बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

पहिलो पटक नेपाली भलिबल खेलाडीलाई मासिक पारिश्रमिक

मङ्गलबार, १९ भदौ २०८०, १६ : ४४
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीमा रहेका खेलाडीहरुले मासिक पारिश्रमिक पाउने भएका छन् । नेपाली खेलकुदको इतिहासमा भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाएका हुन् । 

राष्ट्रिय टोलीमा रहेका १२ पुरुष र १२ जना महिला खेलाडीलाई मासिक रुपमा जनही पाँच हजार रुपैयाँका दरले पारिश्रमिक प्रदान गर्न लागिएको जानकारी मंगलबार आयोजित कार्यक्रममा नेपाल भलिबल संघले दियो । 

हाल अमेरिकामा रहेका भलिबका पूर्वखेलाडी, भलिबलप्रेमी र अन्य सहयोगीसँगको सहकार्यमा संघले खेलाडीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन लागेको हो । यसका लागि हाल अमेरिकामा रहेका नेपाली भलिबल टोलीका पूर्वखेलाडी राम श्रेष्ठले समन्वय गरेको पनि संघले जनाएको छ । 

संघका अनुसार, अमेरिकामा रहेका सहयोगीहरुले भलिबल खेलाडीका लागि पठाएको तीन महिनाको पारिश्रमिक संघको खातामा आइसकेको छ । सोही अनुसार संघले खेलाडीलाई सेक्टेम्बर, अक्टोबर र नोबेम्बर महिनाको पारिश्रमिक एकमुष्ट उपलब्ध गराएको हो । 

संघले आगामी दिनमा खेलाडीको सुविधामा थप वृद्धि गर्दै लैजाने योजना बनाएको पनि संघले जनाएको छ । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । हाल नेपालमा क्रिकेट र फुटबलका खेलाडीले मात्र मासिक रुपमा पारिश्रमिक पाउँछन् । 

‘नेपाली भलिबल खेलको इतिहासमा भलिबल टिमका सदस्यहरुले थोरै भए पनि मासिक पारिश्रमिक प्राप्त गरेको यो पहिलो पटक हो । संघको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालभर खेलाडीलाई यस प्रकारको सुविधा दिलाउन अन्य विभिन्न राष्ट्रमा रहेका भलिबलप्रेमीहरुसँग अझै समन्वयन गर्नेछ । हामीलाई सहयोग गर्ने अमेरिकामा रहेका मनकारी सहयोगी हातहरुलाइ नेपाल भलिबल संघ नमन गर्दछ,’ संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

vv1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप