सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
यात्रा संस्मरण

बादलले घुम्टो खोलेको बेलामा गोसाईंकुण्ड पुग्दा...

स्वर्गसरी सुन्दर क्षेत्रमा आइ पुग्न नारकीय दुःख भोग्नुपर्ने बाध्यता
शनिबार, २३ भदौ २०८०, ११ : ०६
शनिबार, २३ भदौ २०८०

मुलुकको संघीय राजधानी काठमाडौँबाट करिब दुई दिनको दूरीमा पुग्न सकिने गोसाईंकुण्ड धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण तीर्थस्थल हो । रसुवाको उत्तरी भेगमा पर्ने यो कुण्ड समुद्री सतहदेखि ४,३८० मिटरको उचाइमा अवस्थित छ । 

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो कुण्डको चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । हिन्दु धर्मको आस्थाको केन्द्र र पर्यटकीय रोजाइँको यो सरोवरमा जानको लागि हाम्रो १२ जनाको समूहको यात्रा भदौको दोस्रो साता सुरु भएको थियो । 

गोसाईंकुण्ड जान मुख्यतः दुईवटा बाटो प्रचलनमा छ । सुन्दरीजलबाट चिसापानी हुँदै हेलम्बु पुगेर सूर्यकुण्डको बाटो गोसाईंकुण्ड जाने एउटा बाटो छ भने अर्कोतिर गल्छीबाट नुवाकोट हुँदै धुन्चे पुगेर गोसाईंकुण्ड पुग्ने अर्को बाटो छ ।

पैदल यात्री र तन्नेरीहरूको लागि सुन्दरीजलको बाटो बढी लोकप्रिय रहेको छ । सुन्दरीजल कट्नासाथ कतै पहेँलो त कतै रातो र कमेरे माटोको चिप्लो बाटो, गुराँस र दियार सल्लाका वनमा गुराँस र अनेकथरी चरासँगै प्रीति लगाउँदै उक्लिएपछि आइपुग्छ बोर्लाङ भन्ज्याङ । 

बोर्लाङ भञ्ज्याङ काटेर ओरालो लागेपछि पहिलो बास चिसापानी पुगिन्छ । यो बाटोमा सुन्दरीजलदेखि गोसाईंकुण्डसम्म नै हिँड्नुपर्ने भएकोले पनि हामीले यो बाटो रोजेनौं । हामी धुन्चेको बाटोबाट गोसाईंकुण्डको यात्रातिर लाग्यौँ ।

गोसाईं जाने धुन्चेको बाटो तुलनात्मक रूपमा सहज भएकोले पनि यो बाटोमा तीर्थयात्रीको चाप अत्यधिक हुने रहेछ । तर, कहिले बादलको घुम्टोमुनि, कहिले कुहिरोको सिरकमा त कहिले सिमसिमे पानीको झल्लरीमा सुशोभित गोसाईंकुण्डको अधिक रमाइलोले हाम्रो यात्रालाई असहज बन्न दिएन । 

लामटाङ हिमालको काखमा चट्टाने पहराबीच छ्याङ्ग हुँदा गोसाईंकुण्डको कञ्चन जल र त्यसमा बेलाबखत लहरिने मन्द तरङ्गले चौपट्टै रङ्गिएको मनलाई पनि उमंगित तुल्यायो । चार हजार मिटर माथिको चट्टानमा पुगेर खुलेको आकाश हेर्दा लाग्थ्यो, आखिर स्वर्ग भनेकै यही त होइन ?

हाम्रो पहिलो दिनको यात्रा सुरु भयो काठमाडौँबाट । भदौ १४ गतेको गोसाईंकुण्ड मेला भर्न हाम्रो टोली १२ गते नै त्यसतर्फ लागेको थियो । बन्दै गरेको सुरुङले विभत्स बनाएको त्रिभुवन राजपथ, विस्तार हुँदै गरेको पृथ्वी राजमार्गका विभिन्न अवरोधले गल्छी सम्मको बाटोलाई केही असहज बनाए पनि त्यसपछिको बाटो त्यति दुःखद् रहेन । 

पहिलो दिन हाम्रो यात्रा धुन्चेमा रोकियो । हामी सवार यात्रा यही सम्मको थियो । दोस्रो दिनबाट पैदल यात्रा सुरु हुनेवाला थियो । त्यसैमाथि वर्षाले झनै अप्ठेरो पार्ने भय पनि उत्तिकै थियो । तर, सधैँजसो वर्षा हुने स्थानमा यसपालिको जात्रामा पानी परेन ।

त्यसो त धुन्चेबाट चन्दनबारी, लौरीविना हुँदै गोसाईंकुण्ड जाने बाटोको कुल दूरी करिब १२ किलोमिटर हो । काठमाडौँबाट गल्छी, त्रिशुली, वेत्रावती, राम्चे हुँदै धुन्चे (१९५० मिटर) पुगेपछि पैदल हिँड्नुपर्छ । 

यात्रामा घट्टेखोला (१९६० मिटर), खेन्दी (२३०० मिटर), देउराली (२६२५ मिटर), ढिम्सा (३००७ मिटर), सिंहगोम्पा, चन्दनबारी (३३०० मिटर), चोलाङपाटी (३५८४ मिटर), लौरीविना (३९०० मिटर), बुद्ध मन्दिर (४२०० मिटर), गणेश मन्दिर (लौरीविनायक हुँदै गोसाईंकुण्ड (४३८० मिटर) पार गरिन्छ । 

तर जति जति उच्च विन्दुमा पुगियो, उति उति खुट्टाका पैतला कम चल्दा रहेछन् । हिँड्न नसक्नेहरुका लागि धुन्चेबाट पहिलो दिनको यात्रा चन्दनवारीसम्म मात्रै हुने रहेछ । 

हामी पनि धुन्चेबाट देउराली बास बसी चन्दनबारी लौरीविना हुँदै गुम्वामा पुनः बास बसेर जनैपूर्णिमाको दिनको झुल्के घामसँगै गोसाईंकुण्डको दर्शन गर्न पुग्यौँ । 

372569567_3528328890757097_111417446670306809_n

कुण्डको कञ्चन पानीमा देखिएको नीलो आकाशको प्रतिबिम्ब, चारैतिर प्राकृतिक छटाले सुन्दरता भरेको चट्टानी पहाड । त्यसमाथि पलाएका हरिया घाँसका ठूटाहरु काठमाडौंको कैदमय जीवन बिताइरहेकाहरूको लागि स्वर्गीय आनन्दको क्षेत्र थियो । पावन गोसाईंकुण्डको दर्शनले आध्यात्मिक शान्तिको महसुस समेत भएको थियो ।

गोसाईंकुण्डसित पौराणिक साइनोको मिथक छ । स्कन्दपुराण, हिमवत्खण्डमा यस कुण्डको वर्णन गरिएको छ । पुराणअनुसार यो कुण्डको उत्पत्ति महादेवबाट भएको हो । देव र दानव मिली मन्दराचल पर्वतलाई मदानी र बासुकी नागलाई नेती बनाएर समुद्र मन्थन गरिँदा त्यहाँबाट १४ रत्न निस्किएका थिए । 

ती १४ रत्नमा श्री, विष, रम्भा, वारुणी, अमृत, शङ्ख, ऐरावत, धन्वन्तरि, धेनु, चन्द्रमा, कल्पवृक्ष, मणि, बाज र धनुष थिए । देव र दानवले राम्रा रत्न बाँडेर लिए । कालकूट विष लिन कोही तम्सिएन । दुनियाभरि त्रास फैलियो । ब्रह्माको अनुरोधमा शिवले सो विष कण्ठमा धारण गरे । विषले कण्ठ नीलो भएकाले शिवको एक नाम नीलकण्ठ हुन पुग्यो ।

हलाहल विषले छट्पटाउँदै कुदेका शिवले एउटा पहाडमा त्रिशूलले घोपी पानी निकालेर पीडा शान्त पारे । त्रिशूलले प्वाल पारेको ठाउँबाट निस्किएको जल जम्मा भई नीलकण्ठ दह अर्थात् गोसाईंकुण्ड बन्यो । र, त्यहाँबाट बग्ने जलप्रवाह त्रिशूली कहलायो । 

गोसाईंकुण्ड नजिकै भैरवकुण्ड र सरस्वतीकुण्ड छ । सूर्यकुण्ड चाहिँ गोसाईंकुण्डबाट झन्डै डेढ घन्टा पर छ । गोसाईंकुण्डको सेरोफेरोमा नजिक र टाढा गरी साना, ठूला १०८ जति कुण्ड छन् ।

DP Aryal

स्वर्गजस्तो ठाउँमा पुग्न नारकीय यात्रा

गोसाईंकुण्ड आफैँमा जति सुन्दर र पवित्र छ, त्यहाँ पुग्न तीर्थयात्रीले उति नै सास्ती र झमेला व्यहोर्नुपर्छ । सिधा सिधा भन्दा यो स्वर्गसरी सुन्दर क्षेत्रमा आइ पुग्न यात्रीले नारकीय दुःख भोग्नुपर्ने हुन्छ । 

यात्राकै क्रममा करिब दर्जन पटक गोसाईं पुगेका यात्रीहरू पनि भेटिन्थे । उनीहरू समेत यो नारकीय यात्राबाट बिरक्तिएको भाव सुनाउँथे । उचाइका कारण हुने स्वास्थ्य समस्या वा ज्येष्ठ नागरिकका लागि कुनै उचित व्यवस्था छैन । 

त्यस्तै, यात्रुको लागि खाने बस्ने ठाउँको लागि कुनै निश्चित शुल्क तोकिएको छैन । जसले गर्दा व्यवसायीहरूको लूटको धन्दामा यात्रुहरू पर्ने गरेको देखियो । घट्टेखोलाबाट उकालो सुरु हुनेबित्तिकै तातो पानी कपको रु ३० र कालो चियाको मूल्य एक सय रुपैयाँसम्म लिने गरिएको छ ।

यस्तो पर्व विशेषको समयमा यात्रुलाई ठगिनबाट जोगाउन प्रशासनले सक्रियता देखाउनु पर्ने हो । तर के यातायात व्यवसायी, के होटल व्यवसायी सबैको मिलिभगतमा लूटधन्दा चलिरहेको यात्रुहरूको गुनासो थियो । केही यात्रुहरू मिलेर लूटधन्दाको जालो तोड्न प्रहरी प्रशासन गुहार्दा पनि कुनै सुनुवाइ नभएको पीडित यात्रुहरुले दुःखेसो पोखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डीपी अर्याल
डीपी अर्याल
लेखकबाट थप