सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

गगनको समय सीमा, देउवाबाट भएन आधा पनि काम

बिहीबार, १४ भदौ २०८०, १९ : ४७
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ १५ को समय सीमाभित्र पूर्वनिर्धारितमध्ये आधा काम पनि नगरेको पाइएको छ । साउन २–१० को केन्द्रीय कार्यसमिति बैठकले भदौ १५ भित्र पार्टीका विभाग, समिति र भ्रातृ संस्था विस्तार र गठनको काम पूरा गर्न सभापति देउवालाई कार्यादेश दिएको थियो ।

बैठकबाट पारित महामन्त्री गगन थापाको सांगठनिक कार्यतालिकामा भदौ १५ भित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्ने उल्लेख छ । त्यो अनुसार सभापति देउवाले आधा काम पनि गरेका छैनन् ।

भदौ १५ भित्र देउवामाथि केन्द्रीय समितिको पूर्णता, विभाग गठन, अनुशासन समिति, निर्वाचन समिति, लेखा समिति र नीति अनुसन्धान प्रतिष्ठान, भ्रातृ संस्था गठन र विस्तारको कार्यभार थियो ।

देउवा योबिचमा अनुशासन समिति, निर्वाचन समिति र भ्रातृ संस्थाको तदर्थ समिति विस्तारको काममा मात्र सीमित रहे । भदौ ५ मा पार्टीको अनुशासन र निर्वाचन समितिले पूर्णता पाएको छ ।

गत २०७९ साउनमा अनुशासन समितिको संयोजकमा आनन्द ढुंगाना मनोनीत भएका थिए । भदौ ५ मा सभापति देउवाले ढुंगाना नेतृत्वको अनुशासन समिति सदस्यमा पार्टीका केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनीत गरेका छन् । सोही दिन देउवाले पार्टीको निर्वाचन समितिको संयोजक पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई तोकेका छन् ।

कांग्रेसको १६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा अहिले १५७ जनामात्र छन् । ११ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । देउवाले कोषाध्यक्ष मनोनयनमा चासो दिएका छैनन् । पार्टीका ६९ विभाग, नीति अनुसन्धान प्रतिष्ठान र लेखा समिति विस्तारका लागि पनि अहिलेसम्म देउवाको कदम चलेको छैन । पार्टीको केन्द्रीय समिति, लेखा समिति र नीति अनुसन्धान प्रतिष्ठानले पनि भदौ १५ भित्र पूर्णता नपाउने निश्चित छ । पार्टी विधानद्वारा निर्देशित काममाथि केन्द्रीय समिति बैठकले कार्यादेश दिँदा पनि देउवाको उदेकलाग्दो उदासीनता देखिन्छ ।

महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने विधानको व्यवस्था भए पनि सभापति देउवा उदासीन देखिएपछि ३ हजार ५ सय ७० जना नेता–कार्यकर्ता जिम्मेवारी पाउनबाट रोकिएका छन् । कांग्रेसमा विधानतः ४८ वटा विभागको व्यवस्था छ । जसमध्ये सूचना, सञ्चार तथा प्रचार विभाग गठन भएको छ । सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका छन् ।

विश्वकर्माले नेतृत्व गरेको प्रचार विभाग अहिले ४२ जना सदस्यीय छ । साउन १० को केन्द्रीय कार्यसमिति बैठकले २२ वटा नयाँ विभाग थपेको छ । भदौ १५ भित्र ६९ विभाग गठन गर्नुपर्ने देउवाको कार्यभार थियो । सभापति देउवाले एक महिनाको समय विभाग गठनका लागि सामान्य छलफल गरेरै व्यतीत गरिदिए ।

कांग्रेसले भदौ मसान्तसम्म प्रत्येक विभागबाट वार्षिक कार्यक्रम मागेको थियो । तर, सभापति देउवाले विभाग नै गठन नगरिदिएपछि कार्यतालिका प्रभावित भएको छ । कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले विभाग गठनका लागि संवाद भइरहेको बताए । उनले भने, ‘चाँडै नै विभाग गठन गर्ने तयारी छ । अहिले संवाद भइरहेको छ ।’

विभागीय प्रमुखका सन्दर्भमा कस्तो मापदण्ड बनाउने भन्ने विषयले विभाग गठनमा केही विलम्ब हुने देखिएको उनको भनाइ छ । ‘योबिचमा काम भएका छन् । सभापतिज्यूले पार्टी संगठनलाई गतिशील बनाउने ढङ्गले काम गर्नुभएको छ । भ्रातृ संस्थाको कमिटी आएको छ । पार्टी विभिन्न निकायले पूर्णता पाउने क्रम जारी छ,’ उनले रातोपाटीलाई भने ।

भ्रातृ संस्था विस्तार भए, थप गठन भएन

कांग्रेसका १३ वटा भ्रातृ संस्थामध्ये सात वटा तदर्थ समितिको भरमा चलिरहेका छन् भने पाँच वटाको नेतृत्व नै छैन । लामो समयसम्म अधिवेशन नभएपछि ०७८ फागुनमा १० वटा भ्रातृ संस्था विघटन गरी तदर्थ समिति बनाउने निर्णय कांग्रेसले गरेको थियो ।

१५ महिना लगाएर सभापति देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघमा तदर्थ समिति ल्याएका छन् ।

सभापति देउवाले २०७८ चैत ९ मा नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई अध्यक्ष मनोनीत गरेका थिए । यस्तै उनले असार १० मा किसान संघको अध्यक्षमा गणेश तिमिल्सिना र भदौ १२ मा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगरलाई मनोनीत गरेका थिए ।

उनले साउन २६ मा नेपाल महिला संघको अध्यक्षमा उषा राउत मिश्रलाई मनोनीत गरेका थिए । नेविसंघ ७११, तरुण दल ४०१, महिला संघ ५१, किसान संघ ५१ सदस्यीय छ । नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो र लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा देवेन्द्रकुमार शेरचन छन् । भ्रातृ संस्थाको मान्यता नपाउनु अघि पनि थारु संघ र खेलकुद संघमा उनीहरुकै नेतृत्व थियो । नेपाल मुस्लिम संघ भने अधिवेशनको तयारीमा छ । नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएपछि अत्ताउल मन्सुर कार्यवाहक अध्यक्ष छन् । यही भदौभित्र अधिवेशन गर्ने तयारी छ ।

यता तदर्थ समिति गठनका लागि भंग भएका नेपाल प्रजातन्त्र सेनानी संघ, लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल ठाकुर समाज र भूतपूर्व सैनिक संघमा मात्र नेतृत्व आउन बाँकी छ । साउन २–१० को केन्द्रीय कार्यसमिति बैठकले दलित संघको कार्यसमिति भङ्ग गरेर भदौ १५ भित्र तदर्थ समिति गठनको निर्णय गरेको थियो । यो बिचमा सभापति देउवाले पाँच वटा भ्रातृ संस्थाको नेतृत्व चयनमा उदासीनता देखाए । महामन्त्री थापाको कार्यतालिका देउवामाथि दबाब बढाउने अस्त्र जस्तो देखिन्थ्यो । तर, देउवाले महामन्त्री थापाको कार्यतालिका लत्याइदिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप