आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गिरीबन्धु टीस्ट‍ेट जग्गा प्रकरणमा पनि छानबिन हुनुपर्छ : रामहरि खतिवडा

बुधबार, ०६ भदौ २०८०, १८ : १५
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरीबन्धु टीस्टेटको जग्गा प्रकरणमा छानबिन हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खतिवडाले ललिता निवास जग्गा प्रकरणभन्दा ठूलो जग्गा हिनामिनाको काण्ड पनि चर्चामा आएको बताए । 

गिरीबन्धुको १५७ बिघा जग्गामा व्यक्तिले स्वार्थ साँधेर हिनामिना गरेको उनको आरोप छ । ‘नेपालमा ललिता निवासभन्दा बढी खतरनाक गिरीबन्धु टीस्टेट जग्गा प्रकरणमा चर्चामा आएको छ । यो ललिता निवासजस्तो थोरै जग्गाको कुरा होइन, यो त गिरीबन्धु टीस्टेटको ५०० बिघा क्षेत्रको जग्गाको कुरा हो,’ उनले भने ।

यति धेरै सरकारी जग्गा कौडीको भाउमा दिएर देशको सम्पत्ति ब्रम्हलुट गर्ने काम भएको उनले बताए । यसको विषयमा सरकार चनाखो भएर छानबिन गर्नु आवश्यक रहेको खतिवडाले बताए । उनले २०२९ सालमै ५०० बिघा कायम भएको जग्गा अहिले सरकारले सूचना निकालेर ३४२ बिघामात्रै कायम गर्नुले प्रश्न उब्जिएको बताए । ‘५०० बिघा जग्गा २०२९ सालमै गिरिबन्धु टीस्टेटको नाममा कायम भएको थियो । सो जग्गालाई सट्टा भर्ना गर्ने नाममा २०७८ सालमा सरकारी सम्पत्तिको दुरुपयोग भएको छ,’ उनले भने ।

उनले अगाडि भने, ‘गिरीबन्धुको ५०० बिघा जग्गामध्ये अहिले ३४२ बिघामात्रै बाँकी छ । त्यहाँको १५७ बिघामा व्यक्तिले लाभ लिने गरी आर्थिक कारोबार भएको छ । यसको छानबिन हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप