आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
‘सुवास र संविधान’ विषयक विचार गोष्ठी

‘हुनुपर्नेमा चेतना भया ! नभया त के गर्ने ?’

सबै पार्टी र पक्ष मिलेर देशको समस्या समाधान गर्नुपर्छ : ओली
मङ्गलबार, ०२ असोज २०८०, १६ : ११
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीति प्रतिशोधको राजनीतिमा परिणत हुँदै गएको भन्दै यस परिस्थितिलाई बदल्नुपर्ने बताएका छन् । उनले प्रमुख राजनीतिक दलहरुले यसबारे सोच्ने बेला भएको समेत बताए ।

एमाले उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै पार्टी र सबै पक्षहरु मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको बताएका हुन् ।

‘यतिवेला राष्ट्रिय राजनीति प्रतिशोधको राजनीतिमा गएको छ । कसैलाई सिध्याउने खेलमा केन्द्रित भएको छ । अहिलेको आवश्यकता त्यो होइन’, ओलीले भने, ‘अहिलेको आवश्यकता हामीले प्राप्त गरेका उपलब्धिहरूको रक्षा कसरी गर्न सकिन्छ मुख्य कुरा यो हो । यतातर्फ ध्यान दिनुपर्छ ।’

साथै उनले प्रमुख राजनीतिक दलहरु नमिल्ने हो भने धेरै प्रकारका खतराबाट जेलिने अवस्था आउने बताए ।

‘नत्र भने धेरै प्रकारका खतराहरुबाट हामी जेलिँदै छौ । यो गम्भीर परिस्थिति छ त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरुको कर्तव्य हो’, ओलीको भनाइ छ ।

ओलीको भनाइ जस्ताको तस्तै:

मलाई के लाग्छ भने आज देश जहाँ पुगेको छ । यतिबेला सबैले साँच्चै गम्भीर भएर सोच्नुपर्ने अवस्था आज आएको छ ।

आज सबै पार्टी र सबै पक्षहरु मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराहरुबाट हामी जेलिँदै छौ । यो गम्भीर परिस्थिति छ त्यसतर्फ हाम्रो ध्यान जान जरुरी छ । त्यसमा पनि प्रमुख राजनीतिक दलहरुको कर्तव्य हो यो । प्रमुख राजनीतिक दलहरु जिम्मा जमानी बसेर धेरै आन्दोलनहरु भएका छन् । जिम्मा जमानी बसेर धेरै बलिदान भएको छ । जिम्मा जमानी बसेर धेरैका घरबार उजाड भएका छन् । प्रमुख राजनीतिक दलहरुको आह्नमा धेरैले जीवन आहुति गरेका छन् । धेरैको क्षति भएको छ । धेरै ठुलो हिसाब गर्न नसकिने क्षति हामीले व्यहोरेर यो ठाउमा आइपुगेका छौ । यी आजका उपलव्धिहरु जे छन् ती यतिकै आकाशबाट आएका होइनन् । यी उपलब्धिहरू धेरै बलिदान, जीवन आशु, पसिना, कठिनाइहरु र आर्तनादहरुसँग हामीले मूल्य तिरेर यहाँ ल्याइपुर्‍याएका छौ । त्यसलाई गुम्न दिन सकिँदैन, दिनुहुँदैन ।

प्रश्न शाव्दिकमात्रै होइन । अव शब्द खेलाएर केही पनि अर्थ रहँदैन । साँच्चै देशकाप्रति प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्छ । सुवास नेम्वाङ र संविधानको सन्दर्भमा कुरा गरिरहँदा म भन्न चाहन्छु– कि जसले संविधान निर्माण गर्‍यो । जसले संविधान निर्माणको अगुवाइ गर्‍यो । अव सुवासजी त हुनुहुन्न । अरू त छौ नि ! संविधान निर्माण गर्नेहरु । उहाँको योगदानको सम्मान र प्रशंसा गर्दै, उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ मुख्य रूपमा ।

सवैमा चेतना भया । हुनुपर्नेमा चेतना भया । नभया त के गर्ने ? तर नेकपा एमाले प्रतिबद्ध छ । यी उदेश्यहरुलाई तलमाथि हुन नदिन समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुर्याछोड्न देशलाई ।

देशको भूमिको रक्षा गर्न अप्ठेरो मान्नुपर्ने विषय होइन । नेपाली भूमिको रक्षा गर्न नेकपा एमाले प्रतिबद्ध छ । र, देशको सार्वभौम सत्ता,स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्न, राष्ट्रिय हितहरुको रक्षा गर्न तथा राष्ट्रिय झण्डालाई माथि उठाउन नेकपा एमाले प्रतिबद्ध छ । यस देशको पछौटेपन र गरिवी हटाउन, देशमा सुशासन ल्याउन लागि नेकपा एमाले प्रतिबद्ध छ । त्यसैकारण हामी भनिरहेका छौ देशमा राष्ट्रिय एकता खल्बलिन हामी दिन सक्दैनौ । विभिन्न सेन्टिमेन्टमा, अरुका स्वार्थका लागि देशका जनतामा पारस्परिक घृणा र विद्वेष फैलाउने,मारकाट मच्चाउने, हिंसा भड्काउने जुनसुकै नाम, रौँ, रुप र भेषमा भएपनि एमालेलाई स्वीकार्य छैन, नेपाली जनतालाई पनि स्वीकार्य हुँदैन । एमालेले त्यस्ता चीजहरु रोक्न अगुवाइ गर्नेछ । यो कुरा हामीले अहिलेमात्र होइन अगाडिदेखि भनिरहेका छौ र स्पष्ट पनि छ । हामी सामाजिक न्याय र समानतासहितको सामाजिक सद्भाव र त्यो सद्भावमा आधारित राष्ट्रिय एकता र त्यसमा आधारित एकताबद्ध प्रयासबाट देशमा शान्ति, सुव्यवस्था,सुशासन र विकास चाहन्छौ । जसबाट समृद्ध नेपाल सुखी नेपालको यात्रा अगाडी बढ्छ । हाम्रा नीति ती हुन् हाम्रो बाटो त्यो हो । यसमा हामी कुनै प्रकारको सम्झौता पनि गर्दैनौ, कमी कमजोरी रहन पनि दिँदैनौँ । र म सबै देशवासी दिदिबहीनी दाजुभाईलाई पनि यसमा सजग हुन आह्नान गर्छु ।

यतिबेला राष्ट्रिय राजनीति प्रतिशोधको राजनीतिमा गएको छ । कसैलाई सिध्याउने खेलमा केन्द्रित भएको छ । अहिलेको आवश्यकता त्यो होइन । अहिलेको आवश्यकता हामीले प्राप्त गरेका उपलब्धिहरूको रक्षा कसरी गर्न सकिन्छ मुख्य कुरा यो हो । यतातर्फ ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप