शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी राष्ट्रपति पुटिनले किन भारत नआउने निर्णय गरे ?

सोमबार, ११ भदौ २०८०, १५ : ५७
सोमबार, ११ भदौ २०८०

नयाँ दिल्ली । भारतको अध्यक्षतामा नयाँ दिल्लीमा ९ देखि १० सेप्टेम्बरमा आयोजना हुने जी–२० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, चिनियाँ राष्ट्रपति सी जिनपिङ, साउदी अरबका युवराज मोहम्मद बिन सलमानसमेत विश्वका शीर्ष नेताहरू सहभागी हुँदैछन् । तर, यस समय विश्व राजनीतिको केन्द्र बनेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने दिल्ली नआउने भएका छन् ।

पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले रुसी मिडियासँग कुराकानी गर्दै यसबारे जानकारी दिएका हुन् । पेस्कोभले भने, ‘पुटिनले दिल्लीमा हुने जी–२० सम्मेलनमा जाने योजना बनाएका छैनन् । अहिले युक्रेनमा विशेष सैन्य अभियान नै सबैभन्दा महत्त्वपूर्ण रहेको छ ।’

पुटिन चाँडै टर्कीका राष्ट्रपति रेचेप तेय्यप अर्दोगानको निमन्त्रणामा टर्कीको यात्रा गर्ने र ब्ल्याक सीबाट हुने गहुँको निर्यातसम्बन्धी सम्झौतामा छलफल गर्ने सम्भावना रहेको छ । टर्कीको मिडिया रिपोर्टअनुसार पुटिन अगस्टको अन्त्यमा यो भ्रमण गर्ने बताइएको थियो । तर, यो भ्रमण पनि रद्द हुने आशङ्का गरिएको छ ।

जी–२० शिखर सम्मेलनमा पुटिनको अनुपस्थिति नौलो भने होइन । हालै दक्षिण अफ्रिकामा भएको ब्रिक्सको शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए । पुटिन गत वर्ष बालीमा भएको जी–२० सम्मेलनमा पनि सहभागी भएका थिएनन् ।

दक्षिण अफ्रिकामा भएको ब्रिक्स सम्मेलन र बालीमा भएको जी–२० सम्मेलनमा पुटिनको साटो विदेशमन्त्री सर्गेर्य लावरोभ सहभागी भएका थिए । सन् २०१४ मा अस्ट्रेलियाको ब्रिसबेनमा भएको जी–२० सम्मेलनमा पुटिनलाई निमन्त्रणा नै गरिएको थिएन ।

युक्रेन युद्धपछि पुटिनले आफ्नो विदेश यात्रा सीमित गरेका छन् । सन् २०२२ को जुनमा उनले तजाकिस्तान र तुर्कमेनिस्तानको भ्रमण भने गरेका थिए ।

यसबाहेक गत वर्ष पुटिन एससीओ समिटका लागि उज्बेकिस्तान गएका थिए । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

जी–२० सम्मेलनमा युक्रेन युद्धमा हुने चर्चाबाट बच्नका लागि पुटिन यस सम्मेलनमा अनुपस्थित हुन लागेको बताइएको छ । भारतले युक्रेनलाई यस सम्मेलनमा आमन्त्रण भने गरेको छैन । हालै जी–२० सँग जोडिएको एक बैठकमा राष्ट्रपति पुटिनमाथि गरिएको टिप्पणीका कारण रुसी प्रतिनिधि बैठक छाडेर हिँडेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप