सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

धर्मको बहसमा बहसकै धर्मचाहिँ नबिर्सियोस्

बिहीबार, २१ भदौ २०८०, १३ : ३७
बिहीबार, २१ भदौ २०८०

गणतान्त्रिक आन्दोलन तथा नयाँ संविधानका थुप्रै महत्त्वपूर्ण उपलब्धिमध्ये धर्म निरपेक्षता पनि एक मानिन्छ । यद्यपि केही राजनीतिक घटनालाई जोडेर अहिले धर्म निरपेक्षता वा सापेक्षता भन्ने विषयको बहस पुनः बौरिँदै गरेको देखिन्छ । संसद्का सदस्य, सरकारमा सहभागी केही मन्त्रीहरूलगायत प्रधानमन्त्रीबाटै पनि विरोधाभाषपूर्ण गतिविधि भएको समचार सुनिन्छ । आफूलाई स्थापित, ठूलो र पुरानो दल मान्ने काँग्रेसका समेत केही नेताहरू यदाकदा यी विषयमा नागरिकबीच जानुपर्ने बताउँछन् । केही विश्लेषकहरू भने जनआन्दोलन ६२–६३ मा यस्तो माग नभएको र आन्दोलनको एजेन्डासमेत नभएको दाबी राख्छन् ।

कुनै बेला धर्मको चर्को आलोचना गर्दै सकेको उछितो काढ्ने नेतामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि गनिन्थे । अलिक पहिले उनले समेत नेपाललाई हिन्दु राष्ट्र बनाउने बारेमा सोच्न सकिने विचार दिएको भन्ने अपुस्ट समचारहरू आएका थिए । केही पहिले एमालेका युवा नेता महेश बस्नेतले धार्मिक विषय समाज अनि संस्कृतिमा राजनीतिभन्दा बढी अन्योन्याश्रित हुन्छ भन्ने तर्क गरे । यसै आधारमा केन्द्रीय कमिटीको बैठकमा यसको समीक्षा गर्न आह्वान गरेको कुराले सामाजिक सञ्जालमा बाक्लै र तुलनात्मक रूपमा सकरात्मक प्रतिक्रिया पाएको थियो । संविधानको निर्माणको क्रममा प्रस्तावित मस्यौदामाथि आम छलफल हुने समयमा अधिकांश नागरिकबाट यस्तो सघन माग आएको थियो । हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाएको पार्टी राप्रपा वर्तमान ससंद्मा एक निर्णायक घटक छ । उसले राजनीतिमा समेत राम्रै छलाङ मारेको छ । यी आधारमा अहिले प्रश्न उठ्दैछ के नेपाल फेरि हिन्दुराष्ट्र हुन्छ त ? भविष्यमा जस्तोसुकै परिणाम आउन पनि सक्ला । तर सापेक्षता वा निरपेक्षतालाई प्राथमिकतामा राखेर भइरहेका सबै बहस र विश्लेषणमा उत्तिकै सबल तर परस्पर विपरीत दलील प्रशस्तै छन् । 

विपरीत दलीलहरू

विश्वका लगभग ८० देश संवैधानिक हिसाबले धर्म निरपेक्ष छन् । उति नै सङ्ख्यामा धर्म सापेक्ष देशसमेत छन् । लगभग दुई दर्जन देशले आपूmलाई कुनै कित्तामा देखाएका छैनन् । इराक, इरान, अफगानस्थान र मदगास्कर जस्ता देश पहिले धर्म निरपेक्ष भएर पनि फेरि सापेक्ष घोषित भएका छन् । तसर्थ निरपेक्षता–सापेक्षता कुनै अलौकिक र अपराजयी गुण होइनन् । वस्तुगत आवश्यकताको आधारमा सम्बन्धित देशले निर्णय लिने विषय हो । अहिले पनि अमेरिकामा राष्ट्रपति हुन क्रिस्चियन प्रोटेस्टियन नै हुनु पर्छ । बेलायतकी महारानी क्याथोलिक धर्मकी संरक्षक थिइन् । अस्ट्रेलियाले संविधानमै आफूलाई क्रिस्चियन राष्ट्र मान्छ । संसारका थुप्रै देशहरूले आफूलाई सगर्व इस्लाम भनेर चिनाउछँन् । यसरी हेर्दा धर्म एक प्रकारको स्थायी परिचय भएको देखिन्छ । जसको क्षणिक तथा उत्तेजनात्मक अदलबदलले विशाल बिग्रह ल्याउन सक्छ । 

सिद्घान्तत धर्म निरपेक्षताले मानिसलाई धार्मिक कट्टरता र अन्य समुदायप्रतिको अनुदारभावबाट पर राख्ने आशा गरिन्छ । तर ‘सेकुलराइजेसन् इन अमेरिका’ नामक अनुसन्धानात्मक कृतिका लेखक इङ्गुलर हार्टस भन्छन् धर्म निरपेक्षताको अवस्थाले नागरिकलाई झन् बढी धार्मिक बनाउँछ । धर्म निरपेक्षतामा आपसी मतभेद बढ्छ । मिलेर बसेका धार्मिक समुदायमा प्रतिस्पर्धी भावनाको बिजारोपण हुन्छ । अन्य समुदायको जति नै सबल र प्रचारित हिसाबले धर्मको प्रयोग कसरी गर्ने भन्ने होडबाजी हुन्छ । अरू समुदायमा हुने धार्मिक गतिविधिका सघनताले कतै आफ्नो धर्मलाई ओझेलमा पार्ने त हैन भन्ने सङ्कोच जन्मन्छ । मिलेर बस्नेभन्दा कसरी आफ्नो धर्मलाई सबल देखाउने भन्ने मनोदशाले डोहोर्‍याँछ । दशैभन्दा क्रिसमसमा किन बढी तडक, भडक नगर्ने भन्ने भावना आउँछ । बुद्घ पूर्णिमाभन्दा कसरी इदुल फित्तरको बढी सशक्त प्रचारप्रसार गर्ने भन्ने सोच जन्मन्छ । पशुपतिमा हिन्दुले मात्रै किन प्रवेश पाउने, आर्यघाटकै समीपमा क्रिस्चियन समूहले मृत शरीर राख्न किन नपाउने जस्ता विवाद आउँछन् । सबै समुदायलाई अरूले गर्दा आफ्नो धर्ममाथि सङ्कट र विनाश आउन लागेको भ्रम पर्छ । धर्ममा आफ्नो परिचय देख्न थाल्छन् । समाजमा अन्य समुदायका मानिसप्रति सहानुभूति र सामीप्यताभन्दा सर्तकर्ता बढी हुन्छ । एकअर्कालाई आत्मीय मित्रवत् समूहभन्दा प्रतिस्पर्धी समूहको रूपमा बुझिन्छ । धर्म संरक्षणका नाममा जडसूत्रवाद र कट्टरता बढ्न सक्छ । धार्मिक भड्काव तथा द्वन्द्व निम्तिन सक्छ । 

कुनै खास विवाद नभए समाजबाट धार्मिक आस्था र भावना स्वतः हराउँछ । राजधानी त्यस्तो ठाउँ हो, जहाँबाट कुनै बेला हिन्दु धर्मको वकालत गर्ने कमल थापाले सबैभन्दा धेरै भोट ल्याए । अनि त्यहीँका मानिस दसैँतिहारभन्दा बढी हर्षोल्लाससाथ क्रिसमस र अङ्ग्रेजी पात्रोको नयाँ वर्ष मनाउँछन् । तर जब नियोजित हिसाबले धर्म निरपेक्षता भनियो तब उनीहरू सशङ्कित भएका हुन् । पहिचान मेटिने सम्भावनाका कारण धार्मिक मान्यताको सघन अभ्यास र प्रचार गर्न लालयित हुँदै छन् । कुनै निर्णय नलिएको भए सायद केही दशकमा आफैँ धार्मिक चेतना हराउथ्यो होला, अब झन् सघन बन्दैछ । 

झन् सघन सोच

धर्म निरपेक्षताको विषय नेपालमा दीर्घकालीन झगडाको बीउ रोप्न चाहानेले ल्याए । बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनासँगै २०४७ आसपास सामाजिक विग्रह निकै उच्च थियो । बिहेवारी, धर्मकर्म, जन्ति, मलामीमा समेत सहभागीहरूको राजनीतिक पार्टी मिले नमिलेको हेरिन्थ्यो । राजनीतिक आस्था र दलीय सहभागिताका आधारमा कलह तथा भेदभाव गरिन्थ्यो । अहिले नागरिकलाई राजनीतिक आस्था सामान्य लाग्न थालेको छ । नेताहरू चाहिँ खाने र फाइदा लिने बेलामा मिलिहाल्छन्, जनता किन लड्ने भन्ने भावना विकसित भएको छ । पछिल्लो सरकारको भाँडभौलोले पनि यसलाई प्रस्ट पारेको छ । राजनीतिक विचारको विविधताको आधारमा अनावश्यक लडाइँ झगडाको स्थितिको अन्त्य भयो । तब समाजमा गलत चिन्तन र भड्काव ल्याउने अर्को पक्ष धर्मको नाममा आएको छ । यो नागरिकलाई विभाजित गर्ने एक सुनियोजित षडयन्त्र हो । हामी चाहिनेभन्दा बढी नै विभाजित हुँदैछौँ । लाहोरमा फागु पूर्णिमामा बिदा दिइन्छ । कुनै वर्ष अमेरिकाका पूर्वराष्ट्रप्रति ओबामाले भाइटीका लगाए । विदेशस्थित नियोगका मानिसहरूले विजया दशमीको टीका लगाएका छन् । कुनै समय बेलायती पूर्वप्रधानमन्त्री टेरेसा मेले शिवको मन्दिरमा नेपाली पोसाकसहित पूजा गरेको समाचार बाहिरिएका थिए । हाम्रैमा पनि आपूmलाई हिन्दु भन्नेहरू बुद्घपूर्णिमा अनि क्रिसमस पनि उत्तिकै धुमधाम रूपमा मनाउँछन् । तर क्रिसमस मनाउने चाहिँ दसैँ तिहारको कटाक्ष गर्नेमा व्यस्त छौँ । धर्मको नाममा उच्च कट्टर बन्दै छौँ, सोच नै त्यस्तो हैन तर सुनियोजित षडयन्त्रका रूपमा कतैबाट फसाइँदैछ र हामी त्यसमा फस्दै छौँ । 

सांस्कृतिक परिवर्तन सहजै सम्भव छैन । कानुनमा लेखेर मात्र हुँदैन । मन्दिरभित्र सँगुर पसाउनेहरू अहिले भैँसी पुजा गर्छन् । संस्कृतिको हुज्जत गर्नेहरू स्वयं दसैँ मनाउँछन् । बुर्जुवा शिक्षा भन्दै जनताका छोराछोरीलाई विद्यालयबाटै बन्दुक बोक्न पठाएकाहरूले आफ्ना छोराछोरीलाई दूतावासमा भनसुन गरीकन विदेशका राम्रा विश्वविद्यालयहरूमा अध्ययन गराउँछन् । अरूका कुकर्म खोल्ने र जेल पठाउने हुङ्कार गर्ने नेताहरू आफ्नै अनगन्ती काण्डमा फस्दैछन् । धर्म पनि यस्तै मनोवैज्ञानिक विषय हो, जसमा जर्बजस्त परिवर्तन सम्भव हुँदैन । 

धर्म कुनै उपलिब्धको मापक हैन । धर्म विशेषलाई राज्यले प्राथमिकतामा पारेको छैन । संस्कृतलाई केही समय संरक्षण गरेको आर्यजनको प्राचीन भाषा भएर हैन । पूर्र्वीय जगतमा ज्ञानका उच्च दर्शनहरू तत्कालीन समयमा संस्कृतमा लेखिएका थिए । बौद्घ दर्शनसँग सम्बन्धित पाली भाषामा लेखिएका कुरालाई पनि राज्यबाट उत्तिकै संरक्षण प्रदान गरिएको छ । बौद्घ विश्वविद्यालयसमेत खुलेको छ । बुद्घप्रति हिन्दुहरूको असिम र अपार आस्था छ । जर्मनीमा धेरै संस्कृत विश्वविद्यालयहरू छन् । प्राचीन दार्शनिक कौटिल्यको तत्कालीन अर्थशास्त्र संस्कृत भाषामा लेखिएको थियो । प्राचीन पाश्चात्य दर्शनका आधार ज्ञानसम्बन्धी पुस्तक हेबु्र, ल्याटिन तथा ग्रिक भाषमा लेखिएका देखिन्छन् । जसको पश्चिमा संसारले उत्तिकै संरक्षण गरेको छ । कमजोरी केही भए पनि अभिभावकत्व कहिल्यै विनाश गर्नुहुन्न । राज्यले केही भाषाहरूमा गरेका लगानी धर्मको हिसाबले नभई त्यस्को धरातलको हिसाबले भएको हो । जसलाई हामीले गलत व्याख्या गर्दै सामाजिक विग्रह अनि इतिहासको विनाशका लागि प्रयोग गर्दैछौँ । 

विश्वका कतिपय समुदाय नेपालका गौरवहरूमाथि नियोजित आक्रमण चाहन्छन् । भारत बुद्घमाथि आक्रमण गर्छ । युरोप धर्म र अमेरिका जातलाई लिएर कलह रोप्दै छन् । फरक प्रयासको एउटै आशय चाहिँ यो देशलाई उनीहरूको परीक्षण प्रयोगशाला बनाउने हो । युरोपका अधिकांश देशमा स्थायी प्रकारको बस्ती थिएन । घुमन्ते, फिरन्ते प्रथा थियो । विभिन्न ठाउँबाट विभिन्न समूहका मानिसहरू आएर बसे । तर नेपाल लामो समय स्थायी बसोबास भएको ठाउँ हो । यसको आफ्नो एउटा मुख्य धर्म, संस्कृति, परम्परा अनि जीवन दर्शन स्वाभाविक हुन्थ्यो । 

नेपाल एक मात्र हिन्दु राष्ट्र रहँदा विश्वभरका हिन्दुहरूको चासो बढेको थियो । यद्यपि पहिले पनि धर्ममा कट्टर हुने र अरूप्रति अनादर देखाउने सोच कसैमा थिएन र अभ्यास पनि भएन । तर आवश्यकभन्दा बढी सहजीकरणले कहिलेकाहीँ शङ्का जन्माउँछ । चाहिनेभन्दा बढी सतर्कताले झन् सन्त्रास ल्याउँछ । रोग नै नलागेको मानिसलाई उपचार गर्न खोजियो भने चिकित्सकमा गलत हिसाबले पैसा कमाउने स्वार्थ छ कि भन्ने शङ्का जन्मन्छ । धर्मका नाममा अनावश्यक विवाद देशको विकास, आत्मीयता अनि सौहार्दतामाथि त्यस्तै एक अधर्र्मी र निर्दयी गलपासो बन्ने सम्भावना देखिन्छ । अरूका लागि विभाजित कि आफ्ना लागि एकाकार हुने, एक पटक फेरि सघन, समाजपरक र स्वच्छ बहस चल्नु पर्छ, समीक्षा हुनु पर्छ । निर्णय जे आओस्, सम्पूर्ण नागरिकलाई स्वीकार्य हुने र अपनत्व बोध हुने बन्नु पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप