शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

‘काला सागर’को प्रतिबन्ध छल्दै युक्रेन पुग्यो जहाज, २० हजार टन गहुँ बोक्ने

आइतबार, ३१ भदौ २०८०, १५ : २६
आइतबार, ३१ भदौ २०८०

एजेन्सी । रुससँगको युद्धका कारण झमेला झेलिरहेको युक्रेनले वस्तु आयात–निर्यातका लागि नयाँ रुट पहिचान गरेको छ । यससँगै, कालासागरमा रुसले प्रतिबन्ध लगाएपछि पहिलोपटक शनिबार युक्रेनमा मालबाहक जहाज पुगेको छ । यो जहाज शनिबार युक्रेनको बन्दरगाह चोरनोमोक्सर््क पुगेको हो ।

यो जहाजले विश्व बजारका लागि २० हजार टन गहुँ बोक्नेछ । युक्रेनका सरकारी अधिकारीहरुले रुसले कालासागरको बाटो बन्द गरेपछि पहिलोपटक युक्रेनमा मालबाहक जहाज आएको पुष्टि गरेका छन् । यसअघि यो रुट युक्रेनबाट विश्व बजारमा सामान बोकेर प्रस्थान गर्ने जहाजका लागि मात्रै थियो ।

युक्रेनका डेपुटी उपप्रधानमन्त्री ओलेक्सन्दर कुब्राकोभले भने, ‘जहाज समुन्द्री राष्ट्र पलाएको झन्डा फहराउँदै युक्रेन पुगेको छ । र, यसको चालक दलमा युक्रेन, टर्की, अजरवैजान र इजिप्टका नागरिक छन् ।’ यो जहाजले बोक्ने २० हजार टन गहुँ इजिप्ट र इजरायलमा पुग्नेछ ।

युक्रेनले पहिचान गरेको नयाँ समुन्द्री रुट कालासागरको पश्चिमी तटपट्टि छ । र, यो रुसले आफ्नो सामान निर्यातमा लगाएको प्रतिबन्धको बदला लिन काला सागरमा लगाएको प्रतिबन्धपछि प्रयोगमा आएको समुन्द्री मार्ग हो । रुसले पटक–पटक पश्चिमाले आफ्नो कृषिजन्य वस्तुको निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा नभएसम्म कालासागरको समुन्द्री मार्ग युक्रेनलाई प्रयोग गर्न नदिने बताइरहेको छ ।

युक्रेन विश्वमा सूर्यमुखी तेल, जौ, गहुँ र मकै निर्यात गर्ने सबैभन्दा ठूलो राष्ट्र हो । रुसले सन् २०२२ को फेब्रुअरीबाट आक्रमण सुरु गरेपछि भने युक्रेनका समुन्द्री मार्ग प्रभावित बनेका छन् । र, निर्यातका लागि ठिक पारिएका २० मिलियन खाद्यान्नको निर्यात प्रभावित बनेको छ । फलस्वरुपः यतिबेला विश्वव्यापीरुपमा खाद्यान्नको मूल्यले आकाश छोएको छ ।

यतिबेला विश्वबजारमा खाद्यान्नको मूल्य बढ्दा अफगानिस्तान, येमेन, सुडान र इथियोपिया लगायतका देशमा खाद्य संकट बढिरहेको छ । यही समयमा मस्कोले काला सागरमा प्रतिबन्ध मात्र लगाइरहेको छैन, बरु युक्रेनको समुन्द्री बन्दरगाह समेत निशाना बनाइरहेको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार रुसले युक्रेनको अन्न भण्डारका बन्दरगाहहरु इजमायल र रेनीमा लगातार आक्रमण गरिरहेको छ ।

यही साता बेलायतले रुसमाथि युक्रेनको ओडेसा बन्दरगाहबाट हिँडेको यात्रुबाहक जहाजलाई रुसको सेनाले मिसाइल प्रहार गरेको आरोप लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप