सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
पञ्चायतकाल

हार्डलाइनर र सफ्टलाइनर पञ्चको चपेटामा परेको हरि अधिकारीको सरकारी जागिर

आइतबार, २४ भदौ २०८०, ०९ : ०५
आइतबार, २४ भदौ २०८०

लेखक, साहित्यकार तथा पत्रकारको परिचय बनाएका हरि अधिकारीको एउटा फरक पाटो छ, सरकारी जागिर । उनकै भाषामा त्यो जागिर ‘राजाको सिन्दुर’ थियो, तर उनले लगाएको ‘राजाको सिन्दुर’ राजनीतिक र सांस्कृतिक दुवै रूपमा सधैँ गाढा भएन । त्यो घरी गाढा–गाढा भएजस्तो हुन्थ्यो, घरी पखालिन खोज्थ्यो, अन्ततः पखालियो । त्यो पखालिएपछि उनी खासगरी पत्रकारितामा दह्रिए, लेखनमा अझ उकासिए । 

७१ औँ वसन्तमा हिँड्दै गरेका अधिकारी अचेल आफ्नो व्यावसायिक संस्था ‘सूर्य विनायक लेखन, सम्पादन सेवा केन्द्र’मा प्रधान सम्पादक छन् । केही दिनअघिको भेटमा उनले आफ्नो सरकारी जागिरे जीवनको तितामिठा पल सम्झिए । 

‘पुनर्जागरण दर्ता गर्दा सीडीओले जिम्मेवारी दिएनन्’
२०३१ सालको बमकाण्डमा जन्मकैद परेका माथवरसिंह बस्नेत २०३७ वैशाख १ गते राजाको आममाफीपछि छुटेका थिए, जो हरिका साथी समेत थिए ।

वैशाख २० गते भएको जनमत संग्रहमा हार बेहारेपछि बहुदलवादीहरूमा एक प्रकारको निराशा छाएको थियो । यही बेला केही त्राण दिने उद्देश्यले माथवरसिंहलाई भेट्न पुगे हरि । उनले माथवरसिंहलाई भने — तपाईं ‘पुनर्जागरण’ पत्रिकालाई अगाडि बढाउनुस् । 

माथवरसिंहले जेलमै ‘पुनर्जागरण’ पत्रिका हस्तलिखित रूपमा चलाउँथे । उनले भने — म जन्मकैद खाएको मान्छेलाई कसले पत्रिका दर्ता गरिदिन्छ र ? ‘म गरिदिन्छु, तर तपाईंको नाममा होइन, अरुकै नाममा दर्ता गर्नुपर्छ ।’ 

भक्तपुरमा सहायक सिडियो रहेका हरिले त्यतिबेला कामु सीडीओको अधिकारसमेत पाएका थिए । आफ्नो हातमा अधिकार भएको मौकामा उनले माथवरसिंहकी फुपू दमयिन्ती बस्नेतलाई सम्पादक र प्रकाशक बनाएर पुनर्जागरण मासिक दर्ता गरिदिए ।

बीपी कोइरालाबाट विमोचित ‘पुनर्जागरण’मा माथवरसिंहले बीपीकै अन्तर्वार्ता छपाएका छन् । त्यो अन्तर्वार्ता छापिएपछि माथवरसिंहलाई चार महिना जेल हालिएको हरि बताउँछन् ।

प्रकाशक र सम्पादकमा एउटा नाम भए पनि पत्रिका माथवरसिंहको हो भन्ने तत्कालीन सीडीओ चन्द्रिकानन्द खरेलले चाल पाइहाले । उनले हरिलाई सोधे — हरिजी ! तपाईंले माथवरसिंह बस्नेतलाई भेट्नुभएको हो ? त्यो त जन्मकैद परेको मान्छे होइन र ? राजबन्दी होइन र ?

हरिले भने — हो, तर राजा वीरेन्द्रले आममाफी गरिसके । राजाले आममाफी गर्ने, तपाईं हामीले राजबन्दी भन्दै हिँड्नु उचित हो र ? 

यसपछि सीडीओले हरिलाई जिम्मेवारी वा अधिकार दिन बन्द गरे । हरिलाई अञ्चलाधीश कार्यालयबाट बोलावट भयो । त्यहाँका सहसचिव बबुअन ठाकुरले हरिलाई सोधे — तपाईं सीडीओसँग मिलेर काम गर्न किन सक्नुहुन्न ?

यसपछि अञ्चलाधीश कार्यालयमै उनको सरुवा भयो, त्यहाँ पनि उनलाई जिम्मेवारी दिइएन । अन्ततः उनलाई वन विभागमा पठाइयो ।

जोगमेहरले जोगाइदिएको जागिर...
२३ वर्षको उमेर (२०३२ साल)मा ‘शाखा–अधिकृत’मा नाम निकालेर हरि मुस्ताङ गएका थिए, पीडीओ (पञ्चायत डेभलपमेन्ट अफिसर) भएर । २०३६ सालको असोजमा उनको सरुवा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा भएको थियो । ‘यहाँ आएपछि मेरो सरकारी नोकरी टुंगिनी टुंगिनी सुरु भयो,’ हरि भन्छन्, ‘राजा वीरेन्द्रबाट जनमत संग्रह घोषणा भइसकेको थियो । गृह मन्त्रालयले कर्मचारीविरुद्ध जासुसी लगाउन थाल्यो । मलाई बहुदलवादी भएको आरोप थियो ।’

पञ्चायती व्यवस्था ढल्नुपर्छ भन्नेमा हरि दृढ थिए । जनमत संग्रहमा भोट उनले बहुदललाई नै दिए, सरकारी कर्मचारी भएकाले देखिने गरी बहुदलको प्रचारमा भने लागेनन् । 
निर्दलले जितेपछि बहुदलवादी भनेर आरोप लागेका वा त्यस्तो सूचीमा परेका कर्मचारीलाई कारबाही गर्नेबारे क्याबिनेटमै छलफल हुन थाल्यो । ‘नेपालमा कुनै पनि कुरा गोप्य रहँदैन । को–कोको जागिर खोस्दै छ भन्ने लगभग–लगभग थाहा भयो, मेरो पनि खोसिँदै थियो,’ हरि भन्छन्, ‘म त चुप लागेर बसेको थिएँ, मेरो जागिर जाँदै छ भन्ने थाहा भएर पिताजीले तत्कालीन गृहमन्त्री जोगमेहर श्रेष्ठलाई कुरा राख्नुभएछ ।’ हरिको आस्था र विश्वास बहुदलप्रति रहे पनि उनका बुवा धेरै वर्ष प्रधानपञ्च भए, त्यसैले पञ्चमन्त्रीहरूसँग उनको चिनजान थियो । 

हरि अलि कड्केर बोले, ‘मेरो अफिसमा आएर यो ढंगले मसँग कुरा गर्ने होइन । अहिलेसम्म राजाको सिन्दुर परेर यो मेरो कुर्सी हो, यो मेरो च्याम्बर हो । यहाँ आएर तपाईंजस्तो बिनाअथोरिटीको मान्छेले मलाई किन केरकार गर्ने ? लक्ष्मण लोहनीजी ! तपाईं जानुभए हुन्छ यहाँबाट ।’

त्यहीबेला पोखरामा पीडीओ र जिल्ला सभापतिहरूको संयुक्त सम्मेलन भएको थियो, जसमा दुईवटा समूह बनाएर प्रतिवेदन प्रस्तुत गरियो । हरिले एउटा समूहको प्रतिवेदनको खाका तयार गरी प्रस्तुति दिएका थिए । तत्कालीन मन्त्री हरिनारायण रजौरिया उनको प्रस्तुतिबाट प्रभावित भएका रहेछन् । उनले पनि सम्बन्धित ठाउँमा भनेछन् — हरि अधिकारी क्वालिफाइड मान्छे हो । यस्तो क्षमता भएको मान्छेलाई काम गर्न दिनुपर्छ, जागिर खोस्नु हुँदैन । यो कुरा पछि रजौरियाले आफूलाई सुनाएको हरि बताउँछन् ।

जेहोस्, उनको जागिर जोगियो, आफ्नो जागिर कसरी जोगियो भन्ने हरिलाई थाहा थिएन, उनले घरमा सुने — जोगमेहरले जोगाइदिएको भनेर । 

हार्डलाइनर र सफ्टलाइनर पञ्चको चपेटामा...
२०३९ सालमा हरि बाग्लुङको एलडीओ भए । बाग्लुङमा हार्डलाइनर र सफ्टलाइनर पञ्चका बीचमा काटाकाटजस्तो अवस्था थियो । हार्डलाइनरको प्रतिनिधित्व तेजेन्द्रबहादुर खड्काले गर्थे भने सफ्टलाइनरको ओमकारप्रसाद गौचनले । पहिले मुस्ताङ बसेका हरिलाई यो कुरा थाहा थियो । 

पञ्चायतकालमा हार्डलाइनर समूहले दलहरूलाई निषेधको नीति लिएको थियो भने दलहरूप्रति केही नरम नीति सफ्टलाइनरको रहन्थ्यो । सफ्टलाइनर पञ्चमा कतिपय पूर्वकांग्रेसी पनि थिए । त्यसैले उनीहरू सबैलाई समेट्नुपर्छ भन्थे । 

स्थानीय मन्त्रालयका सचिव रामनारायण श्रेष्ठले हरिलाई बाग्लुङ जान आग्रह गरेका थिए । हरिले भने — त्यहाँ त गाह्रो छ, सचिवज्यू । पञ्चहरूले पेल्छन् । सचिवले हरिलाई प्रशंसासहित प्रेरित गरे — तपाईं जत्तिको म्यानेज गर्ने व्यक्तिले सक्नुहुन्छ । 

हरि त्यहाँ १५ महिना टिके । ‘कम्तीमा कर्मचारी र स्थानीय प्र्रधानपञ्चहरू मसँग खुसी थिए,’ उनी भन्छन्, ‘मैले एक पैसा पनि खान्नथेँ र खान पनि दिन्नथेँ । त्यसो हुँदा भ्रष्टबाहेक अरु मसँग खुसी भए ।’

पञ्चायतकालमा हार्डलाइनर समूहले दलहरूलाई निषेधको नीति लिएको थियो भने दलहरूप्रति केही नरम नीति सफ्टलाइनरको रहन्थ्यो । सफ्टलाइनर पञ्चमा कतिपय पूर्वकांग्रेसी पनि थिए । त्यसैले उनीहरू सबैलाई समेट्नुपर्छ भन्थे । 

हरिलाई बाग्लुङमा सफ्टलाइनर ओमकारको मान्छे भनिएको थियो । हार्डलाइनर पञ्चले सिकायत गरेपछि उनलाई २४ घन्टाभित्र मन्त्रालय झिकाइयो । ‘कर्मचारीमा तन्त्रमा के समस्या छ भने मन्त्रालयका ठूला हाकिमले कर्मचारीको संरक्षण गर्दैनन्,’ हरि कर्मचारीतन्त्रको तत्कालीन कमजोरी औँल्याउँछन्, ‘गृहले त्यो बहुदलवादी रहेछ, त्यसलाई कारबाही गर भन्दियो, उनीहरूले त्यही पत्याए । सचिवले यो मान्छे राम्रो काम गर्छ, किन यसलाई दुःख दिने भन्दैनथे ।’

बाग्लुङमा उनले श्रीमती र छोराछोरीलाई पनि राखेका थिए । उनलाई २४ घन्टाभित्र काठमाडौं झिकाइएन मात्रै, बाग्लुङका लागि नयाँ एलडिओको रूपमा अयोध्याप्रसाद रायलाई पठाइयो । त्यतिबेला काठमाडौंमा हरिको घर थिएन, डेराको व्यवस्था गर्न र मन्त्रालयमा हाजिर हुन हरि एक्लै काठमाडौं आए । उता बाग्लुङमा नयाँ एलडीओका लागि तुरुन्तै क्वार्टर छाडिदिनुपर्ने थियो, तर अयोध्याप्रसादले आफू होटलमा बसेर हरिको परिवारलाई साता दिनजति क्वार्टरमा बस्न दिएछन् । 

बानेश्वरमा डेरा खोजेर हरिले परिवारलाई काठमाडौं झिकाए । मन्त्रालयमा पनि उनलाई कुनै जिम्मेवारी दिइएको थिएन । बानेश्वरमा परशु प्रधान, ध्रुव प्रधान, शैलेन्द्र साकार र उनी मर्निङवाकका साथी बन्न पुगे । त्यतिबेला परशु प्रधान सूचना विभागका डाइरेक्टर थिए । उनले बोलाएपछि सरुवा मिलाएर हरि सूचना विभाग गए । त्यहाँ उनको काम थियो — पत्रकारको आइडी कार्ड रिनु गर्नु, पत्रकारलाई आवश्यक कुनै सिफारिस दिनु, हन्डी बाँड्नु आदि । 

अघिल्लो दिनसम्म लोकेन्द्रबहादुर चन्दलाई लादी आउने गरी गाली गरेको आर्टिकल छापिन्थ्यो । सूर्यबहादुर सरकारबाट हट्नेबित्तिकै उनलाई गाली गरेर लोकेन्द्रबहादुरलाई समर्थन गरेको आर्टिकल छापिन्थ्यो,’ हरि भन्छन्, ‘लेख्ने मान्छे तिनै हुन्थे फेरि ।

अहिले दलीय सत्तापक्ष र प्रतिपक्ष भएजस्तै त्यतिबेला पञ्चभित्रैबाट प्रतिपक्ष हुन्थे । उनीहरूले सरकारलाई कमजोर देखाउन अनेक खेल खेल्थे । सत्ता पक्षले सरकार जोगाउन मिडियाको सहारा लिन्थ्यो, अर्थात् जुन पञ्च नेताहरू सरकारका मन्त्री छन्, उनीहरूको पक्षमा तर विपक्षी पञ्चको विरुद्धमा कुनै पत्रकारलाई लेखाएर कुनै पत्रिकामा छापिन्थ्यो । यस्तो लेख छापिएबापत सूचना विभागबाट लेखक र छाप्ने पत्रिका दुवैले पैसा पाउँथे । यसैलाई हन्डी बाँड्ने भनिन्थ्यो । यसरी दुई–चार पैसामा बिक्ने पत्रकार निकै थिए । ज्ञानेन्द्र शाह कालमा पनि हन्डी खाने पत्रकारको चर्चा चलेको थियो । 

हरिले हन्डी पाउनेको लिस्टमा सही गरेर एकाउन्टमा पठाउँथे । एकाउन्टले लेखक र पत्रिकालाई चेक दिन्थे र बुझेको भर्पाई राख्थे । ‘कस्तोसम्म भयो भने, अघिल्लो दिनसम्म लोकेन्द्रबहादुर चन्दलाई लादी आउने गरी गाली गरेको आर्टिकल छापिन्थ्यो । सूर्यबहादुर सरकारबाट हट्नेबित्तिकै उनलाई गाली गरेर लोकेन्द्रबहादुरलाई समर्थन गरेको आर्टिकल छापिन्थ्यो,’ हरि भन्छन्, ‘लेख्ने मान्छे तिनै हुन्थे फेरि । गोरखापत्रको प्रधानसम्पादक थिए रामचन्द्र न्यौपाने, तिनले त लेखेर हन्डी लैजान्थे । त्यतिबेला मैले धेरै पत्रकारलाई हन्डी बाँडे । कतिले छद्म नाममा पनि लेख्थे ।’

हरिका अनुसार, त्यतिबेला पञ्चहरूले गृह मन्त्रालयबाट ‘आर्थिक सहायता चन्दा पुरस्कार’ (आसचपु) पनि व्यापक बाँडे । ‘ शरद कुमार वैष्णव गृहको लेखामा थिए, उनले निकै आसचपु बाँडे । एक दिन मैले उनलाई सोधेको थिएँ — आसचपु कसरी बाँड्नुहुन्छ वैष्णवजी ? उनले भने — म त यी लफङ्गालाई पैसा दिँदा–दिँदा हैरान भइसकेँ,’ दुई महिना गृह मन्त्रालयमा पनि काम गरेका हरि भन्छन्, ‘मलाई जानकारी भएसम्म मन्त्रीका चम्चाको सिफारिसमा रन्डीबाजी गर्नेलाई समेत आसचपु बाँडिन्थ्यो । पञ्चायतकाल त हरेक अञ्चलाधीशसँग बाँड्ने फन्ड हुन्थ्यो ।’ 

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ आएपछि आसचपु शीर्षकको खर्च हटाइएको छ ।

सरकार ढलेपछि... 
सूचना विभागमा छँदा २०४१ सालमा हरि राजारानीको जीवनी लगायत पुस्तक छाप्न बैंकक गएका थिए । काम सकेर फर्कन दुई महिना जति लाग्यो । उनी फर्कंदा देशमा सरकार परिवर्तन भइसकेको थियो — सूर्यबहादुर हटेर लोकेन्द्रबहादुर चन्द आएका थिए । 

चन्द सरकारका अर्थ र सञ्चारमन्त्री प्रकाशचन्द्र लोहनीले विभागका डाइरेक्टर परशु प्रधानको पनि सरुवा गरिदिए । २०७४ को वैशाखमा भएको भेटमा यो पंक्तिकारसँग परशुले भनेका थिए, ‘२०३५ सालमा सूर्यबहादुर थापा खोटाङका पुगेका बखत मलाई भेटेर भन्नुभयो — तपाईं त लेखक हुनुहुँदो रहेछ, कहाँ सीडीओ भएर बसेको ?

काठमाडौँ आउनुस्, मलाई सूचना विभागको डाइरेक्टर चाहिएको छ ।’ प्रधानमन्त्री नै फेरिएपछि परशुको सरुवा स्वाभाविक थियो ।

यता हरि फर्कंदा अफिसमा सबै कर्मचारी निन्याउरो मुख लगाएर बसेका थिए । अफिसका कर्मचारी सुनाउँथे — तपाईंको पनि सरुवा हुने हो वा के हुने हो थाहा छैन । 

मन्त्री लोहनीले आफ्ना काका लक्ष्मण लोहनी, सूचना विभागको पूर्वडाइरेक्टर नगेन्द्र शर्मालगायतको एउटा कार्यदल बनाएर आफ्नो मन्त्रालय अन्तर्गत भइरहेका भ्रष्टाचार लगायत गतिविधि बुझ्न लगाएका थिए । एक दिन हरिको कार्यकक्षमा लक्ष्मण लोहनी लगायत पुगे । ‘लक्ष्मण लोहनीले हरि अधिकारी भनेको तपाईं होइन भनेर सोधे । मैले हो भनेँ । मैले उनलाई चिनेको थिएँ, तैपनि नचिनेको जस्तो गरेर तपाईंचाहिँ को हो भनेर सोधेँ । उनले भने — म लक्ष्मण लोहनी, मलाई चिन्नुहुन्न ?’ हरि त्यस दिनको घटना सुनाउँछन्, ‘तपाईंलाई मैले चिन्नुपर्छ भन्ने के छ ? किन चिन्ने मैले तपाईंलाई ? हामी यसअघि भेट भएका थियौँ ? कि तपाईं मेरो नातापाता पर्नुहुन्छ ?’ 

लोहनीले आफू आउनुको प्रयोजन बताए — तपाईं बैंंकक जानुभएको रहेछ । कसरी, कसले खटाएर जानुभयो ? 

यसपछि हरिलाई झ्वाँक उठ्यो । ‘अहिले तपाईंका भतिजो सञ्चारमन्त्री हुनुहुन्छ क्यारे । त्यहीँ गएर मेरो फाइल हेरेर बुझ्नू,’ उनी अलि कड्केर बोले, ‘मेरो अफिसमा आएर यो ढंगले मसँग कुरा गर्ने होइन । अहिलेसम्म राजाको सिन्दुर परेर यो मेरो कुर्सी हो, यो मेरो च्याम्बर हो । यहाँ आएर तपाईंजस्तो बिनाअथोरिटीको मान्छेले मलाई किन केरकार गर्ने ? लक्ष्मण लोहनीजी ! तपाईं जानुभए हुन्छ यहाँबाट ।’ 

लोहनीहरू त्यहाँबाट गएपछि मन्त्रालयका सहसचिव उत्तमलाल श्रेष्ठलाई अह्राइयो — हरि अधिकारीमाथि छानबिन गर्नू ।

सहसचिव श्रेष्ठबाट हरिलाई बोलावट भयो । उनले नम्र शैलीमा भने — हरिजी ! मन्त्रीज्यूले मलाई अह्राए बमोजिम मैले तपाईंलाई केही सोधपुछ गर्नुपर्नेछ, तपाईंले जवाफ दिनुहोला ।’

श्रेष्ठले एकजना कानुन अधिकृतलाई बोलाएका रहेछन्, उनले हरिको बयान लिन थाले — तपाईंको नाम के हो ? तपाईंको अहिले पोस्टिङ कहाँ छ ? कहिलेदेखि अफिसर हुनुभएको ?’

हरिले यी प्रश्नको कुनै जवाफ दिएनन् र उल्टै सहसचिवलाई भने — सहसचिवज्यू, मलाई केरकार गर्ने यो मान्छे को हो, मैले चिन्दिनँ । तपाईंहरूले के ठान्नुभाछ मलाई ? के म कसैको घर फोर्न गएको चोर हुँ ? तपाईंको र मेरो मन्त्रालय एउटै, म को हुँ र किन बोलाएको भन्ने पनि थाहा छ, अनि मेरो नाम सोध्ने ? मैले यस्ता प्रश्नको कुनै जवाफ दिन्नँ । मन्त्रीज्यूले जे लछारपाटो लगाउनुहुन्छ, लगाउन भनिदिनू । अब म यहाँ आउँदिनँ । तपाईंहरूले मेरो बयान लिने हो भने, अदालतमा मुद्दा हाल्नुस्, म त्यहीँ आउँला । 

हरिले यति भनेपछि कानुन अधिकृत उठेर हिँडे । हरिको छेउमा आएर सहसचिव श्रेष्ठ बोले —यसरी उत्तेजित नहुनुस् । म पनि के नै हुँ र ? मैले त मन्त्रीज्यूले अह्राए अनुसार गर्ने हो । 

अघिल्ला सञ्चारमन्त्री राघवेन्द्रप्रताप शाहले निर्णय गरेर, राष्ट्र बैंकबाट १५ हजार डलर साटेर हरि बैंकक गएका थिए । तीनवटा प्रेसको कोटेसन लिएर तत्कालीन राजदूत खेलेन्द्रप्रसाद पाण्डेको रोहबरमा न्यूनतम कोटेसनबमोजिम पुस्तक छपाइको काम भएको थियो । ‘मैले यति नगरेको भए त आर्थिक हिनामिना गरेको भनेर मलाई सिध्याउँथे,’ हरि भन्छन्, ‘इन्डियन मूलको जय चोपडा भन्नेको प्रेसमा पुस्तक छपाएको थिएँ । सबै बिलमा राजदूतको सही र छाप गरेर ल्याएको थिएँ ।’

हरिले यी कागजातसहितको फाइल सम्बन्धित शाखालाई बुझाइसकेका थिए । यिनै कागजातले हरिको जागिर जोगायो ।

त्यही बेला झापा भद्रपुर नगरपञ्चायतका प्रधानपञ्च ओमप्रकाश सरावगी काम विशेषले काठमाडौंं आएका थिए, साथमा पत्रकार डिल्लीराम निर्भीकलाई लिएर । उनीहरूलाई भद्रपुर नगरपञ्चायतका लागि प्रशासनिक हाकिम चाहिएको रहेछ । एक दिन प्रधानपञ्चलाई लिएर डिल्लीराम हरिको कार्यालयमा आए ।

हरिलाई पनि नयाँ ठाउँमा काम गर्ने रहर भयो, तर सरुवा मिलाउन समस्या थियो । हरिले हुन्छ भनेपछि प्रधानपञ्च ओमप्रकाश र डिल्लीरामले स्थानीय विकास मन्त्रीलाई भनेर सरुवा मिलाइयो । 

भद्रपुरमा हरिलाई काम गर्न सहज थियो । त्यहाँ १५ महिनाजति बसेपछि हरिमाथि अकस्मात एउटा टन्टो आइलाग्यो । त्यतिबेला निर्वाचन आयोगले नगरपञ्चायतका मतदाताको नामावली संकलन गर्न भनेको थियो । त्यो काम नगरपञ्चायतकै कार्यकारी अधिकृतले गराउनुपथ्र्यो, एक व्यक्तिको नाम संकलन गरेबापत २५ पैसा तोकिएको थियो । हरिले यस सम्बन्धमा कार्यालयका सहकर्मीहरूसँग छलफल गरे । सबैको सुझाव आयो — गणकलाई दिने पैसा कम भयो, बढाउनुपर्छ । 

हरिले यही बेहोराको पत्र निर्वाचन आयोगलाई लेखे, बोधार्थ सीडीओ कार्यालयमा पनि पठाइयो । त्यो काम सीडीओ बाबुराम पौडेलमार्फत नगरपञ्चायतमा आएको थियो । सीडीओ पौडेलले हरिलाई बोलाएर भने, ‘तपाईं त निकै जानिफकार हुनुहुँदो रहेछ । निर्वाचन आयोगजस्तो संवैधानिक आयोगले गरेको निर्णय भएन, सच्चाउनुपर्छ भन्दै प्रश्न उठाएर चिठी लेख्ने ?’

‘हप्काउने शैलीमा सीडीओ प्रस्तुत भएपछि मेरो झ्वाँक उठ्यो । मैले भन्दिएँ — यो के राणाशासन हो ? तपाईं राणाले पठाएको बडाहाकिम हो र मलाई हप्काउन ! चिठीमा मैले के नचाहिँदो कुरा लेखेँ ? त्यति पैसामा त्यो काम गराउन तपाईं सक्नुहुन्छ ?’ हरि भन्छन्, ‘मैले सबै स्टाफसँग सल्लाह गरेर त्यो चिठी लेखेको हुँ ।’

सीडीओसँग यति कुरा भएर फर्केको भोलिपल्टै हरिको सरुवा भयो । मध्य बर्खाको बेला थियो, स्थानीय मन्त्रालयका सचिव मुक्तिप्रसाद काफ्लेले हरिलाई तुरुन्त मन्त्रालय आउन भने । 

मन्त्रालय फर्केर केही दिन हाजिर गरे, तर उनलाई कुनै जिम्मेवारी दिइएको थिएन — हाजिर गर्यो, हिँड्यो । २०४२ साल हिउँदको कुरा हो यो । अन्ततः हरिले राजीनामा बुझाए र पत्रकारितामा आए । 

पखुरु, आँसु, जनमञ्च, नेपाली आवाज, देशान्तर, इन्डिपेन्डेट आदि साप्ताहिक पत्रिकाको सम्पादन गरे । २०४३ सालमा काभ्रेबाट चुनाव लडेका हरि भन्छन्, ‘मैले चुनाव जित्न भनेर गएको होइन । नेपाली कांग्र्रेसको विचार प्रवाह गर्न गएको हुँ ।’ २०२७ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले गरेको कविता प्रतियोगितामा सुवर्ण पदक विजेता हरिका आजसम्म आठवटा कृति प्रकाशित छन् ।

hari adhikari
०००
परिवारले आठ वर्षको उमेरमा हरिको पहिलो विवाह गरिदिएको थियो । श्रीमती घरमै थिइन्, हरि जागिरको सिलसिलामा बाहिर भए, व्यक्तिगत प्रगति र उन्नति गर्दै गए । २५ वर्षको उमेरमा बुवाले आफ्नो दोस्रो बिहे गरिदिएको हरि बताउँछन् । 

जागिरका सिलसिलामा पोखरामा रहँदा हरि एउटी नेवार युवतीको प्रेममा परेका थिए, जसलाई उनले अझै भुल्न सकेका छैनन् । यस प्रेमबारे उनले आफ्नो पुस्तक ‘संकलित गद्य रचना’ (२०७७)मा लेखेका छन्, ‘अहो ! कति धेरै नयाँ भएछ पोखरा, तर मनको एकछेउमा २०२९ देखि २०३१ सालसम्म त्यस सहरमा बसेको र पहिलो प्रेमको आल्हादकारी सरोबरमा डुबेर धेरै दिनसम्म बेपत्ता भएको युवा हरि अधिकारी अझै लुकेको हुँदो हो । उसले नोस्टाल्जिक हुँदै सम्झियो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप