मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

धरानमा निषेधाज्ञा जारी

शुक्रबार, ०८ भदौ २०८०, १६ : ४०
शुक्रबार, ०८ भदौ २०८०

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गर्दै सूचना जारी गरेकी हुन् ।

‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशिलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभ, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, उक्त सूचनामा उल्लेख छ । 

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं. बाट बराहक्षेत्र नपा वडा नं. ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं.२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं. ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहरूमा डेंगु रोगको संक्रमण व्यापकरुपमा फैलिई १६,००० जना भन्दा बढि व्यक्तिहरु सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण पनि गराएको छ ।

‘धरान उपमहानगरपालिकाका २० वटा वडामा मात्रै १५,००० जना व्यक्तिमा संक्रमण फैलिएको अवस्था छ । मिति २०५०।०४।२६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समिति, सुनसरीको बैठकले धरान उपमहानगरपालिकालाई डेंगु संक्रमण नियन्त्रणमा नआउन्जेलसम्मलाई जनस्वास्थ्य आपतकालीन् अवस्था (Public Health Emergency) क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको छ,’ उक्त सूचनामा उल्लेख छ ।

यसैबीच धरान उपमहानगरपालिकाले सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । नगर प्रमुख हर्क साम्पाङले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् ।

‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बीचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकाले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु,’ साम्पाङले जारी गरेको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप