बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
एनटीबी

पर्यटन बोर्डको बजेटमा पूर्वाधारको कार्यक्रम शून्य !

सोमबार, ०८ असोज २०८०, १४ : २८
सोमबार, ०८ असोज २०८०

काठमाडौँ । लामो कसरत र विवादका बिच अन्ततः नेपाल पर्यटन बोर्ड (एनटीबी) को चालु आर्थिक वर्षको बजेट पारित भएको छ । शनिबार बसेको पर्यटन बोर्डको बोर्ड बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित २ अर्ब १ करोड २३ लाख ४५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको हो ।

लामो रस्साकस्सीपछि पारित पर्यटन बोर्डको बजेट सार्वजनिक भने गरिएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड र सरोकारवाला निजी क्षेत्रहरुको विवादका बिच पारित बजेटले पर्यटन प्रवर्द्धनका त्यस्तो कुनै योजना तथा विकास कार्यक्रमहरु अघि नसारेको बरु आफू अनुकूल कर्मचारी र मन्त्रालयको स्वार्थ निर्दिष्ट गोलमटोल बजेट आएको स्रोतको दाबी छ ।

यसै कारण पर्यटन बोर्डले पारित बजेटसमेत सार्वजनिक गर्न नचाहेको स्रोतले रातोपाटीलाई बतायो । ‘पर्यटन बोर्डले यसपटक छापामार शैलीमा बजेट पारित गरेको छ । इतिहासमै कमजोर र मनलाग्दी बजेट पारित गरेको बोर्डले यस पटक पर्यटन प्रवर्द्धनमा पूर्वाधार विकासमा कुनै योजना ल्याएको छैन,’ स्रोतले रातोपाटीसँग भन्यो, ‘मेला–महोत्सवमा केन्द्रित बोर्डको बजेट पूर्वाधारमा प्रायः शून्यको अवस्थामा छ ।’

पर्यटन प्रवर्द्धन, प्रचारप्रसार, जनसम्पर्क तथा अध्ययन अनुसन्धानका नाममा बजेटको ठूलो हिस्सा छुट्याइएकोमा पर्यटन पूर्वाधार विकासमा खासै चासो नदिइएको स्रोतले रातोपाटीलाई बतायो ।

‘बोर्डको औचित्य, आफ्नै लक्ष्य, उद्देश्यलाई सार्थक बनाउनेगरी बजेट आउन सकेन । चर्को माग र विवादलाई सम्बोधन गर्नेगरी पुरानै बजेटको कार्यक्रमको निरन्तरता अंकमा शून्ना झिक्ने र थप्ने काम बाहेक खास बजेटले नयाँ कार्यक्रम ल्याउन सकेको छैन । केही विवादित कार्यक्रमहरुको बजेट घटाइए पनि थप अरु सम्भावित विवादित कार्यक्रमहरु बजेटमा समावेश गरिएका छन्,’ स्रोतले भन्यो ।

मेला, महोत्सव र वैदेशिक भ्रमणमा बजेट केन्द्रित

सधैँजसो वैदेशिक भ्रमण र प्रचारप्रसारमा छुट्याइने बजेटमा विवाद हुने गरेकोमा यस वर्ष पनि सोही विवादले निरन्तरता पाउने प्रायः निश्चित छ । नेपालको पर्यटन बजार युरोप, अमेरिका कि चीन, भारत लगायत दक्षिण एशिया भन्ने विवाद यस पटकको बोर्डको बजेटमा पनि देखिएको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए ।

बजेटले पर्यटन प्रवर्द्धनका कार्यक्रम प्रचारप्रसार, जनसम्पर्क तथा बजार विस्तारका साथै अध्ययन अनुसन्धानका कार्यक्रमका लागि नै पहिलो प्राथमिकता दिएको स्वीकार्दै उपाध्यक्ष रिजालले भने, ‘प्राथमिकता एशियन कन्ट्री (दक्षिण एशियाली मुलुकहरु) लाई नै दिएको छ । छिमेकी मुलुक भारत, चीनसँगै बंगलादेश, भुटान, श्रीलंकालाई नै नेपालको मुख्य पर्यटन बजारको रुपमा लिएर प्रचार प्रसार गरिनुपर्छ भन्ने मान्यता स्थापित गरिएको छ ।’

उनका अनुसार युरोप, अमेरिकाभन्दा पनि हाम्रा लागि बढीभन्दा बढी पर्यटक कुन देशबाट आउँछ र आइरहेका छन्, खर्च कसले गर्छ भन्ने महत्त्वपूर्ण कुरा रहेको उनले बताए । ‘यसैले अहिले यतातिर केन्द्रित भएका छौँ,’ उनले रातोपाटीसँग भने ।

हाल भारतसँगै चीन, बंगलादेश लगायतका दक्षिण एसियाली मुलुकहरुबाट नेपालमा पर्यटक भित्रिरहे पनि आवश्यक प्रणाली नहुँदा यकिन तथ्याङ्क पाउन नसकिरहेको रिजालले बताए । भारत र चीनबाट आउने पर्यटक हवाई यात्राको आधारमा मात्र गणना हुने गरे पनि लाखौँ संख्यामा स्थलमार्ग (सडक यातायात) मार्फत हुने आगमनको कुनै गणना नै नहुने उनले गुनासो गरे ।

तथापि, अहिलेको बजेटले पनि पर्यटन आगमन वृद्धि गर्नेगरी, लक्ष्य र उद्देश्यसहितको प्रचारात्मक कार्यक्रम ल्याउन नसकेको रिजालले बताए । विदेश भ्रमण हुने, खर्च हुने तर उपलब्धि प्रायः शून्य हुने कार्यक्रम समेटिनु दुखद् भएको उनको भनाइ छ ।

बजेटमा के–कस्ता कार्यक्रम समेटिएका छन्, सबै आफूले पनि हेर्न नपाएको बताउँदै उपाध्यक्ष रिजालले बजेटको पूर्णपाठ हालसम्म पाउन नसकेको स्वीकारे ।

यस विषयमा बुझ्न पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनन्जय रेग्मीलाई पटकपटक फोन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप