शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
दशैं बजार

सुपथ मूल्य पसलमा ९७ रुपैयाँमै चिनी !

खसी बोका र च्याङ्ग्रामा  प्रतिकिलो १० रुपैयाँ छुट
शनिबार, १३ असोज २०८०, १२ : ३६
शनिबार, १३ असोज २०८०

काठमाडौँ । सरकारले यही असोज २१ गतेदेखि सञ्चालन गर्ने सुपथ मूल्य पसलमा ९७ रुपैयाँमै चिनी पाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार मङ्सिर पहिलो सातासम्म चल्ने सुपथ मूल्य पसलमा उक्त मूल्यमा चिनी पाइने भएको हो ।

हाल बजारमा चिनीको मूल्य प्रतिकिलो १३० रुपैयाँसम्म पुगेको छ । दसैँ र तिहार तथा छठको अवसरमा व्यापारीले चिनीको मूल्यमा एकै पटक २५ रुपैयाँ प्रतिकिलोसम्म बढाएका छन् । यस्तो अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेशनले ९७ रुपैयाँमै चिनी बेच्ने भएको हो ।

सरकारले प्रत्येक वर्षको दसैँ र तिहार तथा छूट लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँछ । यो समयमा नेपालीहरूले अत्यधिक खर्च र किनमेल गर्ने गर्छन् । वर्षमा सबैभन्दा धेरै किनबेच चल्ने चाडबाडमा उपभोक्ता नठगिउन् भन्ने लक्ष्यसहित सुपथ मूल्य पसल सञ्चालनमा आउँछ ।

सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउनका लागि २ करोड ३२ लाख २० हजार रुपैयाँ विनियोजन गरेको छ । यसअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत बिक्री हुने सबै प्रकारका चामल, मैदा, दाल, गहुँ, तोरी, भटमास र सूर्यमुखी तेलमा प्रतिकिलो/प्रतिलिटर ७ रुपैयाँ छुट दिइने छ ।

कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कागुनोमा प्रतिकिलो १० रुपैयाँ, जिउँदो खसी/बोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट राखिएको छ । यसबाहेक, साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत बिक्री हुने वस्तुमा छुट दिन सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसअनुसार नुन प्रतिकिलो २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने तेल र चिउरामा प्रतिकिलो/प्रतिलिटर ७ रुपैयाँ छुटको व्यवस्था छ । यस्तै, दुग्ध विकास संस्था मातहत बिक्री हुने घ्यूमा प्रतिकिलो २० रुपैयाँ, २०० ग्राम पनिरमा २० रुपैयाँ र ५०० ग्राम पनिरमा ५० रुपैयाँ छुट हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप