आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘संविधान सभाको पर्यायवाची नेम्वाङ’

मङ्गलबार, २६ भदौ २०८०, १५ : ४६
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । मंगलबार बिहान निधन भएका संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । 

उनीप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पुगिरहेका छन् । 

नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनी नेपाली राजनीतिमा अत्यन्तै सन्तुलनकारी भूमिका खेल्ने व्यक्ति भएको बताए । नेम्वाङ संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकूलतामा बदल्ने नेताको रुपमा रहेको पोखरेलले उल्लेख गरे । पार्टीभित्र नेम्वाङलाई सम्मानका साथ हेरिने गरेको उनले बताए । नेम्वाङ जहिल्यैपनि समस्याहरुलाई सुल्झाउनेगरी प्रस्तुत हुने गरेको उनले स्मरण गरे ।

उनले भने,‘उहाँको अत्यन्त सन्तुलनकारी भूमिका, मृदुभाषी र संयमित ढंगले प्रतिकुलताहरुलाई अनुकूलतामा बदल्ने कोसिस गर्ने नेताको रुपमा मैले बुझ्दछु । राष्ट्रिय राजनीतिमा खासगरी जनताका निर्वाचित प्रतिनिधिहरुबाट संविधान निर्माण गर्ने क्रममा जुन ऐतिहासिक भूमिका उहाँले खेल्नुभयो त्यो स्मरणीय छ । ऐतिहासिक महत्त्व राख्ने भूमिका छ । यसलाई हामी कहिल्यै भुल्न सक्दैनौँ । उहाँलाई पार्टीमा सम्मानका साथ हेरिन्थ्यो । बुझिन्थ्यो । उहाँको भूमिकापनि प्रतिकुलताहरूमा,  अप्ठ्यारो क्षणहरुमा उहाँ जहिल्यैपनि सन्तुलनकारी भएर प्रस्तुत हुनुभयो । समस्यालाई सुल्झाउने दृष्टिकोण जहिल्यैपनि राख्ने । समस्या परेको बेलामा बल्झाउने होइन सुल्झाउने हिसाबले प्रस्तुत हुने उहाँको चरित्र थियो ।’

त्यस्तै पूर्वसभामुख तथा नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले आफू सभामुख रहेका बखत नेम्वाङसँग दैनिक छलफल गर्ने गरेको बताए । उनले नेम्वाङले रचनात्मक, सिर्जनात्मक र परिपक्व सल्लाह दिने गरेको स्मरण गरे । उनले कम्युनिस्ट पार्टीको पुनःगठनको आवश्यकता भएको बेलामा नेम्वाङजस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

उनले भने, ‘म सभामुख हुँदाखेरी दिनदिनै मैले उहाँसँग छलफल गर्थें । सधैँभर उहाँले रचनात्मक, सिर्जनात्मक खालको परिपक्व सल्लाह दिनुहुन्थ्यो । यस अर्थमा मलाई सच्चा मित्र, देशको संवैधानिक कानूनको ज्ञाता र असल राजनीतिज्ञ गुमाएको अनुभूत भएको छ । अहिले कम्युनिस्ट पार्टीको पुनःगठनको आवश्यकता महसुस भइरहेको बेलामा त्यस्तो समन्वयकारी व्यक्तित्व गुमाउनुपर्दा म स्तब्ध छु ।’

नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले सुवास नेम्वाङ संविधानसभाको पर्यायवाचीको रुपमा रहेको बताइन् । नेम्वाङ एउटै कम्युनिस्ट आन्दोलन र एउटै कम्युनिस्ट पार्टी चाहने व्यक्ति भएको पनि उनको भनाई छ ।

नेकपा(एमाले)का सांसद सूर्य थापाले सुवास चन्द्र नेम्वाङले राष्ट्रिय राजनीतिमा आफूलाई सहमतिको मियोको रुपमा प्रस्तुत गरेको बताए । नेम्वाङले तमाम खालका द्वन्द्व र विमतिहरुलाई सहमतिका साथ निचोड र निष्कर्षमा पु¥याउने कामको नेतृत्व गरेको उनले बताए । समकालिन राजनीतिमा नेम्वाङजस्तो अर्को पात्र नभएको उनको भनाई छ ।

नेम्वाङबाट संसदीय राजनीतिको सम्बन्धमा आफूजस्ता नयाँ सांसदहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप