बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बक्स अफिस

भदौका ८ फिल्ममा एक मात्र हिट, असोजमा कस्तो रहला व्यापार ?

मङ्गलबार, ०९ असोज २०८०, १० : ५२
मङ्गलबार, ०९ असोज २०८०

काठमाडौँ । नेपाली फिल्मको व्यवसाय अझै सुध्रिन सकेको छैन । करिब दर्जन फिल्म रिलिज हुँदा एकाधले मात्र लगानी उठाउन सकेको अवस्था छ । गत भदौको कुरा गर्ने हो भने ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘जय हो’, ‘महानगर’, ‘गणपति’, ‘ऐँच पैँचो’, ‘एक भगवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ गरेर ८ फिल्म प्रदर्शनमा आए । 

तर, भदौको अन्तिम साता रिलिज भएको दुई फिल्ममध्ये ‘नाङ्गो गाउँ’ले राम्रो व्यवसाय गरिरहेको छ भने ‘एक भगवत् र एक गीता’को पनि व्यवसाय राम्रो रहेको दाबी निर्माण पक्षको छ ।  उता, ‘नाङ्गो गाउँ’ हिट भएको भन्दै निर्माण युनिटले सिक्वेलसमेत घोषणा गरिसकेको छ ।

‘नाङ्गो गाउँ’ र ‘एक भगवत् र एक गीता’बाहेक रिलिजबाट उत्रिएको फिल्महरूमा केहीको व्यवसाय मध्यम र केहीको शून्य जस्तै रहेको फिल्म वितरक करण श्रेष्ठले बताए ।

भदौमा रिलिज फिल्म कस्ता ?

फिल्म रिलिजको लागि भदौ राम्रो महिना मानिन्छ । जनैपूर्णिमा, तीज लगायत पर्व भएकोले पनि यो महिना फिल्म रिलिजका लागि निर्माता तँछाडमछाड गर्छन् । भदौमा रिलिज भएका ८ फिल्म स्टार कलाकारदेखि नयाँ कलाकारका सम्मका थिए । ती फिल्म केही हिट फिल्म दिएकादेखि डेब्यु निर्देशकसम्मको थियो ।

भदौ १ गते फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ रिलिज भयो । ‘जुलेबी’ गणेशदेव पाण्डेले निर्देशन गरेको फिल्म हो भने ‘हिँड्दा हिँड्दै’का निर्देशक मिलन आले मगर हुन् । यौनकर्मीको विषयमा निर्माण भएको ‘जुलेबी’ मा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ ।

‘हिँड्दा हिँड्दै’ भने प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बालकलाकार अर्विन थिङ्ग लगायतको अभिनय छ । त्यस्तै, दोस्रो साता ‘जय हो’ र ‘महानगर’ रिलिज भयो । टेक पौरखी राईको निर्देशन रहेको ‘जय हो’ प्रेमकथामा बनेको फिल्म हो । केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको अभिनय रहेको छ ।

मोहन राईको निर्देशनमा बनेको ‘महानगर’ एक रातको कथामा निर्माण भएको फिल्म हो । यसमा कर्मा, मेनुका प्रधान, अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षित विक्रम राणा, चन्द्र पाण्डेलगायतको अभिनय छ ।

यस्तै, तेस्रो साता ‘ऐँचो पैँचो’ र ‘गणपति’ रिलिज भए । कृषा चौलागाई निर्देशित ‘ऐँचो पैँचो’ सामाजिक कथामा बनेको फिल्म हो । फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहाडी लगायतको अभिनय छ । कृषाको यो डेब्यु फिल्म हो ।

‘गणपति’मा भने मुकुन भुसाल, मेनुका प्रधान, राजाराम पौडेल, सूर्यमाला खनाल, स्व.जयनन्द लामा, सुशील पोखरेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कविता न्यौपाने, देवेन्द्र बब्लु, कालु रानालगायतको अभिनय छ । फिल्मका निर्देशक सविन अधिकारी हुन् ।

भदौको चौथो शुक्रबार कुनैपनि फिल्म रिलिज नभएपनि अन्तिम शुक्रबार ‘एक भगवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आए । तेस्रोलिङ्गीको कथामा बनेको ‘एक भगवत् र एक गीता’ फिल्म झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश श्रेष्ठ लगायतको अभिनय छ ।

‘नाङ्गो गाउँ’ भने दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । सामाजिक र राजनीतिक कथामा निर्माण भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ लगायतको अभिनय छ । 

कति छन् असोजमा फिल्म ?

नेपाली फिल्मका निर्माता कुनै महिना फिल्म रिलिजका लागि तँछाडमछाड गर्छन् भने कुनै महिना सुनसान बस्छन् । भदौमा फिल्म रिलिजका लागि हानथाप गरेका निर्माता असोजमा भने सेलाएका छन् ।

असोजमा ‘वानर सेना’, ‘कौसिक’ र ‘परदेशी २’ गरी जम्मा तीन फिल्म रिलिज हुँदैछ । 

‘वानर सेना’ पौराणिक कथामा निर्माण भएको १९ असोजबाट प्रदर्शनमा आउने फिल्म हो । अर्पण गिरी (अरमान जंग)को निर्देशन रहेको फिल्ममा गिरीका अलावा आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी लगायतको अभिनय छ ।

‘कौसिद’ अभिनेत्री ऋचा शर्मा र भोलाराज सापकोटा अभिनित फिल्म हो । २६ असोजबाट प्रदर्शनमा आउने फिल्म ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइको कथामा बनेको छ ।  कुमार भास्कर निर्देशित फिल्ममा रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

त्यस्तै, फिल्म ‘परदेशी २’ पनि असोज २६ गतेबाटै प्रदर्शनमा आउन लागेको छ । ‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सुशील पोखरेल, सविन बाँस्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । 

केही वर्ष अगाडिको हिट फिल्म ‘परदेशी’को सिक्वेलको रूपमा यो फिल्म निर्माण भएको हो । फिल्मका निर्मातामा राजेश बंशल र निर्देशक नारायण रायमाझी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप