बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पुरा : कुन जिल्लाबाट कति प्रतिनिधि ?

शुक्रबार, १५ भदौ २०८०, २० : ३५
शुक्रबार, १५ भदौ २०८०

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनको बुटवलमा तयारी पुरा भएको छ । भदौ १६ र १७ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनले सबै तयारी  पुरा  भएको आयोजकले बताएका छन् ।

एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले प्रतिनिधि छनौट तोकिएको मितिमा भएकोदेखि केन्द्रबाट आउने अतिथिहरूको टुंगोसम्म सबै समन्वय भएको बताए ।  उनका अनुसार  सम्मेलनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दिउसो साढे १२ बजे गर्नेछन् ।  

उद्घाटनमा पार्टीका उपाध्यक्षद्वय युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेश इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्यहरू, लुम्बिनी  प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरूलाई आमन्त्रण गरिएको छ । 

सम्मेलन उद्घाटन पहिले  बिहान १० बजेदेखि बुटवलका १९ वटै वडा, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गर्नेछन् ।

तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कँडेलले एमालेले वर्ष २०८० लाई आफ्नो पार्टीको अधिवेशन वर्षका रूपमा घोषणा गरी अघि बढेको बताए । 

सम्मेलनको तयारीको सन्दर्भमा गठित मूल आयोजक कमिटीसहित, प्रतिवेदन लेखन, खाद्य तथा आवास, प्रचार प्रसार, मञ्च तथा स्वयंसेवक, अतिथि सत्कार, प्रतिनिधि व्यवस्थापन, प्राथमिक स्वास्थ्य, जनपरिचालन जस्ता समितिले यो सम्मेलन सफल बनाउन गर्नुपर्ने सम्पूर्ण काम सम्पादन गरिसकेका जनाएको छ । 

कुन जिल्लाबाट कति प्रतिनिधि ?

सम्मेलनका लागि १२ वटै जिल्लाका छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसङ्गठनहरूबाट छानिएका १००४ प्रतिनिधिहरू प्रतिनिधि रहनेछन् । ती सबैको नाम सूची प्रदेश कार्यालयमा आइसकेको एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए । 

सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै, जनसङ्गठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका छन् । 

अधिवेशनले यस अघि ५७६ सदस्यीय रहेको प्रदेश सङ्गठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । यसरी  घटाउन भने नेताहरूलाई सकस पर्ने देखिन्छ । लुम्बिनी प्रदेशमा हाल अध्यक्षमा प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल र  केन्द्रीय सदस्य हरि रिजालले  तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप