मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

ट्याक्सी व्यवसायीको ७ बुँदे माग पूरा नभए अनशन बस्ने चेतावनी

मङ्गलबार, ०२ असोज २०८०, १६ : ५४
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौं । मजदूर चालक स्वतन्त्र संघर्ष समितिले आफूहरुको ट्याक्सी व्यवसाय धरासायी बनेको बताएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै समितिले सरकारले आफूहरुको माग सम्बोधन नगर्दा व्यवसाय नै धरापमा परेको बताएको हो ।  

संघर्ष समितिले आफूहरुका विभिन्न ७ बुँदे माग सार्वजनिक गर्र्दै अब सरकारले गम्भीरतापूर्वक सम्बोधन नगरे संघर्षमा जाने चेतावनी दिएको छ ।   नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय उपाध्यक्ष पुरुषोत्तम पाण्डेले आफूहरुको मागलाई सरकारले गम्भीरतापूर्वक नलिँदा ट्याक्सी पेशा धरापमा परेको बताए । आफूहरुले राज्यसँग हारगुहार गर्दापनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । 
‘यो राज्यले हामीलाई कहिल्यैपनि देखेन । पटक–पटक हामी राज्यको सम्बन्धित् निकायमा गुहार माग्न गयौं । हाम्रा माग तथा मुद्दालाई राज्यले बेवास्ता गर्यो,’ उनले भने । 

उनले अहिले पठाओ, इनड्राईभ लगायतका विभिन्न किसिमका एप्सहरुले ट्याक्सी व्यवसायलाई धरापमा पुर्याएको बताए । महानगरले पार्किङको पनि उपयुक्त व्यवस्थापन गर्न नसकेको उनले बताए । 
सम्पूर्ण यातायात व्यवसाय तथा मजदूर चालक स्वतन्त्र संघर्ष समितिका संयोजक सानु पूर्वछाने मगरले रातो नम्बर प्लेटको दुई पाङ्ग्रे सवारी साधनले खुलम्खुल्ला यात्रुहरु ओर्सादा सरकारले हेरेर बसेको बताए । उनले ट्याक्सी व्यवसायी र चालकको समस्याका बारेमा प्रधानमन्त्री र गृहमन्त्री र यातायात मन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताए ।

उनले ट्याक्सी व्यसायीको माग सम्बोधन नभए असोज १७ गतेबाट अनसन सुरु गर्ने चेतावनी दिए । आफूले रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु ओसारेमा कारबाही गर्न ट्राफिक महाशाखामा उजुरी दिएको समेत सुनाए । 

‘रातो नम्बर प्लेटको दादागिरी, लुट र खुलमखुल्ला डकैती गर्नैलाई समाउन भनेर ट्राफिक महाशाखाका डिआईजीलाई म स्वयम् गएर पत्र बुझाएको छु,’ उनले भने,‘यो माग पुरा भएन भने १७ गतेपछि फलफूल लिएर सानु पूर्वछानेलाई खुवाउन आउनुहोला ।’ सरकारले आफ्ना माग सम्बोधन नगरेमा सडक संघर्षमा जाने उनीहरुले बताए । 

नेपाल राष्ट्रिय ट्याक्सी मिटर व्यसायी तथा चालक सेवा समाजका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले मापदण्डविपरीत निजी गाडीले यात्रु ओसारेको भन्दै आपत्ति जनाए । उनले यात्रु ओसार्ने मोटरसाईकलदेखि अन्य गाडीलाई कालो नम्बर प्लेटको व्यवस्था गर्न आवश्यक रहेको बताए । पठाओ र इनडाईभ लगायतका एप प्रयोग गरी यात्रा गर्दा यात्रुहरुले ट्याक्सीको भन्दा पनि बढि भाडा तिर्नुपरेको भन्दै यसको नियन्त्रण र नियमन गर्न सरकारसमक्ष आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप