर्तिलगायत काममा जनप्रतिनिधि, स्थानीयवासी र सरकारी निकाय जुटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको पहल सकारात्मक : महेश बस्नेत
-
रास्वपा कञ्चनपुरमा विष्ट
-
रौतहटमा ‘हिट एन्ड रन’ : साइकल यात्रीको मृत्यु, पहिचान खुल्न बाँकी
-
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण