सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
समितिको सक्रियता

सांसदको चेतावनीपछि गृहमन्त्री श्रेष्ठ आकस्मिक रूपमा राज्यव्यवस्था समितिमा

आइतबार, ०७ असोज २०८०, १२ : ४१
आइतबार, ०७ असोज २०८०

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा रोक्न गृह मन्त्रालयले गृहकार्य गरिरहेको बताएका छन् । 

आइतबार प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आकस्मिक रूपमा बोलाइएका मन्त्री श्रेष्ठले सर्लाहीमा के भएको हो र  गृह मन्त्रालयले त्यहाँ के गर्नुपर्ने हो भन्ने बारेमा गृहकार्य गरिरहेको जानकारी गराए । 

केही समय यता नेपालको बहुजातीय बहुसांस्कृतिक एकतामा खलल पार्ने काम भइरहेको बताउँदै त्यसलाई रोक्न मन्त्रालय लागिपरेको उनले बताए । 

उनले धार्मिक साम्प्रदायिकता रोक्नका लागि विभिन्न धर्मका धर्मगुरुहरू बोलाएर बहुधार्मिक बैठक पनि बोलाएर धार्मिक सद्भाव कायम गर्न बिज्ञप्ति पनि निकालेको बताए । 

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भए पनि केही सांसदले गृहमन्त्री बिना बैठक चलाउन नदिने बताएपछि समितिका सभापति रामहरि खतिवडाले आकस्मिक रूपमा मन्त्री श्रेष्ठलाई समितिमा बोलाएका थिए । 

बैठकमा एमाले सांसद रघुजी पन्तले तराईका जिल्लामा धार्मिक दङ्गाको खतरा रहेको, सर्लाहीको मलंगवामा हिन्दु मुस्लिम द्वन्द्व बढेको, हिन्दुको घरमा घुसेर आक्रमण भएको भन्दै बैठकमा गृहमन्त्रीलाई बोलाउन आग्रह गरेका थिए । 

उनले प्रधानमन्त्रीको दबाबमा माओवादीबाट नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारीको पदावधि ३ वर्ष समय थप गरिएको कुरामाथि पनि प्रश्न उठाए ।  यस्तै सङ्खुवासभामा भारतीय कम्पनी सतलजले २१ दिनसम्म काम गर्न नपाएपछि नेपाल सरकारसँग क्षतिपूर्ति मागेको बताउँदै नेपाललाई १ अर्व ६८ करोड रुपैयाँ  घाटा लगाउन खोजेको बताए । 

यस्तै सांसद रवि लामिछानेले सर्लाहीमा साम्प्रदायिक घटना बढ्न लागेको भनेर गृहमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुन तस्करी प्रकरणमा अनुसन्धानमा अत्यन्तै आशा अपेक्षा गरे पनि भद्दा मजाक गरेको बताए । सत्तारूढ दलका नेताको नाम आएपछि बम झैँ पड्केला भनेको तर पटाकाजस्तो पनि नभएको टिप्पणी गरे ।  

उनले सुन प्रकरणमा जोडिएका सत्तारूढ दलका नेताले सिआईबीमा अनुसन्धानका क्रममा प्रयोग गरेको मोबाइल नलगी अर्को मोबाइल लगेको अवस्था रहेको बताए । 

सत्तारूढ दलका नेताको नाम आउँदा समेत उनीहरूमाथि सामान्य सोधपुछ समेत नभएकोले गृहमन्त्रीमाथि राजनीतिक दलले हस्तक्षेप भएको हो कि के हो ? भन्दै प्रश्न गरे । 

अर्का सांसद सर्वेन्द्रनाथ शुक्लाले सर्लाही लगायत तराईका जिल्लामा साम्प्रदायिक हिंसा बढेको, त्यस सम्बन्धी भिडियो भाइरल भएको बताए । गए राति २ घर जलाएको उल्लेख गर्दै उनले १०-१५ दिनको घटनामा पनि प्रहरी प्रशासनले केही नगरेको प्रति गृहमन्त्रीको ध्यानाकर्षण गराए । 

सांसद राजेन्द्र राईले १ अर्ब लागतमा बन्ने भनेको धनकुटाको कारागार कहिले बन्छ ? भन्दै प्रश्न गरे ? कोशी करिडोरमा एउटा पनि प्रहरी चौकी नभएको प्रति उनले गृहमन्त्रीको ध्यानाकर्षण गराए । 

जवाफमा गृहमन्त्री श्रेष्ठले सर्लाही घटनाबारे गृह मन्त्रालयले २ दिनभित्रै कारबाही प्रक्रिया अघि बढाउने जानकारी गराए ।

उनले सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले केहि देखाएको छ भने सिआईबीलाई अनुसन्धानमा कुनै हस्तक्षेप नगरिने बताए । तथ्य प्रमाण देखिएपछि  अनुसन्धान गर्न प्रेरित गरेको बताए । 

जेलमा धेरै सङ्ख्या रहेको बताउँदै जेल सुधारका लागि सरकार लागिपरेको बताए । यस्तै सतलज प्रोजेक्टसम्म काम गर्न दिने वातावरण  प्रशासनले गराउने पनि प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप