आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इन्दु बर्माको उत्कृष्ट प्रदर्शनमा मलेसियामा नेपाली महिला क्रिकेट टोलीको लगातार दोस्रो जित

बुधबार, ०६ भदौ २०८०, १५ : ०६
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । इन्दु बर्माको उत्कृष्ट प्रदर्शनसँगै नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । आफ्नो दोस्रो खेलमा बुधवार नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा मङ्गलवार हङ्कङलाई ६ विकेटले हराएको थियो । 

टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ८९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कुवेतले निर्धारित ओभरमा आठ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो । नेपालको जितमा इन्दुले उत्कृष्ट प्रदर्शन गरिन् । ब्याटिङतर्फ सर्वाधिक रन बनाएकी इन्दुले बलिङतर्फ पनि तीन विकेट लिइन् । 
नेपाली टोलीको ब्याटिङ अत्यन्तै निराशाजनक देखियो । टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै नेपालले आफ्नो पाँच प्रभावशाली विकेट गुमाइसकेको थियो । नेपालका तीनजना खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । दुई खेलाडी त शून्य रनमै पेभेलियन फर्किएका थिए ।

छैटौँ नम्बरमा ब्याटिङ गर्न आएकी इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् । उनले केवल १९ बलको सामना गरी दुई चौका पनि हिर्काइन् । ओपनर बिन्दु रावलले ४५ बलको सामना गरी २० रन जोडिन् । नवौँ नम्बरमा क्रिज समाल्न आएकी काजल श्रेष्ठले १८ बलमा एक चौकाको मद्दतले अविजित १९ रन थपिन् ।

ओपनर पूजा महतो शून्य रनमै पेभेलियन फर्किएकी थिइन् । उनले मङ्गलवार हङ्कङविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीबाट प्रतियोगितामा ‘डेब्यू’ गरेकी हुन् । ‘डेब्यू’ खेलमा पूजाले १८ बलको सामना गरी १६ रन बनाएकी थिइन् । 

पूजा आउट हुँदा नेपालले खातासम्म खोलेको थिएन । सम्झना खड्का दोस्रो विकेटका रूपमा पेभेलियन फर्किएकी थिइन् । त्यतिबेला नेपालको स्कोर केवल ६ रन थियो । तेस्रो विकेटका रूपमा अनुभवी खेलाडी सीता रानामगर १२ बलमा सात रन बनाउँदै आउट भइन् । उनी आउट हुँदा नेपालको कुल स्कोर ३३ रन थियो ।

यसैगरी चौथो विकेटका रूपमा बिन्दु रावल पेभेलियन फर्किइन् । उनी आउट हुँदा नेपालले ३६ रन बनाएको थियो । पाँचौँ विकेटका रूपमा कप्तान रुविना क्षेत्री ११ बलमा पाँच रन बनाउँदै आउट भएकी थिइन् । उनी आउट हुँदा नेपालको कुल स्कोर ४५ रन थियो ।  यसैगरी छैटौँ विकेटका रूपमा कविता जोशी आउट हुँदा नेपालको स्कोर ५६ रन थियो । उनले पाँच बलको सामना गरी दुई रन बटुलेकी थिइन् । सातौँ विकेटका रूपमा कविता कुँवर शून्य रनमै पेभेलियन फर्किएकी थिइन् । उनी आउट हुँदा नेपालले ५६ रन बनाएको थियो । 

आठौँ विकेटका रूपमा इन्दु बर्मा आउट हुँदा नेपालले ७९ रन बनाएको थियो । खुसी डंगोलले तीन बलमा अविजित एक रन बनाइन् । राष्ट्रिय टोलीबाट यो उनको ‘डेब्यू’ खेल हो । नेपालले अतिरिक्त रूपमा ११ रन पाएको थियो । कुवेतका बलर मारियमा हैदरले चार र मारयम ओमरले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको कुवेतलाई सस्तोमा समेटन इन्दुले चार ओभरमा १० रन खर्चिएर तीन विकेट लिएकी हुन् । खुसी डंगोलले पनि दुई विकेट हात पारिन् । उनले आफ्नो ‘डेब्यू’ खेलमा चार ओभर बलिङ गर्दै दुई मेडन राखेर नौ रन खर्चिइन् । 

यसैगरी इश्वरी विष्ट, सीता रानामगर र कविता कुँवरले पनि एक—एक विकेट लिए । कुवेतका लागि ओपनर जिफा जिलानीले सर्वाधिक ११ रन बनाइन् । खादिजा खलिलले १० रन जोडिन् । अन्य खेलाडीले दोहोरो सँख्यामा रन बटुल्न सकेनन् । कुवेतले अतिरिक्त रूपमा सात रन पाएको थियो ।   

यो शृङ्खला सकिएपछि नेपालले थाइल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप