बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकमा सरोकारवालाको माग सम्बोधन हुनै पर्छ : नैनसिंह महर

बुधबार, ०३ असोज २०८०, १३ : ०८
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संविधानसम्मत रुपमा विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रमा उनले विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्ने बताए ।
महरले भने, ‘नेपालको संविधानसँग बाँझिने गरी विद्यालय शिक्षा विधेयक संसदमा पेस भएको छ । सरकारले संविधान बाहिर गएर विधयक ल्याउनुभएन ।’ 

निजी विद्यालयको शुल्क निर्धारण स्थानीय तहलाई दिने प्रावधान संविधान विपरीत भएको उनको भनाइ छ । ‘हाम्रो संविधानले माध्यमिक तहसम्म शिक्षा निशुल्क भनेको छ । तर, विधेयकमा निजी स्कुलको शुल्क तोक्ने काम पनि स्थानीय सरकारबाटै हुने कुरा विरोधाभाषपूर्ण भयो ,’ उनले भने ।

शिक्षाबारे संविधानमा गरिएको प्रतिबद्धता कुन तहको सरकारले  पुरा गर्ने भन्नेमा विद्यलय शिक्षा विधेयकमा अन्यौल रहेको महरले बताए । ‘संविधानमा अन्तराष्ट्रिय मापनको गुणस्तरीय शिक्षा बनाउने र २० प्रतिशत भन्दा बढी बजेट शिक्षा क्षेत्रमा बजेट छुट्याउने भनिएको छ । नेपालको शिक्षालाई अन्तराष्ट्रिय स्तरमै प्रतिस्पर्धी बनाउने भन्ने हाम्रो प्रतिबद्धता छ । यो प्रतिबद्धता कुरा गर्ने कुन तहको सरकारले गर्छ ?’ उनको प्रश्न छ ,‘ सरोकारवाला पक्षसँग कुनै छलफल नगरि ल्याएको विधेयकको स्वामित्व ग्रहण कसले गर्छ ?’

निश्चित केही व्यक्तिको इच्छामा आएको विधेयकलाई सरोकारवालासँग छलफल र विमर्शपछि मात्र अगाडि बढाउनुपर्ने महरको भनाइ छ । ‘शिक्षा विधेकमाथि पालिका महासंघ, शिक्षक, विद्यायलय कर्मचारी लगायतको विरोध छ । विद्यार्थीले पढ्न नपाएपछि अभिभावक र विद्यार्थीको पनि विरोध हुने नै भयो । संविधानभित्रै रहेर सबैको माग सम्बोधन हुनुपर्छ ।’ 

साथै उनले संविधानभन्दा बाहिर गएर शिक्षकहरुले माग राख्ने कुरा पनि राम्रो नभएको बताए । ‘शिक्षक साथीहरुले पनि विद्यार्थीको भविष्यमाथि जिम्मेवार हुनुपर्छ । विद्यालय शिक्षा विधेयकको विरुद्धमा विद्यायलय नै बन्द गरेर आन्दोलन भइरहेको छ ,’ उनले भने, ‘यसमा ७० लाख विद्यार्थीको भविष्य जोडिएको छ । विद्याथीकोे पढ्न पाउने अधिकार हनन हुने कुरामा शिक्षक साथीहरु सजह हुनुपर्छ ।’ शिक्षकका माग सम्बोधन गर्ने कुरामा पनि सरकार तयार भएर अगाडि आउनुर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप