आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकता कहिले ? यसो भन्छन् कार्यदलका सदस्य

मङ्गलबार, १३ चैत २०७४, १२ : २०
मङ्गलबार, १३ चैत २०७४

काठमाडौं–असोज १७ गते वाम गठबन्धन बनाउँदा एमाले र माओवादीका नेताहरुले चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए ।

मंसिर १० र २१ मा गरी दुई चरणमा चुनाव भयो । तर, चुनाव सकिएको चार महिना पुग्न लाग्दा पनि पार्टी एकताले आकार ग्रहण गरेको छैन ।

बरु, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि एकता गर्न अहिले दुई पार्टीका नेतालाई हतारो भएको छ ।

पार्टी एकताका लागि गठित कार्यदलका सदस्यहरु आफ्नो काममा व्यस्त छन् ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता बाक्लिएका छन् ।

सोमबार दुई नेतावीच कुरा भएको थियो । आज फेरि ‘वान टू वान’ संवाद हुँदैछ ।
यस अघि कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने बताएका नेताहरु अहिले प्रधानमन्त्रीको भारत भ्रमण अगाडि एकता गर्न चाहेका छन् ।

प्रधानमन्त्रीले चैत्र २३ गतेबाट भारत भ्रमण गर्ने अनौपचारिक समाचार बाहिर आएका छन् । तर, सरकारको तर्फबाट औपचारिक मिति घोषणा भएको छैन ।

पार्टी एकताका लागि दुवै दलबीच फागुन ७ गते साँत बुँदे आधारपत्रमा सहमति भएको थियो ।

त्यसैका राजनीतिक प्रतिवेदन र विधान मस्यौदा समिति बनाइयो । समितिलाई १५ दिन भित्र आफ्ना प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । त्यसको समयसीमा सकियो । फेरि चैत्र ५ गतेसम्मको म्याद दिइयो । त्यसको पनि समयसीमा सकियो । तर, राजनीतिक प्रतिवेदन र विधान मस्यौदाको लेखनको काम अझै सकिएको छैन ।

एकता प्रतिवेदन कार्यदलमा एमालेका माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ छन् । माओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।

संगठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेका ईश्वर पोख्रेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे छन् । माओवादीका तर्फबाट रामबहादुर थापा, गिरीराजमणि पोख्रेल, जनार्दन शर्मा, मातृका यादव र बर्षमान पुन छन् ।  

यी दुबै कार्यदलले काम गरिरहेका बेला मन्त्रिमण्डल विस्तार भयो । कार्यदलका धेरै सदस्य मन्त्री भए । त्यसपछि कार्यदलको काम प्रभावित भयो ।

शनिवार माओवादीको नेता बर्षमान पुनले पनि यो महिनामा नै पार्टी एकता हुने घोषणा गरे । त्यहँ दिन माओवादीका अर्का नेता विश्वनाथ साहले पनि यस्तै कुरा बताएका थिए ।
अखिल क्रान्तिकारीको कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले पार्टी एकता चैत १९ अथवा २० गते हुने बताए । उनले विद्यार्थीलाई त्यहीँ अनुसारको तयारीमा जुट्न निर्देशन दिए । उनले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक संरचनाको खाका तयार भइसकेको दावी गरे ।

कति सम्भव छ ?
संगठनात्मक र विधान मस्यौदा कार्यदलका सदस्य बेदुराम भुसालले भने, ‘२३ गते नै पार्टी एकता हुने भनेर कार्यदलमा कुनै छलफल भएको छैन । यो सबै मिडियामा आएको हल्ला हो । न त कार्यदललाई यति गते सक्नुहोस् भनेर अहिले नै नेतृत्वले भनेको छ । बुधबार आ–आफ्नो प्रदिवेदन बुझाउने भन्ने कुरामा पनि सत्यता छैन ।

भुसालले थप भने, ‘कार्यदलले काम जारी राखेको छ । कहिले सकिन्छ, त्यसै भन्न सकिने अवस्था छैन । कुनै–कुनै दिन एउटै बुँदाले एक–दिन खाइदिन्छ, अनि कसरी भन्न सकिन्छ कि मस्यौदा यहीँ दिन बुझाउछाँै भनेर ।’

अर्का सदस्य सुरेन्द्र पाण्डेले भने ‘हामीले पनि पत्रिकामा आएपछि थाहा पाएका हौँ । हामीलाई पार्टी एकता संयोजन समितिले यो समयमा मस्यौदा सकेर दिनुहोस् भनेको छैन ।’

के  चैत्र २३ गतेभित्र एकता सम्भव छ ?
पाण्डेले भने ‘जुन विषयमा छलफल नै भएको छैन, त्यो विषयमा कसरी भन्न सकिन्छ । नेतृत्वले नै हामीलाई २३ गते पार्टी एकता गर्नु पर्ने भयो काम गर्नुहोस् भनेको नै छैन । अनि कसरी पार्टी एकता हुन्छ ?’

एकता प्रतिवेदन कार्यदलमाका सदस्य सुवास नेम्वाङले भने ‘पार्टी एकता यति गते गर्ने भनेर अहिले सम्म टुङ्गो लागेको छैन् । हाम्रो चाहना भनेको जति सक्दो चाँडो एकता गर्ने भन्ने हो तर चैत २३ गते नै एकता गर्ने भन्ने कुनै ठोस योजना नै छैन ।’

नेम्वाङले भने, ‘हाम्रो समितिले प्रतिवेदन तयार गरेको छ । भोली १४ गते बैठक बस्दैँ छौँ । यदि भोली नै सबै कुरा टुङ्गियो भने पर्सि प्रदिवेदन बुझाउन सकिन्छ । सकिएन केहि छलफल गर्नु पर्यो भने एक दुई दिन अझ लाग्न सक्छ ।’

संगठनात्मक र विधान मस्यौदा कार्यदलका सदस्य जनार्दन शर्माले भने ‘यति गते नै पार्टी एकता हुन्छ भनेर भन्न सकिदैन । मिडियाबाजी गर्नेहरुले भनेका हुन् । हाम्रो समितिमा यो विषयमा कुनै छलफल भएको छैन ।’

उनले अगाडि भने, ‘कार्यदलले संगठनात्मक र विधान तयार पारेको छ । हामी आज बसेर छलफल गदैछौँ ।  जब दुबै समितिले आ–आफ्नो विधान र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउँछ । त्यसपछि संयोजन समितिले दुबै प्रतिवेदनलाई स्वीकृती गरेपछि मात्र पार्टी एकतामा जान्छ । अहिलेसम्म प्रतिवेदन लेखनका काम भएपनि अब नयाँ बन्ने पार्टीको केन्द्रीय समिति कति जनाको बन्ने भन्ने टुङ्गो लागेको छैन ।’

दुबै समितिका सदस्यहरुको भनाइलाई आधारमान्ने हो भने पार्टी एकता हुने कुनै समयसीमा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप