बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ब्याडमिन्टन खेलाडी रसिला प्रिक्वार्टरफाइनलमा, अन्य तीन स्पर्धामा नेपाल पराजित

मङ्गलबार, १६ असोज २०८०, १४ : २४
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको ब्याडमिन्टनमा मंगलबार नेपाल एक स्पर्धाको प्रिक्वार्टरफाइनल चरणमा पुगेको छ । मंगलबार नै खेलाइएको बाँकी तीन स्पर्धामा भने नेपाली पराजित भएका छन् । 

महिला एकलतर्फको अन्तिम ३२ खेलाडीबीचको भिडन्तमा जित हात पार्दै नेपालकी रसिला महर्जन प्रिक्वार्टरफाइनलमा पुगेकी हुन् । उनले मंगोलियाकी खेलाडी गानबातर म्यागमार्टस्ट्रिनलाई २—० सेटले पराजित गरिन् । 

रसिलाले पहिलो सेटको नतिजालाई २१—४ ले आफ्नो पक्षमा पारेकी थिइन् । दोस्रो सेटको खेलमा पनि रसिला २१—७ अंकले विजयी भइन् । रसिलाले पहिलो सेट जित्न ६ मिनेट र दोस्रो सेट जित्न १० मिनेट समय लगाएकी थिइन् ।  

यसैगरी महिला एकलतर्फको अर्को खेलमा नेपाली खेलाडी अनुमाया राई पराजित भइन् । थाइल्यान्डकी खेलाडी पर्नपावी चोचुवङले अनुमायालाई २—० सेटमा हराइन् । उक्त खेलमा थाइल्यान्डकी खेलाडी २१—१० र २१—४ अंकले विजयी भएकी हुन् । 

यसैगरी महिला डबल्सतर्फको खेलमा पनि नेपाली खेलाडी पराजित भए । चाइनिज ताइपेईका खेलाडी या चिङ सु र वान चिङ लिनको जोडीले नेपाली खेलाडी निता लम्साल र नङ्सलदेबी तामाङको जोडीलाई २—० सेटमा हराए । उक्त खेलमा चाइनिज ताइपेईका खेलाडी २१—१ र २१—५ अंकले विजयी भएका थिए । 

यसैगरी महिला डबल्सतर्फकै अर्को खेलमा पनि नेपाली खेलाडी पराजय स्वीकार्न बाध्य भए । इन्डोनेसियाका खेलाडी फेब्रियाना कुसुमा र अमालिया प्रातिवीको जोडीले नेपाली खेलाडी रसिला महर्जन र अनुमाया राईको जोडीलाई २—० सेटमा हराए । उक्त खेलमा इन्डोनेसियाका खेलाडी २१—३ र २१—७ अंकले विजयी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप