मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनए उपाध्यक्षमा रेग्मीको उम्मेदवारी, अन्य पदमा क-कसले गरे उम्मेदवारी घोषणा ?

शुक्रबार, १५ भदौ २०८०, १६ : ५५
शुक्रबार, १५ भदौ २०८०

कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले उपाध्यक्षमा पदमा उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएमा युवा सहभागिता र उद्यमशीलता बढाउने लक्ष्यसहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।

एनआरएनएमा मध्यपूर्व युवा संयोजक हुँदै आइसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मीले एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिँदै आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । 

 रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रूपमा परिचित छन् ।

संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरूको आग्रह र साथीभाइको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मी बताउँछन् । रेग्मीले  सन २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर केही गर्ने इच्छा अनुसार आफूले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले एनआरएनए अभियानमा लागिरहँदा एनआरएनएमा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरूको आवाज बुलन्द बनाउन आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

विश्वभर रहेका दोस्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोबल एनआरएन सिंगिङ आइडल’को आयोजना गरिरहेका रेग्मीले दोस्रो पुस्तालाई एनआरएनमा जोड्ने विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

रेग्मीले विश्वभर रहेका नेपालीहरुसँग अपिल गर्दै आजको दिनसम्म आइपुग्दा यहाँहरूको माया, साथ, शुभेच्क्षा र समर्थनले जुन सफलता हासिल गरे त्यसलाई निरन्तरता दिँदै भोलिका दिनमा आईसीसी उपाध्यक्षमा रहेर काम गर्ने अवसर दिनुहुनेछ भन्ने आशासहित हार्दिक अपिल गरेका छन् ।

सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पुँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला संस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिबद्धता रेग्मीका रहेका छन् । उनले आफू यस अभियानमा केही लिन नभई दिन आएकाले सबै अभियन्ता र गैर आवासीय नेपालीहरूलाई आफ्नो अभियानलाई समर्थन गर्न अनुरोध गरे । उनले आफूले विगतमा पनि विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको सल्लाह सुझावकै आधारमा काम गरेको र आगामी दिनमा पनि गर्ने बताए ।

रेग्मीले केही दिनमा औपचारिक कार्यक्रम गरेर आफ्ना प्रतिविद्धतासहित उम्मेदवारी घोषणा गर्ने बताए ।

एनआरएनएको आगामी नेतृत्वका लागि आरके शर्मा,महेश श्रेष्ठ,बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य ४ उम्मेदवारले उम्मेदवारी सार्वजनिक गरिसकेका छन् भने वर्तमान अध्यक्ष बद्री केसी भने आन्तरिक छलफलमा रहेका छन् ।

हालसम्म उपाध्यक्षमा रेग्मीसहित खगेन्द्र न्यौपाने, रोविन्दप्रसाद श्रेष्ठ, नारायण आचार्य, केशव पौडेल, सुनील शाह, गणेश केसीलगायतले उम्मेदवारी सार्वजनिक गरेका छन् । युवा उपाध्यक्षमा अब्दुल बासिद र रोशन थापाले उम्मेदवारी दिएका छन् । 

यस्तै महासचिवमा गौरीराज जोशी, बुद्धिसागर सुवेदी, गंगाधर गौतम र पारसमणि पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् भने उपमहासचिवमा प्रविन गुरुङ, सोम सापकोटा र प्रमोद सिटौलाले उम्मेदवारी दिने भएका छन् ।

सचिवमा लोक दाहाल, मनोज गोर्खाली,टंक गैरे,स्वतन्त्र प्रताप शाह, ज्ञानेन्द्र रेग्मी, आरसी पोखरेल, कृष्णजिवी पन्त र महिला सचिवमा रोजिना प्रधान राईले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा ठाकुर प्रसाद ढुंगाना,सह कोषाध्यक्षमा अभिमन्यु बस्नेत,तिलक गैरेले उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदहरूमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप