मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जोसेफिन : बाल्यकालमा फोहोरमा खाना खोज्थिन्, यसरी बनिन् सर्वाधिक धनी अश्वेत महिला

शनिबार, ०९ भदौ २०८०, १२ : ३८
शनिबार, ०९ भदौ २०८०

स्टेजमा सबैभन्दा ऊर्जावान् कलाकार बारे कुरा गर्नुपर्दा जोसेफिन बेकरको नाम शीर्ष स्थानमा आउँछ । जोसेफिन आफ्नो जमानाको सर्वाधिक धनी अश्वेत महिला थिइन् । यति धनी कि उनले आफ्नो बङ्गलामा चितुवा पालेकी थिइन्, जसलाई उनले हिरा जडित पट्टाले बाँध्ने गर्थिन् । उनले आफ्नो घरपालुवा चितुवासँग स्टेजमा आफ्नो प्रस्तुति दिन्थिन् । उनी मञ्चमा जति बेलासम्म बस्थिन्, चितुवा पनि सँगै बसिरहन्थ्यो । 

अमेरिकामा जन्मेकी बेकरले आफ्नो देशमा पहिचान त परको कुरा बराबरीको दर्जासमेत पाइन् । तर फ्रान्समा उनले यति धेरै प्रेम पाइन् कि उनी आज पनि त्यहाँकी सबैभन्दा मन पराइएकी कलाकारमा समावेश छिन् । जोसेफिनको त्यो समयमा जन्म भयो जब श्वेतहरू अश्वेतलाई हेर्न समेत पनि चाहँदैनथे । गम्भीर गरिबीमा जन्मेकी जोसेफिन एक नाजायज सन्तान थिइन् । सडक छेउको भत्किएको घरमा कहिले भिख मागेर, कहिले बाटोमा फ्याँकिएको खानेकुरा टिपेर पेट भर्थिन् ।

समयले कोल्टे फेर्‍यो, जोसेफिनको गायन कौशलले उनलाई स्टार बनायो । अमेरिकामा उनलाई मार्ने प्रयास हुँदा उनी फ्रान्स गइन् । उनले दोस्रो विश्वयुद्धमा फ्रान्सका लागि जासुसी पनि गरिन् । रङ्गभेदको सिकार भएकी बेकरले सधैँ यसविरुद्ध आवाज उठाइन् । उनले विभिन्न देशका १२ बालबालिकालाई छोराछोरीको रूपमा स्वीकार गरिन् । यिनीहरू सबैका धर्म, रङ र संस्कृति फरक थिए । उनले यसो गरेर धर्म, रङ्ग र संस्कृतिमा भिन्नता भए पनि मानिस दाजुभाइ र दिदीबहिनी जस्तै मिलेर बस्न सक्छन् भन्ने प्रमाणित गर्न चाहन्थिन् ।

आज हामी विश्वको पहिलो अश्वेत नायिका र स्टार जोसेफिन बेकरको कथा पढौँ । 

josephine1गरिबी, अपमान र विवाह

नाजायज सन्तान थिइन्, सडकमा जन्मिइन्  

अमेरिकामा रङ्गभेद यस्तो थियो कि अफ्रिकी–अमेरिकी अश्वेतलाई सडकमा गोराहरूले खुल्ला रूपमा मारिरहेका थिए । अमेरिकामा रहेका केही अश्वेतहरू पनि उत्पीडित थिए । यो समयमा नै ३ जून १९०६ को सेन्ट लुइस, अमेरिकामा जोसेफिन बेकर (फ्रेडा जोसफिन म्याकडोनल) को जन्म २१२ टार्जी स्ट्रिटमा भयो । 

आमा एक अनाथ थिइन् उनलाई अफ्रिकी दासहरूले पालेका थिए । जोसेफिन नाजायज थिइन्, त्यसैले उनलाई आफ्ना पिताबारे कुनै जानकारी भएन । बायोग्राफी जोसफिन : द हंग्री हार्टमा दाबी गरिए अनुसार जोसेफिनका बुवा एक धनाढ्य श्वेत अमेरिकी थिए, जोसँग कुनै बेला उनकी आमाको सम्बन्ध थियो । 

josephine2घर सडकको छेउमा थियो, बाटोबाट खाना टिपेर खान्थिन्

गरिबी यतिसम्म थियो कि सडक किनारामा नै केही टुटे–फुटेका सामानले जोसेफिनको परिवारले आफ्नो आश्रय स्थल बनाएको थियो । परिवारका सबै सदस्य सडकमा घुमेर भिख माग्थे र फोहोरको थुप्रोबाट उठाएर खाना खान्थे । केही दिनपछि आमाले धनी परिवारमा लुगा धुने काम पाइन् र केही पैसाको जोहो हुन थाल्यो ।

काम गर्दागर्दै आमाले आर्थर मार्टिनसँग विवाह गरिन् । दोस्रो विवाहबाट आमाबाट १ छोरा र २ छोरी जन्मिए । नयाँ परिवार सुरु हुने बित्तिकै जोसेफिनबाट आमाको ध्यान हटेको थियो । ८ वर्षको हुँदा उनकी आमाले उनलाई कुनै घरमा कामदारको रूपमा राखिदिइन् ।

josephine3मालिक्नीले गाली गरिन्, गल्ती हुँदा हात पोलिदिइन्

जोसेफिन श्वेतहरूको घरमा काम गर्थिन्, जहाँ उनले लगभग हरेक दिन मालिक्नीको गाली खान्थिन् । ८ वर्षकी जोसेफिनले एकपटक कपडामा बढी डिटर्जेन्ट (सर्फ) लाग्दा मालिक्नीले उनको हात पोलिदिइन् । यो भयानक माहौलमा पनि जोसेफिनले काम गरिरहिन् किनभने गरिबी असाध्यै धेरै थियो ।

एक दिन जोसेफिन घरमा काम गरिरहेकी थिइन्, अचानक मानिसको चिच्याहट सुनिन् । हेर्दा धेरै गोराहरूले अश्वेतहरूलाई निर्ममतापूर्वक कुटिरहेको देखे । सडकमा अश्वेतहरूको शव देखेर ११ वर्षकी जोसेफिन आत्तिइन् । भीडले उनलाई पनि कुट्न आइरहेको देखेर उनी आफ्नो ज्यान जोगाउन दौडिइन् । लुकी लुकी उनी आफ्नी आमा भए ठाउँ पुगिन् ।

१३ वर्षको उमेरमा पहिलो विवाह, केही महिनामै तोडियो

पैसाको आवश्यकता थियो त्यसैले जोसेफिन एउटा क्लबमा वेट्रेस बनिन् । त्यहाँ उनको भेट विली वेल्ससँग भयो । यी दुईले विवाह गरे तर उनी एक परफर्मर ग्रुप जोन्स फ्यामिली नामको ब्यान्डसँग जोडिएपछि उनका श्रीमानले उनलाई छोडिदिए ।

उनले आफ्नो ब्यान्डसँग लगातार प्रस्तुति दिन थालिन् । यो त्यो समय थियो जब अश्वेतहरूलाई हँसाउनका लागि मात्रै नाटकमा राखिन्थ्यो । जोसेफिनले पनि यो कुरा बुझिसकेकी थिइन्, त्यसैले उनी पूरा ऊर्जाका लागि मानिसहरूलाई आफ्नो रमाइलो व्यवहारले असाध्यै हँसाउँथिन् । उनको काम मन पराइयो र उनले लगातार काम पाउन थालिन् ।

josephine4क्षमता, रङ्गभेद र सफलता

१५ वर्षको उमेरमा दोस्रो बिहे, गीत गाउन तोडिन् विवाह

१५ वर्षको उमेरमा जोसेफिनले विलियम हावर्ड ब्याकरसँग विवाह गरेकी थिइन् । जोसेफिन र उनकी आमाको सम्बन्ध कहिल्यै राम्रो भएन । जोसेफिनले सडकमा आफ्नो प्रस्तुति दिन थालेपछि आमाले उनीसँग कुरा गर्न नै छोडिदिइन् । छोरीले गीत गाउन छोडेर आफ्नो वैवाहिक जीवनमा ध्यान देओस् भन्ने आमाको चाहना थियो । 

सन् १९२५ मा १९ वर्षको उमेरमा उनले आफ्नो समूहसँग न्युयोर्कमा प्रस्तुति दिने मौका पाइन् । उनी यो नयाँ अवसरमा औधी खुसी थिइन् । तर आमा बीचमा आइन् । गीत गाउन छोडेर परिवारलाई ध्यान देऊ भनेर सम्झाइन्, श्रीमानको पनि यस्तै चाहना थियो । यस्तो सन् १९२५ मा नै जोसेफिनले विलियमसँग सम्बन्धविच्छेद गरिन् र आफ्नो पूरा समय प्रस्तुति दिनमा खर्च गरिन् । तर जोसेफिन अमेरिका गएपछि लगातार रङ्गभेदका कारण उनको शोषण गर्न थालियो । कार्यक्रमको बीचमा उनको अपमान गरिन्थ्यो भने कतिले भद्दा प्रतिक्रिया पनि दिन्थे ।

जोसेफिन १९ वर्षको उमेरमा एक कार्यक्रममा भाग लिन फ्रान्स पुगिन् र त्यहाँबाट कहिल्यै फर्किइनन् । उनले आफ्नो अमेरिकी नागरिकता त्यागिन् र फ्रान्सेली उद्योगपति जिन लियोनसँग विवाहपश्चात् उनी फ्रान्सेली नागरिक बनिन् । 

josephine5सफलताको उत्कर्षमा हुँदा जोसेफिनलाई पेरिसका सडकमा उनको घरपालुवा चितुवा चिकिटासँग हिँडिरहेको देख्न सकिन्थ्यो । दुबैलाइ हिरा र मोतीले सुसज्जित अवस्थामा । आफ्नो जीवनकालमा चार पुरुषसँग विवाह गरेपनि जोसेफिन बाइसेक्सुअल थिइन् । उनको गायिका क्लारा स्मिथसहित केही महिलासँग पनि सम्बन्ध रह्यो । कलाकार मडे रसेलले एकपटक जोसेफिनसँग स्टेज साटेकी थिइन् । रसेलले पछि भनेकी थिइन्, ‘केटीहरूलाई कोमलता चाहिएको थियो, त्यसैले हामीबीच गर्ल फ्रेन्डसिप थियो, चर्चित लेडी लभर्स... अहिले यसलाई नाम दिनुपर्‍यो भने सायद हामी बाइसेक्सुअल थियौँ ।’

जोसेफिन बिकिनी लगाएर कामुक नृत्य गर्ने र मोसन पिक्चर साइरेन अफ द ट्रपिक्समा फिचर गरिएकी पहिलो अश्वेत महिला भनेर परिचित भएपछि उनको अर्को भिन्न पहिचान पनि थियो । जासुसको । उनले दोस्रो विश्वयुद्धमा फ्रान्सका लागि जासुस गरेकी थिइन् । 

युरोपमा हुँदा जोसेफिनको भेट फ्रेन्च काउन्टर मिलिटरी इन्टेलिजेन्समा प्रमुख ज्याक अब्टेसँग भयो । उनले नाजी कब्जा विरुद्ध प्रतिरोध प्रयासमा मद्दत गर्न जासुसहरू भर्ती गर्ने गर्दथे । जोसेफिन त्यसका लागि उत्तम उम्मेदवार थिइन् । उनको सेलिब्रेटी स्टेटसले उनलाई देशहरू बीच सजिलै यताउति गर्न अनुमति दिन्थ्यो र उनलाई बढी सुरक्षा प्रदान गरिन्थ्यो । 

josephine6जोसेफिन आत्मविश्वासी थिइन् । शक्तिशाली पुरुषहरु उनको आकर्षण अगाडि नतमस्तक हुन्थे । लामो समयसम्म, कसैले पनि उनको जासुसीको शङ्का गरेनन् ।

उनले आफ्नो हात र पाखुरामा गोप्य कुरा लेख्थिन् । भित्री वस्त्रमा कागजातहरू तस्करी गर्थिन्, आफ्नो म्युजिक सिटमा अदृश्य मसीले लेख्थिन् । 

जोसेफिन निरन्तर खतरामा बसिन् । कति पटक पक्राउ पर्नबाट पनि जोगिइन् । एकपटक अचानक नाजी उनको घरमा अनुसन्धानका लागि आइपुगेका थिए । यद्यपि, उनले सजिलै उनीहरूलाई झुक्काउन सफल भइन् । त्यति बेला प्रतिरोधका धेरै सदस्य उनको घरको भुँइतलामा बसेका थिए । त्यति बेला उनी पक्राउ परेको भए उनी कन्सन्ट्रेसन क्याम्प वा सोभन्दा भयानक क्याम्पमा कैद हुनु पर्दथ्यो । 

त्यति बेला उनी विश्वकै सबैभन्दा धेरै फोटो खिचिने महिला थिइन् । उनले गोप्य कागजातहरू आफ्नो दराजमा सेफ्टी पिन लगाएर राख्ने गरेको ‘एजेन्ट जोसेफिन : अमेरिकन ब्युटी, फ्रेन्च हिरो, ब्रिटिस स्पाई’ मा लेखक ड्यामिन लेविसले लेखेका छन् । 

josephine7फ्रान्सको इतिहासमा जोसेफिन बेकर सर्वाधिक सफल अफ्रिकी अमेरिकी प्रस्तोता बनिन् । 

केही वर्षको विश्रामपछि ७० को दशकमा उनी गायन क्षेत्रमा फर्किइन् तर एउटा प्रस्तुति दिएको चार दिनपछि उनलाई आफ्नो खबर भएका पत्रिकाबीच बेहोस अवस्थामा भेटियो । उनलाई सेरेब्रल हेमोरेज भएको थियो ।  कोमा गएको केही दिनपछि १२ अप्रिल १९७५ मा ६८ वर्षको उमेरमा उनको निधन भयो । 

उनी पहिलो अश्वेत अमेरिकी महिला थिइन् जसको अन्तिम संस्कार ‘फ्रेन्च मिलिटरी अनर’ सहित गरियो । उनको सम्मानमा पेरिसका थुप्रै सडकको नाम उनीमाथि नै राखिएका छन् । उनको बङ्गलालाई अहिले म्युजियम बनाइएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप