शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा छिटो पारित गराउन दबाब सृजना गरौँ : थपलिया

सोमबार, ११ भदौ २०८०, १५ : २३
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताएका छन् । 

आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुनेगरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको उनले बताएका हुन् । 

सोमवार निर्वाचन आयोगले काठमाडौँमा गरेको छलफलमा  थपलियाले सो विधेयकको मस्यौदामाथि आम बहसको विषय बनाउनका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । 

आयोगको ध्येय सो कानुन निर्माण गरी २०८४ सालको निर्वाचनलाई कसरी राम्रो निर्वाचन गर्न सकिन्छ ? भन्नेतर्फ केन्द्रित रहेकाले त्यसमा आयोगलाई सञ्चारकर्मीहरुले पनि सहयोग गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई थियो । उनले निर्वाचन व्यवस्थापनसम्बन्धी सो कानुनको मस्यौदा सरकारले छिट्टै संसदमा पेस गर्ने विश्वास व्यक्त गर्दै सो मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने जिकिर समेत गरे ।

मस्यौदामा भोट हाल्दिन भन्ने नागरिकको अधिकारलाई पनि सुनिश्चित हुनेगरी मतपत्रमै भोट हाल्दिन भन्ने संकेतसहितको चुनाव चिन्ह पनि समावेश गर्ने प्रस्ताव गरिएको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनले ५० प्रतिशतभन्दा बढी मतदाताले कुनै उम्मेदवारलाई मत हाल्दिन भन्ने चिन्हमा मत हाले उसको उम्मेदवारी स्वतः रद्द हुने व्यवस्था पनि सो मस्यौदामा उल्लेख गरिएको र त्यो प्रावधान निर्वाचन सुधारका लागि कोशेढुंगो साबित हुने दाबी गरे ।

सो विधेयकको मस्यौदामा विदेशमा रहेका नेपालीहरुले पनि सम्बन्धित देशको कूटनीतिक नियोग वा राजदुतावासमार्फत मतदान गर्न पाउने, उपनिर्वाचनहरु जिल्ला निर्वाचन कार्यालयको नेतृत्वमा सम्पन्न गर्नेलगायतका प्रावधान पनि राखिएको निर्वाचन आयोगले जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप