बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कविता

देउचुली र बार्तलीमा

शनिबार, १३ असोज २०८०, १२ : १५
शनिबार, १३ असोज २०८०

म देउचुली र तिमी बार्तलीमा
किन बस्ने ?
आउ यता सँगै गीत गाऊँ
चिप्लेटी खेल्ने रहर छ तिमीसँग
तिम्रो कोमल शरिरमा
समयको नास्पतीको बोट देख्न मन छ
सङ्गै बसेर नखाएको पनि निकै भयो
यो मन को चाह । 

तिनिक्क समयलाई तानेर 
तन्नालाई च्यात्न हैन 
सिउन मन छ प्रेमको धागोले 
समयको यौवनका बिहानीमा
जोवनका ईच्छाहरू फुलाएर 
लुकामारी खेल्न मन छ 
पाती र ऐशेलुको घारीमा
लुकामारी नखेलेको पनि धैरै भयो । 

लुकामारी लुकामारी नै हो
समयको कुनामा बसेर
कदमको बोट सँगैको कुवाको पानी
एउटै अञ्जुलीमा पिउन मन छ
बाबियोको झाडी पन्छाउँदै
पहाड नचढेको पनि युगौं भयो
तिमी उकाली र म ओरालीमा हुँदा
तिमी तल र म माथि भएर उकालो नचढेको
थाक्न मन छैन कत्ति पनि
थकान मारेर टुप्पोमा चढ्न मन छ
आँखा चिम्लिएर 
प्रकृतिलाई नियाल्न मन छ सुटुक्क
लिङ्गे पिङमा तिमीलाई बसाएर
मच्चाउन मन छ 
रात तातिएर 
बिहान सेलाउन थालेको समय देख्न मन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रीता भण्डारी
रीता भण्डारी
लेखकबाट थप