शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रमाको दक्षिणी ध्रुवमा के छ ? त्यहाँ जान शक्तिशाली देशबीच चल्दै छ होडबाजी

शुक्रबार, ०८ भदौ २०८०, १३ : ०४
शुक्रबार, ०८ भदौ २०८०

बुधबार साँझ  भारतको चन्द्रयान–३ को ‘विक्रम ल्यान्डर’ले चन्द्रमाको दक्षिणी ध्रुवमा ‘सफ्ट ल्यान्डिङ’ गर्‍यो । योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा सफल ‘सफ्ट ल्यान्डिङ’ गर्ने पहिलो राष्ट्र र चन्द्रमाको सतहमा सकुशल पुग्ने रुस, अमेरिका र चीनपछिको चौथो राष्ट्र समेत भारत बनेको छ । भारतलाई टक्कर दिँदै छोटो बाटोबाट रुसले अगस्ट १० मा ‘लुना–२५’लाई चन्द्रमामा पठाएको थियो, जो यही अगस्ट १९ का दिन चन्द्रमाको सतहमा अवतरण गर्दै गर्दा सम्पर्क टुटेर दुर्घटनाग्रस्त हुन पुगेको थियो । 

यता, विक्रम ल्यान्डरको अवतरण भएको केही घन्टापछि ‘प्रज्ञान रोभर’ बाहिर निस्कियो, जसको पाङ्ग्रामा इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)को लोगो र भारतको प्रतीक चिह्न बनाइएको छ, यो रोभर चन्द्रमाको सतहमा गुडेसँगै यसले बनाएको इसरोको लोगो र प्रतीक चिह्न हजारौँ वर्षसम्म चन्द्रमाको सतहमा रहनेछ । 

कम खर्च, स्वदेशी ज्ञान र जनशक्तिमा उच्च स्तरीय मिसनहरू सञ्चालन गरी ऐतिहासिक सफलता हासिल गर्ने इसरो सफल भएको छ । इसरोले २०२३ जुलाई १४ मा आफ्नो ऐतिहासिक चन्द्र अभियानअन्तर्गत चन्द्रयान–३ लाई अन्तरिक्ष यान एलभिएम–३ बाट सफलतापूर्वक अन्तरिक्षमा पठाएको थियो, जुन ४१ दिनपश्चात् चन्द्रमाको सतहमा पुग्यो ।

यसअघि पनि भारतले सन् २००८ मा चन्द्रयान–१ लाई दक्षिणी ध्रुवमा ‘क्र्यास ल्यान्डिङ’ गराएको थियो, जसबाट प्राप्त डाटाका आधारमा चन्द्रमाको सतहमुनि पानी जमेको अवस्था हुन सक्ने प्रमाण भेटिएको थियो । सोही नतिजाको आधारमा चन्द्रयान–२ लाई २०१९ जुलाई २२ मा सफल प्रक्षेपण गरिएको थियो । यसलाई चन्द्रमाको दक्षिणी ध्रुवमा पहिलोपटक सफ्ट ल्यान्डिङ गराउने क्रममा सफ्टवेयरमा आएको सानो खराबीले पृथ्वीसँग सञ्चार सम्बन्ध टुट्न गई चन्द्रमाको सतहमा दुर्घटना हुन पुगेको थियो । उक्त असफलताबाट सिक्दै, प्रविधिमा थप सुधार र खर्चमा अझ किफायती बनाउँदै चन्द्रयान–३ को प्रक्षेपण गरिएको थियो ।

यस मिसनबाट अन्तरिक्षमा रहेका अन्य ग्रह–उपग्रहमा जीवन भए वा नभएको खोज गर्नेछ, साथै विक्रम ल्यान्डरले चन्द्रमाको सतहमुनि जाने साना भूकम्पहरूको मापन गर्नेछ, जसबाट चन्द्रमाको भित्री सतहको बारेमा नयाँ जानकारी उपलब्ध हुनेछ । त्यस्तै चन्द्रमाको सतहको तापक्रम, सतहमुनि जमेर रहेको पानीको अवस्थाको खोज गर्नेछ भने प्रज्ञान रोभर (२६ केजी) ले चन्द्रमाको सतहमा भएको चट्टान तथा माटोको अध्ययन गर्नेछ । यसबाट ती चट्टान तथा माटोको केमिकल कम्पोजिसन (रासायनिक मिश्रण वा समिश्रण) थाहा हुनेछ । यस मिसनमा नासाले बनाएको एक लेजर रिफ्लेक्टोमिटर अर्थात् एक प्रकारको ऐना पनि चन्द्रमाको सतहमा हुनेछ, जसले पृथ्वी र चन्द्रबीचको दूरी मापन गर्न सहयोग गर्नेछ ।

यता, अमेरिका, चीन, क्यानडा लगायत अन्य देशले पनि चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान पठाउनका लागि पूर्वतयारी सुरु गरिसकेका छन् । यसबाट के देखिन्छ भने, दोस्रो विश्वयुद्धपछि सुरु भएको र शितयुध्दको अन्त्यसँगै शिथिल हुन पुगेको अन्तरिक्षको दौड पुनः सुरु भएको छ । तर, यसको मुख्य फरक के छ भने यस दौडमा अब अमेरिका र रुस मात्र छैनन्, चीन, भारत, युएई, युरोपियन स्पेस एजेन्सी, लक्जरम्बर्ग, क्यानडा, फिनल्यान्ड, इजरायल, जापान, दक्षिण कोरियाजस्ता देश पनि थपिएका छन् ।

सन् २०२२ मा अमेरिकाले आर्टिमिस–१ लाई चन्द्रमाको कक्षमा परिक्रमा गराएको थियो, जसको मुख्य उद्देश्य भनेको चन्द्रमाको सतहको मिहीन अध्ययन गर्नु र आगामी दिनमा सञ्चालन हुने मिसनहरूलाई सहयोग पु¥याउनु हो, जस अन्तर्गत सन् २०२५ मा आर्टिमिस–२ ले अन्तरिक्ष यात्रीलाई पुनः चन्द्रमाको सतहमा पु¥याउनेछ । आर्टिमिस–३ मिसनले केही अन्तरिक्ष यात्रीलाई यसको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराउनेछ । यति मात्र होइन, अमेरिका लगायत अन्य देश र केही प्राइभेट संस्थाले पनि चन्द्रमाको सहतमा विभिन्न रोभर तथा उपकरण पठाउने, विभिन्न प्रयोगहरू गर्ने तथा पृथ्वी र चन्द्रमाबीचमा सामान आदान–प्रदान गर्ने प्ले–लोड भेकलहरूको निर्माण गर्नेछ ।

आजसम्म सफलतापूर्वक सञ्चालन भएका ‘मुन मिसन’हरू विशेष गरी चन्द्रमाको एउटै सतहमा भएको छ, जुन हामी पृथ्वीबाट देख्ने गर्छौं । हामीलाई थाहा भएकै कुरा हो, पृथ्वीबाट सधैँ चन्द्रमाको एउटै भाग मात्र देखिन्छ, जहाँ सूर्यको प्रकाश पर्ने गर्दछ । 

पृथ्वीबाट देखिने चन्द्रमाको सतहमा अन्तरिक्ष यानहरूलाई सकुशल अवतरण गराउन सहज मानिन्छ, किनकि यहाँबाट पृथ्वीसँग सीधा सम्पर्क गर्न सकिन्छ र यसको सतहमा खाल्डाखुल्डी साना र थोरै भएकाले यसको सतहमा विभिन्न प्रयोगहरू गर्न पनि सहज हुने गर्छ । मुख्य कुरा त यहाँ प्रयोग हुने उपकरणले सूर्यको प्रकाशलाई ऊर्जाको रूपमा प्रयोग गर्ने हुँदा यसको आयु पनि लामो हुन्छ । यसको ठीक उल्टो अवस्था चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको छ, चन्द्रमाको दक्षिणी भू–भागमा हजारौँ वर्षसम्म सूर्यको किरण परेको छैन र पृथ्वीबाट पनि सीधा सम्पर्क गर्न सकिँदैन, त्यस्तो ठाउँमा जान किन विभिन्न देशको होडबाजी चलिरहेको छ त ?

चन्द्रमाको दक्षिणी ध्रुवमा के छ ?

चन्द्रमाको दक्षिणी ध्रुव यति खास हुनुको मुख्य कारण हो, त्यहाँ भएका गहिरा खाडल (क्रेटर)हरू । ती खाडल एकदमै चिसा छन् र त्यसको सतहमुनि रहेको ठोस पानी, हाइड्रोजन ग्यास र अन्य बहुमूल्य खनिजहरू आगामी अन्तरिक्ष मिसनका लागि वरदान साबित हुनेछ । चन्द्रमाको उक्त सतहमा जमेर बसेको पानी तथा हाइड्रोजन ग्यासको अध्ययनबाट हाम्रो सौर्यमण्डल निर्माणको सुरुवाती चरणमा भएका महत्त्वपूर्ण घटनाहरूको जानकारी पाउन सकिनेछ । 

यसअघि सञ्चालन भएका विभिन्न मिसनहरू, जस्तै : चन्द्रयान–१ बाट चन्द्रमाको दक्षिणी ध्रुवमा करिब १५ प्रतिशत पानी हुन सक्ने तथ्य सार्वजनिक भइसकेको छ । हालै प्रक्षेपण गरिएको लुना २५ र चन्द्रयान–३ ले यसको विस्तृत अध्ययन गर्नेछ । आगामी दिनमा चन्द्रमामा पुग्ने अन्तरिक्ष यात्रीले त्यहाँँ रहेको पानी र अक्सिजनको मुख्य स्रोत प्रयोग गर्ने छन् । पानीको अणुलाई हाइड्रोजन र अक्सिजनमा टुक्र्याएर हाइड्रोजनलाई इन्धनका रूपमा र अक्सिजनलाई श्वास–प्रश्वासमा प्रयोग गरिनेछ । यसो हुन सक्यो भने अहिले हरेकपल्ट अन्तरिक्षमा जाँदा वा ‘इन्टरनेसनल स्पेस स्टेसन’मा रहँदा आवश्यक पर्ने कुरा पृथ्वीबाटै लैजाने गरिन्छ, जुन निकै खर्चिलो हुने गर्छ । चन्द्रमामा रहेको पानी र अक्सिजन उपलब्ध गराउन सकियो भने हाम्रा अन्तरिक्ष यानले लामो दूरीमा किफायती यात्रा तय गर्न सक्नेछन् । 

यसको अर्को फाइदा भनेको दूर अन्तरिक्षबाट आउने विभिन्न फ्रिक्वेनसीका तरङ्गहरूलाई सजिलै रेकर्ड गर्न सकिनेछ, जसले आजसम्म ब्रह्माण्डका बारेमा पत्ता लगाउन नसकिका थप रहस्यको उद्घाटन गर्नेछ ।

पृथ्वीबाट विपरीत दिशामा अवतरण गरेको उक्त चन्द्रयान–३ ले दुई चरणमा काम गर्नेछ । सुरुवाती चरणमा यसलाई विक्रम ल्यान्डरको मद्दतबाट चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गराइएको हो । त्यसभित्र रहेको प्रज्ञान रोभरले करिब १४ दिन अर्थात् एक ‘लुनार डे’सम्म उक्त सतहमा रहेर विभिन्न खोजकार्य गर्नेछ । 

यो ल्यान्डर तथा रोभर चन्द्रयान–२ मा प्रयोग गरिएकै ल्यान्डर र रोभरको विकसित रूप हो । पृथ्वीबाट विपरीत दिशामा रहेकाले यसले पृथ्वीसँग सिधा सम्पर्क भने स्थापित गर्न सक्ने छैन । त्यसका लागि चन्द्रयान–२ मिसनमा प्रयोग गरिएको अर्बाइटरलाई नै पुनः प्रयोग गरिएको छ, किनभने यो अहिले पनि चन्द्रमालाई परिक्रमा गरिरहेको छ र चन्द्रमाको सतहको निरन्तर अध्ययन गरिरहेको छ ।

फेरि किन सुरु भयो अन्तरिक्ष दौड ?

दोस्रो विश्वयुद्धपश्चात् दुई फरक राजनीतिक ध्रुवका शक्तिशाली राष्ट्रहरूबीच सुरु भएको शीतयुद्धले अन्ततः विज्ञान, प्रविधि तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा नयाँ खोज, अध्ययन तथा अनुसन्धानमा अतुलनीय योगदान पु¥याएको थियो । सोही दौडको फलस्वरूप मानिसले धर्तीमा मात्र नभई अन्तरिक्षमा पनि आफ्नो प्रभुत्व जनाउन सकेको थियो । 

अहिले विश्वभरि नै पृथ्वीभन्दा बाहिर रहेका ग्रह, उपग्रह तथा उल्का पिण्डहरूमा रहेको बहुमूल्य खनिज पदार्थहरूको उत्खनन गर्ने हेतुले नयाँ–नयाँ उपकरण र रोभरहरूको विकास भइरहेको छ । अब त्यो दिन धेरै पर छैन, जब अन्तरिक्षबाट उत्खनन (स्पेस माइनिङ) गरेर ल्याइएका खनिज पदार्थ पृथ्वीमा सहज रूपमा उपलब्ध हुनेछ । केही वर्षपहिले नै वैज्ञानिकले अरूण तथा बरूण (युरानस र नेप्टुन) मा हिराको वर्षा हुनसक्ने कुरा पत्ता लगाएका थिए । 

आगामी दिनमा चन्द्रमाको सतहलाई बेस (आधार शिविर )बनाएर अन्य मिसनहरू सञ्चालन हुनेछन् र मानिसलाई अन्तरिक्षसम्म पु¥याउने तथा अन्य ग्रह–उपग्रहमा बस्ती बसाउने अभियानमा चन्द्रयान–३ को सफलता एक कोसेढुङ्गा साबित हुनेछ ।

(लेखक देवकोटा भूगर्भशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा स्नातकोत्तर गर्दै छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप देवकोटा
प्रदीप देवकोटा
लेखकबाट थप